३१ चैत , काठमाण्डौ।
वीरगञ्जमा शनिबारदेखि नै वीरगञ्ज अशान्त बनेको हो । छपकैयामा शनिवार दुई समुदायबीच भएको झडपका कारण प्रशासनले लगाएको कफ्र्यु अहिले पनि जारी छ । हिजो हनुमान जयन्तीको शोभायात्रा निकाल्ने क्रममा दुई समुदायबीच झडप भएको थियो ।
कफ्र्यु लगाएको अवस्थामा समेत प्रदर्शन भएको थियो । सो क्रममा प्रहरीले गोली चलाउँदा एक वृद्ध घाइते भएका छन् । अवस्था अनियन्त्रित बनेपछि राति सेना समेत परिचालन गरिएको थियो । आज बिहानदेखि भने अवस्था सामान्य बनेको छ ।
हिजो भएको झडपमा प्रहरीसहित ४३ जना घाइते भएका थिए । पर्साका प्रहरी प्रमुख गौतम मिश्रसहित १७ जना प्रहरी घाइते भएका हुन् । त्यस्तै सशस्त्र प्रहरीतर्फ पर्साका प्रहरी नायब उपरीक्षक देवेन्द्रबहादुर सिंहसहित आठ जना सशस्त्र प्रहरी घाइते भएका छन् ।
घाइतेहरुको नारायणी अस्पतालमा उपचार जारी छ । कतिपय सामान्य उपचारपछि घर फर्किसकेका छन् । केही अझै उपचाररत छन् । हनुमान जयन्तीको अवसरमा निकालिएको शोभा यात्रामा घरको छतबाट अन्य समुदायले ढुंगा हानेपछि झडप सुरु भएको हिन्दू समाजको आरोप छ ।
समाजले शनिवार साँझ पत्रकार सम्मेलन गरेर घटनाको छानबिन गरी दोषीहरूमाथि कडा कारबाही गर्न स्थानीय प्रशासनसँग माग गरेको हो । झडपको स्थिति नियन्त्रणमा लिन करिब ८ सय प्रहरी परिचालन गरिएको थियो ।
प्रहरीले करिब ७५ सेल आश्रुग्यास हाने तर पनि स्थिति नियन्त्रणमा नआएपछि प्रशासनले कफ्र्यु आदेश जारी गरेको थियो । पर्साका प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जारी गरेको आदेश अनुसार आज मध्यान्हसम्म कफ्र्यु रहनेछ ।
कफ्र्युका कारण पसलहरू बन्द छ । बजार सुनसान देखिएको छ । दुई समुदायबीच उत्पन्न परिस्थितिलाई लिएर प्रमुख जिल्ला अधिकारी आचार्यले सर्वदलीय बैठक डाकेका छन्। प्रशासकीय अधिकृत दीपक पटेलले सिडिओले अहिले सर्वदलीय बैठक बोलाएको र छलफल भइरहेको बताए ।