१७ असार, काठमाडौं ।
क्लब विश्वकपको अहिलेसम्मकै रोमाञ्चक खेलमा म्यानचेस्टर सिटीलाई पराजित गर्दै साउदी क्लब अल–हिलाल क्लब विश्वकपको क्वार्टरफाइनलमा पुगेको छ ।
ओल्र्यान्डोमा मंगलबार बिहान सम्पन्न खेलमा हिलाल ४–३ ले विजयी भएको हो । हिलालका मार्कोस लियोनार्डोले अतिरिक्त समयको ११२ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई क्वार्टरफाइनलमा पु¥याए ।
खेल निकै उतारचढावपूर्ण रह्यो । सिटीका बर्नार्डो सिल्भाले खेलको पहिलो गोल गरे । तर, दोस्रो हाफको सुरुआतमै खेल पूर्ण रूपमा बदलियो । लियोनार्डो, माल्कम र एर्लिङ हालान्डले छोटो समयमै गोल गर्दै खेललाई २–२ को स्थितिमा ल्याए ।
योसँगै खेल अतिरिक्त समयमा प्रवेश ग¥यो । अतिरिक्त समयमा कालिदु कुलीबालीले हेडरमार्फत गोल गर्दै हिलाललाई अग्रता दिलाए । तर, फिल फोडेनले त्यसलाई बराबरीमा ल्याए ।
अन्ततः मार्कोसले इडरसनको उत्कृष्ट बचाउपछि मिलिन्कोभिक–साभिचको प्रयासको रिबाउन्डमा गोल गर्दै हिलाललाई ४–३ को जित दिलाए ।
अब हिलालले क्वार्टरफाइनलमा ब्राजिलियन क्लब फ्लुमिनेससँग प्रतिस्पर्धा गर्नेछ । यस हारसँगै सिटीको क्लब विश्वकप यात्रा समाप्त भएको छ ।
इटालियन क्लब इन्टर मिलानलाई हराउँदै फ्लुमिनेस एफसी फिफा क्लब विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको हो । प्रि–क्वाटरफाइनलमा फ्लुमिनेसले इन्टरलाई २–० ले पराजित गरेको हो ।
फ्लुमिनेसको जितमा जर्मन कानो र हर्कुलसले समान गोल गरे । खेलको तेस्रो मिनेटमा नै कानोले गोल गर्दै अग्रता दिलाए । हर्कुलसले इन्ज्युरी समयमा गोल गरे ।
युइएफए च्याम्पियन्स लिग फाइनलको खेलेको इन्टर क्लब विश्वकपमा क्वाटरफाइनल पुग्न सकेन । यसअघि बायर्न म्युनिख, पिएसजी, चेल्सी र पाल्मेइरास क्वाटरफाइनलमा पुगिसकेका छन् ।