१७ चैत , काठमाण्डौ ।
प्रहरीको धरपकड, हिरासतको लामो बसाईपछि पनि अझै अदालतहरुको चक्कर काटिरहेका रवि लामिछाने ५ महिनापछि राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) को सभापतिमा फर्किदैछन् ।
उनले भोलि सोमबार आफ्नो कुर्सी सम्हाल्दैछन् ।राजावादीहरुका कारण देशको राजनीति नै तरंगित बनिरहेका बेला सांसद पदबाट समेत निलम्बनमा रहेका रवि संसदको चौथो ठूलो दल रास्वपाको सक्रिय पार्टी राजनीतिमा फर्किएका हुन् ।
यस बीचमा उनले कुनै राजनीतिक टिप्पणी पनि गरेका छैनन् । पटक पटक उनले आफूले बोल्ने समय नआएको बताउँदै आएका छन् । सहकारी ठगीको आरोपमा चारवटा जिल्ला अदालतमा मुद्दा झेलिरहेका रवि कात्तिक २ गते पक्राउ परेका थिए ।
त्यसपछि पुस ८ गते बसेको रास्वपाको सचिवालय बैठकले कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति डोलप्रसाद अर्याललाई दिने निर्णय गरेको थियो । अब भोलि सोमबार दिउँसो केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने केन्द्रीय समितिको विशेष बैठकपछि दोस्रो बैठकको नेतृत्व रविलाई सभापति बनाउने कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए ।
यस बीचमा रवि पक्राउ परेपछि मंसिर १० गते महोत्तरीको जलेश्वरमा बसेको केन्द्रीय समिति बैठकको सभापतित्व उपसभापति अर्यालले गरेका थिए । हिजो शनिबार बसेको सचिवालय बैठकले केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको थियो । सरकारले रविविरुद्ध कास्कीसहित काठमाडौँ, रुपन्देही, चितवन जिल्ला अदालतमा मुद्दा दायर गरेको छ।
पर्सा जिल्लामा अनुसन्धान भइराखेकाले अहिलेसम्म मुद्दा दायर गरेको छैन । चारवटै जिल्ला अदालत गरी कुल दुई करोड ७९ लाख धरौटी रकममा छोड्न आदेश दिएको छ । १६३ दिनपछि लामिछाने पार्टीको कार्यकारी भूमिकामा फर्किन लागेका हुन् ।
रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाका अनुसार, सोमबार (भोलि) रास्वपाको केन्द्रीय समिति बैठक दुई चरणमा बस्नेछ । “पहिलो बैठक कार्यवाहक सभापति डीपी अर्यालको सभापतित्वमा बस्नेछ ।
सोही बैठकले सभापतिमा रवि लामिछानेलाई जिम्मेवारी तोक्ने निर्णय गर्नेछ,” झाले भने, “दोस्रो चरणमा लामिछानेकै सभापतित्वमा बैठक बस्नेछ ।” नेता कार्यकर्ता र मतदाताको मागअनुसार रास्वपाले लामिछानेलाई जिम्मेवारीमा फर्काउन लागेको उनको भनाइ छ ।
सहकारी ठगीमा चारवटा अदालतमा धरौटी तारिख पाएका लामिछानेले तीनवटामा पुनरावेदन दर्ता गरिसकेका छन् । यसअघि, रास्वपाले वीरगञ्जको सानो पाइला सहकारीमा अभियोजन र सुनुवाइपछि मात्र लामिछानेलाई पार्टी भूमिकामा फर्काउने जनाएको थियो ।
तर, अहिले रास्वपाले ’विशेष परिस्थिति’ बताएर लामिछानेलाई नेतृत्वमा फर्काउन लागेको हो । “देशमा फरक परिस्थिति निर्माण भएको छ । पुरानाहरूले फेरि इतिहासलाई पछाडि फर्काउने घोषणा र प्रयत्न गरिरहेका छन्,” झाले भने, “यस्तो अवस्थामा जनताको नयाँ आशा बोकेको पार्टीको विशेष भूमिका आवश्यक हुने भएकाले पनि यस्तो निर्णयमा जान लागेका हौँ ।”
उनले अदालतका विषय चल्दै जाने र त्यसको सम्मान गर्दै रास्वपा अघि बढ्ने बताए । कार्यवाहक प्रवक्ता झाले रास्वपा सचिवालयका धेरै सदस्यले लामिछाने पार्टी नेतृत्वको जिम्मेवारीमा फर्किऊन् भन्ने चाहेको सुनाउँदै यसमा सभापतिको पनि इच्छा हुनुपर्ने बताए । पछिल्लो पाँच महिनायता रवि लामिछाने पार्टीका औपचारिक बैठकमा सहभागी भएका छैनन् ।