काठमाडौं प्रहरीले जनविश्वास बढायो,प्रहरी कुट्ने नेता पक्राउ

काठमाडौं प्रहरीले जनविश्वास बढायो,प्रहरी कुट्ने नेता पक्राउ

२ फागुन , काठमाण्डौ।

आफ्नै प्रहरी कुटिदा समेत अभियुक्त पक्राउ गर्न नसकेको भन्दै गृहमन्त्रीसहित काठमाडौैं प्रहरी प्रमुखमाथि सामाजिक संजाल र संसदमा समेत प्रश्न उठिरहेका बेला सुरक्षामा खटिएका प्रहरीमाथि कुटपिट गर्ने नेकपा एमाले निकट विद्यार्थी नेता पक्राउ परेका छन् ।

ठमेलमा ड्युटीमा रहेका प्रहरीलाई कुटपिट गर्ने अनेरास्ववियुका स्थायी समिति सदस्य कमल जोशीलाई काठमाडौं प्रहरीले पक्राउ गरेको हो । जोशीलाई नयाँ बानेश्वरबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले बताएका छन् ।

प्रहरीले जिल्ला प्रशासन कार्यालयबाट अभद्र व्यवहार मुद्दामा पक्राउ पुर्जी लिई जोशीलाई समातेको हो । प्रहरी हवल्दारको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भएको थियो । उनको टाउकोसहित शरीरको विभिन्न भागमा चोट लागेको थियो ।

त्यस्तै, जवानको आँखामा र शरीरका अन्य भागमा सामान्य चोट लागेको थियो । माघ २४ मा ठमेलको ज्याठास्थित छायाँ सेन्टर अगाडि ड्युटीमा खटिएका प्रहरीका जवान र हवल्दारमाथि जोशी समेतले निर्घात कुटपिट गरेको अभियोग छ ।

मध्यराति ‘राउण्ड अप ड्युटी’मा खटिएका प्रहरी जवान नगेन्द्रराज विष्ट र हवल्दार जुगलाल घर्ती कुटिएका हुन् ।आक्रमणमा संलग्न डडेल्धुराको गन्यापधुरा–५ घर भएका २२ वर्षीय रमेश फुलारा र ताप्लेजुङ घर भएका २५ वर्षीय दिनेश सिग्देल यसअघि नै पक्राउ परेका थिए ।

तर प्रहरीले जोशीलाई उन्मुक्ति दिन खोजेको आरोप लागेको थियो । त्यही आरोप चिर्दै काठमाडौं प्रहरीले जोशीलाई पक्राउ गरेको हो । आरोपी फुलारा ठमेलस्थित अस्कल क्याम्पसको स्ववियु सह–सचिव हुन् ।

घटनामा संलग्न अनेरास्ववियुको अस्कल क्याम्पस कमिटी सचिव गोपाल बहादुर शाही, क्याम्पस कमिटी सदस्य नविन ऐर र शौजन्य शाही फरार छन् । यसअघि संसद बैठकमा रास्वपा सांसद सांसद शिशिर खनालले गृहमन्त्री रमेश लेखकले आफ्नै प्रहरीलाई जोगाउन नसकेको भन्दै रोष प्रकट गरेका थिए ।

‘ड्युटीमा रहेका प्रहरीलाई कुट्ने अस्कल क्याम्पसका नेतालाई पक्रन नेपाल प्रहरीले अनुसन्धान गर्ने पनि हिम्मत गरेनछ । त्यो क्षेत्रको प्रतिनिधित्व गर्ने सांसदको रूपमा मलाई त्यहाँका धेरै विद्यार्थीहरूले मेसेज गर्नुभएको छ,’ भन्दै सांसद खनालले गृहमन्त्री लेखक माथि प्रश्न उठाएका थिए ।

तर एमाले नेता महेश वस्नेतले भने दरबार मार्ग घटनाको सीसी क्यामेरामा कमल राज जोशी संलग्न्न नदेखिएको भन्दै संलग्न्न नहुँदा पनि अखिलको नेता हुने बित्तिकै मुद्दा चलाउनु पर्ने हो र ? भन्ने प्रश्न गरेका थिए । तर जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्व अधिकारीले भने प्रहरीमाथि कुटपिट गर्ने जोसुकै÷जुनसुकै पार्टीको भए पनि उन्मुक्ति नपाउने प्रतिवद्धता जनाएका थिए ।

प्रहरी परिसरमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरूले ‘ठमेलमा प्रहरीमाथि कुटपिट गर्ने अखिल नेता कमलराज जोशीलाई उन्मुक्ति दिइएको’ विषयमा प्रश्न गर्दा एसएसपी अधिकारीले भनेका थिए, ‘हामीलाई पार्टीसँग कुनै सरोकार छैन।

घटनामा संलग्न पाँच जनामाथि अनुसन्धान अघि बढाइएको र थप संलग्नता देखिए ‘एक हजार प्रतिशत कारबाही’ गरिने प्रतिबद्धता जनाएका थिए । जिल्ला प्रहरी परिसरका एसपी तथा प्रवक्ता अपिलराज बोहराका अनुसार पक्राउ परेका सिग्देल र फुलाराविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट अभद्र व्यवहारको कसुरमा पाँच दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।

पक्राउ पुर्जी जारी गरिएका अन्य तीन जना नवीन ऐरी, सौजन्य शाही र गोपालबहादुर शाही अझै फरार छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.