२३ माघ , काठमाण्डौ।
लगातार चार पटक हार व्योहोरिसकेको नेपाल आज पनि पहिलो जितको खोजीमा नेदरल्याण्ड्सविरुद्ध मैदानमा उत्रिदै छ । काठमाडौंमा जारी महिला त्रिकोणात्मक टि ट्वान्टी आई सिरिज अन्तर्गतको पाँचौ खेलमा नेपाल र नेदरल्याण्ड्ससँग खेल्दैछ ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा १२ः१५ मा सुरु हुने खेलमा दुवै टोली यो सिरिजमा तेस्रो पटक आमने सामने हुदैछन् । नेपाललाई पहिलो र दोस्रो भेटमा नेदरल्याण्ड्सले पराजित गरेको थियो । नेपाल २० र १५ रननले पराजित भएको थियो ।
नेदरल्यान्ड्ससँग बाहेक थाइल्यान्डसँग चार विकेट र पाँच रनको हार बेहोरेको नेपाल उपाधि होडबाट बाहिरिसकेको छ । यता, नेदरल्यान्ड्स तेस्रो जित निकाल्दै उपाधि सम्भावना कायमै राख्न चाहन्छ । नेदरल्यान्ड्ले यसअघि थाइल्यान्डसँग आठ विकेट र १७ रनको हार बेहोरेको थियो ।
यता मंगलवार भएको खेलमा नेपाल थाइल्याण्डसँग ५ रनले पराजित भएको थियो । हारसँगै नेपालको उपाधी जित्ने सम्भावना समाप्त भएको हो । अपराजित थाइल्याण्डको भने उपाधी जित्ने सम्भावना बलियो बनेको छ ।
थाइल्याण्डले दिएको १ सय ७ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय १ रन मात्र बनायो । नेपालका लागि रुबिना क्षेत्रीले सर्वाधिक २६ रन जोडिन् । उनले ३० बलमा ३ चौका र १ छक्का प्रहार गरिन् ।
कविता जोशी २० बलमा ३ चौका र १ छक्काको सहयोगमा २४ रन बनाउँदै आउट हुँदा रोमा थापा रनमा १९ नट आउट रहिन् । थाइल्याण्डका लागि थिपचा पुत्थावोंगले ४ तथा फतिन्ना मायाले २ विकेट लिइन्।
त्यसअघि कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको थाइल्याण्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६ रनको मध्यम योगफल तयार गरेको थियो । थाइल्याण्डका लागि चानिदा सुत्थीरुआंगले सर्वाधिक २७ रन जोडिन् ।
उनले २८ बलमा १ चौका प्रहार गरिन् । नान्नापत खोन्चरोएन्कले २३ बलमा १९ तथा अफिसारा सुवान्चोनरथीले १९ बलमा १७ रन जोडिन् । ५६ रनमा ६ विकेट गुमाएर झिनो योगफलको सम्भावना देखाएको थाइल्याण्डका लागि छैठौं विकेटका लागि ५० रनको साझेदारी भए सँगै थाइल्याण्डले मध्यम योफल तयार भयो ।
नाट्टाया बुचाथमले ९ बलमा १२ जोड्दै आउट हुँदा थिपचा पुत्थावोंग २५ रनमा नट आउट रहिन् । नेपालका लागि मनिषा उपाध्यायले ३, पुजा महतो र रचना चौधरीले समान १ विकेट लिईन् । अब सिरिजमा नेपाली टोलीले माघ २५ गते थाइल्याण्डसँग खेल्नेछ ।