१८ असार , काठमाडौं ।
आज देशका धेरै ठाउँमा बिहानैदेखि घाम लागे पनि दिउँसोपख धेरै ठाउँमा पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै ठाउँहरुमा तथा मधेस प्रदेशका केही ठाउँहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक, दुई ठाउँमा ठूलो पानी पर्न सक्ने महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार राति पनि मधेसबाहेकका अरू प्रदेशमा ठूलो पानी पर्न सक्नेछ । आज बिहान पनि कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा छिटपुटदेखि हल्का वर्षा भएको छ ।
आज देशको उच्च–पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा÷ हिमपातको सम्भावना रहेको छ । राति देशका पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन÷चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
कोशी प्रदेश,गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा राति पनि भारी वर्षाको पनि सम्भावना रहेको छ । यसबीच ताप्लेजुङमा गएराति पहिरोले घर पुरिँदा एकै परिवारका पाँचजना घाइते भएका छन् ।
सिदिङबा गाउँपालिकाको वडा नम्बर– ३ खिर्लाबोटेमा गएराति करिब १ बजेतिर पहिरोले स्थानीय हस्तबहादुर कटुवालको घर पुरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । दिनहुँ वर्षा भइरहेकाले ताप्लेजुङमा बाढी पहिरोको डर बढेको छ ।
यसबीच बाढी पूर्वानुमान महाशाखाले आजका लागि जारी गरेको बुलेटिनअनुसार काठमाडौँ, ललितपुर, भक्तपुर, बागलुङ, म्याग्दी, पर्वत, बैतडी, दार्चुला र आसपासका जिल्ला भई वहने ससाना नदीको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम हुने उच्च सम्भावना छ ।
साथै संखुवासभा, ताप्लेजुङ, दोलखा, सिन्धुपाल्चोक, गोरखा, लमजुङ, तनहुँ, मकवानपुर, काभ्रेपलाञ्चोक, सिन्धुली, गुल्मी, पाल्पा, अर्घाखाँची, रुकुम पश्चिम, रोल्पा, सल्यान, प्युठान, जाजरकोट, कालिकोट, दैलेख, अछाम, सुर्खेत, डडेलधुरा, डोटी, बझाङ, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई वहने केही ससाना नदीको बहाव पनि उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम हुने देखिएको छ ।
यसैगरी आज झापा, इलाम, पाँचथर, सोलुखुम्बु, रामेछाप, भोजपुर, नुवाकोट, धादिङ, रौतहट, रुकुम पूर्व, दाङ, बर्दिया र आसपासका जिल्ला भई वहने केही ससाना नदीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको सामान्य जोखिम मात्र देखिएको बाढी महाशाखाले जनाएको छ । यीमध्ये बाढी महाशाखाले काठमाडौँसहित १५ जिल्लालाई पहेँलो रङ अर्थात् एल्लो अलर्ट दिएको छ ।
https://www.youtube.com/watch?v=0lQca1ScBCo