के अब एमालेमा ‘मदनको नीति, विद्याको नेतृत्व’ आउने हो ?

के अब एमालेमा ‘मदनको नीति, विद्याको नेतृत्व’ आउने हो ?

१६ असार, काठमाडौं ।

पुराना पार्टी र वृद्ध बन्दै गएका नेताहरू पछिल्लो समय सामाजिक सञ्जालमा निकै आलोचित बन्दै आएका छन् । तर ठूला भनिएका पुराना पार्टीहरू अझै कति वर्षसम्म तिनै उमेरले नेटो काट्न लागेका वृद्धहरूको नेतृत्वमा चल्ने हुन पत्तो छैन ।

देशका तिन ठूला दल मध्ये दोस्रो ठूलो दल नेकपा एमालेको ११ औँ महाधिवेशन २०८३ साल मङ्सिर महिना भित्र गरी सक्नु पर्ने छ । नेकपा एमालेको १० औँ महाधिवेशन २०७८ मङ्सिरमा चितवनको सौराहामा सम्पन्न भएको थियो ।

नेकपा एमालेको ११ औँ महाधिवेशनमा नेतृत्वमा आउन खोज्ने दुई जना पात्रको चर्चा सुरु भई सकेको छ । पार्टीको विधान अनुसार अध्यक्ष बन्नलाई वर्तमान अध्यक्ष केपी शर्मा ओलीलाई २ वटा प्रावधान वाधक छन् ।

पहिलो उमेर हद र दोस्रो दुई कार्यकाल भन्दा बढी अध्यक्ष बन्न नपाउने नियम । एमालेमा ७० वर्ष उमेर कटेपछि नेतृत्वमा बस्न नपाउने नियम छ । ओली ७४ वर्ष टेकेका छन् ।

तर ओली सत्ता र शक्तिको भरमा यी दुवै नियमलाई संशोधन गरी आफै अध्यक्ष बन्ने दाउँमा छन् । उनलाई पुर्वराष्ट्रपति विद्यादेवी भण्डारीले चुनौती दिने चर्चा निकै गहन रूपमा चलिरहेको छ ।

ओली विद्यालाई पार्टीमा आउन नदिनका लागि लागि रहेका छन् भन्ने आरोप समेत लाग्दै आएको थियो । जब पूर्व उपराष्ट्रपति नन्द किशोर पुन पासाङको माओवादी पार्टीको उपाध्यक्ष बने त्यसपछि पूर्व राष्ट्रपति विद्या भण्डारीलाई पनि सक्रिय राजनीतिमा आउन बाटो झनै सहज बनेको देखियो ।

उनले आफ्नै श्रीमान् मदन भण्डारीको स्मृति दिवसको अवसर पारेर औपचारिक रूपमा एमालेको सक्रिय राजनीतिमा फर्केको घोषणा गरिन ।

हुन त निकै लामो समदेखि पार्टीका तल्ला कमिटीहरू सँग आन्तरिक छलफल र कार्यक्रममा सहभागी हुँदै आएकी भण्डारी केही समय अघि मात्र एउटा एमालेका नेताहरू सहितको समूह बोकेर चीन पुगेकी थिइन ।

चीनमा धेरै खाले राजनीतिक छलफल गरेकी विद्या नेपालमा एमालेमा फर्केको हेर्ने इच्छा चीनले समेत राखेको कुरा बाहिर आएको थियो। असार १४ गते पूर्व राष्ट्रपति भण्डारीले मदन मदनको स्मृति दिवसको कार्यक्रममा भनिन् ‘अब म नेकपा एमाले परिवारको एक सदस्यको रूपमा पुनः जोडिएको छु, र यसमा म गर्व गर्दछु ।

मेरो कुनै विशिष्ट महत्त्वाकाङ्क्षा छैन’, उनले सङ्कल्प गरिन्, ‘देश र जनताको हित नै मेरो ध्येय र लक्ष्य हो । जननेताले भन्ने गर्नुहुन्थ्यो– जनता भनेका भगवान् हुन् । साथै उहाँले भन्नुभएको थियो– राजनीतिमा थकाइ भन्ने शब्दावली हुँदैन’ ।

यो भनाइ सँगै धेरैले अनुमान गरे झैँ विद्या भण्डारी अब पूर्व राष्ट्रपतिको हैसियतमा कुनै खोपीमा हैन खुल्ला राजनीतिमा औपचारिक रूपमा सक्रिय भइन् ।

हुन त एमाले अध्यक्ष केपी शर्मा ओली र पुर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एउटा सिक्का दुई वटा पाटाकै रूपमा हेरिन्छ । मदन भण्डारीको हत्यापछि ओलीकै संरक्षणमा विद्याको राजनीति यहाँ सम्म आइपुगेको कुरा घाम जस्तै छर्लङ छ ।

पार्टीको केन्द्रीय उपाध्यक्षदेखि मन्त्री र २ पटकसम्म यो देशको सर्वोच्च पद राष्ट्रपति त्यसमा पनि नेपालकी पहिलो महिला राष्ट्रपति बन्ने अवसर केपी शर्मा ओलीको चाहना विपरीत सम्भव थिएन ।

पार्टीमा कहिल्यै पनि यी दुई नेता बिच वैचारिक रुपमा सङ्घर्ष भएको कसैला पनि थाहा छैन । तर यति बेला एमालेमा जबरजस्ती ओली र विद्या गुट छ भन्ने भाष्य निर्माण गरिदैछ ।

विद्या भण्डारीका कुनै पनि क्रियाकलापले ओली विरुद्धको गुट नै हो भन्ने सङ्केत गर्दैन तर बेला बेला एमाले अध्यक्ष ओलीका बोली सुन्दा चाही हो कि जस्तो भान सबैलाई पर्ने गर्छ ।

तर एमालेका संस्थापन इतर वा ओलीको पेलानमा परेका नेताहरू भने निकै उत्साहका साथ ओली विरुद्धको समूह भन्दै प्रचार गरी रहेका छन् ।

विद्याको सक्रिय राजनीतिमा आउने घोषणा सँगै अव उनको समूह, विचार र चाहनाका बारेमा धेरै कुरा चाडै नै बाहिर आउने छन् । तर विधान संशोधन गरेर ओली नै फेरी एमालेको अध्यक्ष भए पनि, अनि विद्या भण्डारी नै अध्यक्षमा विजयी भए पनि पार्टीमा त्यत्रो ठूलो आमूल परिवर्तन आउने सङ्केत चाँही देखिदैन् ।

दुई पटक सम्म यो देशको सर्वोच्च पदमा बसीसकेकी ६५ बर्षिया भण्डारीको कार्यक्षमता र नेतृत्वको भूमिका सबैले देखिसकेका छन् । राष्ट्रपति पद अलांकारिक भएपनि उनका केही कदमले उनी माथि केही प्रश्नहरु उठेका थिए ।

हुन त नेकपा एमालेमा ‘बा’ का अगाडी अध्यक्ष पदमा उम्मेदवारी दिने हिम्मतसम्म गर्न सक्ने युवा नेता अहिलेसम्म देखिएका छैनन् । त्यसैले पनि एमालेको ११ औँ महाधिवेशन पनि फेरी पुरानै ढर्रा र शैलीको नै आउँछ भन्ने अनुमान गर्दा फरक नपर्ला ।

विद्याको आगमनले पार्टीका कार्यकर्ता तथा नेताहरू बाको झोले हुनबाट मुक्ति त पाउलान् तर पार्टीमा नै नयाँ रक्त सञ्चार हुन चाही निकै कठिन देखिन्छ ।

तथापि अहिले संस्थापन इतर समूहले अघि सारेको ‘मदनको नीति, विद्याको नेतृत्व’ भन्ने नारालाई केवल आवेग होइन, वैचारिक रूपान्तरणको सङ्कल्प सहितको हो भन्नेहरु पनि छन् ।

विद्याको पुर्नआगमनले एमालेभित्र यो नयाँ वैचारिक ध्रुवीकरण पार्टीको आन्तरिक लोकतन्त्र, वैचारिक स्पष्टता र आन्दोलनको भविष्यका लागि अत्यन्त महत्त्वपूर्ण मोड बन्न सक्छ भन्नेहरुपनि छन् ।

यसले ओली केन्द्रित व्यक्तिवादी शैलीलाई चुनौती दिँदै वैचारिक बहस र कार्यकर्तामूलक नेतृत्वको ढोका खोलिदिएको उनीहरूको दाबी छ।

मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद (जबज)’को वास्तविक मर्मलाई ओझेलमा पार्दै पार्टीभित्र झाँगिएको वैचारिक अस्पष्टता, आन्दोलनलाई यथास्थितिमा कैद गर्दै नेतृत्व तहमा देखिएको गतिहीनता र जनतामा निराशा पैदा गर्ने गरी राष्ट्रिय राजनीतिमा छाएको दिशाहीनताको अन्त्य गर्ने विश्वास लिनेहरूको पनि कमी छैन ।

मदनको नीति, विद्याको नेतृत्व भन्ने नाराका साथ पार्टीको ढोका खोलेकी विद्या भण्डारी साच्चिकै अहिलेको संस्थापनविरुद्ध मैदानमा उत्रिएकी हुन भने,उनले केपी ओलीको सामनाका लागि तयारी हुनै पर्छ ।

लामो समयसम्म पार्टी नेतृत्जमा रहेका ओलीले धेरै नेताहरूलाई ठेगान मात्र लगाएका छैनन् पार्टीबाटै बिदा पनि गरेका छन् ।

अनि ओलीको वरिपरि एउटा यस्तो झुन्ड छ जसले ओलीको भजन मात्र आउने गर्छ । त्यो भजन मण्डलीको सामना गर्नुपनि विद्याका लागि निकै चर्को पर्ने देखिन्छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.