२२ असार , काठमाडौं ।
कहिलेकाँही घटना, दुर्घटना वा केही अपराधहरु यस्ता हुन्छन् जसले हाम्रो मथिंगल नै हल्लाइदिन्छ । भोजपुरमा भएको यस्तै एउटा अपराधि घटनाले यतिबेला धेरैलाई स्तब्ध पारेको छ ।
सिंगो भोजपुर शोकले स्तब्ध छ । सुन्दापनि जिउ नै सिरिङ हुने गरी गएराति भोजपुर जिल्लामा एउटा भयानक नरसंहार भएको छ । त्यो पनि सासुराली आएका ज्वाइँको हातबाट ।
भोजपुरको रामप्रसाद गाउँपालिका वडा नम्बर २ धोद्लेखानीमा गएराति १ बजेतिर ज्वाइँ राजेन्द्र राईले आफ्नै ससुरा ६८ वर्षीय बेलबहादुर गिरी, सासू ४५ वर्षीया मञ्जु गिरी, पत्नी १६ वर्षीया मनिषा गिरी र सालो ९ वर्षका सपन गिरीको हत्या गरेका छन् ।
ससुराली आएर ४ जनाको सामूहिक हत्या गर्ने ज्वाइँ राजेन्द्र राई स्वयं पनि गम्भीर घाइते छन् । राजेन्द्रको पेटमा २, ३ ठाउँ छुरीको चोट पाइएको छ ।
भोजपुर अस्पतालमा प्राथमिक उपचारपछि अहिले उनलाई विराटनगर रेफर गरिएको छ । उनले राति सुतिरहेको बेला सासूले आफूमाथि आक्रमण गरेको र ब्युँझिँदा हातमा छुरी देखेपछि त्यही छुरी खोसेर सबैलाई मारेको प्रारम्भिक बयान दिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका इन्स्पेक्टर दिपक श्रेष्ठले वताएका छन् ।
इन्स्पेक्टर श्रेष्ठका अनुसार राजेन्द्रको मनिषासँग दोस्रो बिहे हो । पहिलो श्रीमतीले छाडेपछि मनिषासंग उनले प्रेम भएर केही महिनाअघि भगाएर ल्याएका थिए ।
तर आफैले प्रेम गरेर ल्याएकी श्रीमतीसहित उनको ससुराली पक्षको नै राजेन्द्रले नरसंहार गरिदिएका छन् । धोद्लेखानी बोन्थिताङका गाउँलेले यसअघि कहिल्यै यस्तो बीभत्स घटना देखेका थिएनन् । राति गाउँमा के भयो कसैले पत्तो समेत पाएनन् ।
घटनाको जानकारी पाएपछि प्रहरीको टोली आइतबार बिहान सबैरै घटनास्थलमा पुगेको छ । इलाका प्रहरी कार्यालय घोडेटार, जिल्ला प्रहरी कार्यालय भोजपुर लगायतका ठाउँबाट प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान थालेको हो ।
पारिवारिक विवादका कारण एकै परिवारका चार जनाको हत्या भएको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक दीपक श्रेष्ठले जानकारी दिएका छन् ।
गत वर्ष उनले १६ वर्षीय किशोरीसँग विवाह गर्न अभिभावकसँग प्रस्ताव गरेका थिए । तर किशोरीका परिवारले उनलाई विवाह गरेर दिन नमानेपछि राजेन्द्रले उनलाई भगाएर लगेका थिए ।
तर पतिका परिवारले हेला गरेको कारण उनी पछि माइती फर्किएको स्थानीयहरू बताउँछन् । स्थानीयका अनुसार, १४–१५ वर्षकै उमेरमा विवाह गरेर गएकी किशोरीलाई विभिन्न खालको शारीरिक तथा मानसिक यातनाको कारण त्यहाँ बस्न सक्ने अवस्था नभएपछि उनी माइतीको शरणमा आएकी थिइन् ।
यसबीच केही समयपछि नै राजेन्द्र उनलाई लिन ससुराली नै पुग्छन् । १५ दिन अघि देखि राजेन्द्र ससुरालीमा बस्दै आएको भन्ने जानकारी छिमेकीले दिएका छन् ।
किशोरी आफूसँग जान नमानेको र अभिभावकले पनि किशोरीलाई नै साथ दिएको आवेगमा राजेन्द्रले ससुरा, सासू, श्रीमती र सालोलाई धारिलो हतियारले निर्ममता पूर्वक हत्या गरेका प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
प्रहरीका अनुसार, उनले आफ्नै हातबाट यी सबैको ज्यान लिएपछि आफैँ प्रहरीलाई फोन गरेर ‘मैले यस्तो गरेँ’ भन्दै जानकारी गराएको पनि प्रहरीले जनाएको छ ।
यो घटना सामान्य पारिवारिक विवादजस्तो देखिए पनि यसको जरा सानै उमेरमै भएको विवाहसँग जोडिएको प्रहरीको प्रारम्भिक अनुमान छ ।
एकै परिवारका चार जना सदस्यको निर्मम हत्या हुनु कुनै सामान्य घटना होइन । सासू–ससुरा, श्रीमती र नाबालक सालोको हत्या आफन्तै ज्वाइँको हातबाट हुनु आफैंमा झनै भयावह, पिडादायक र चिन्ताजनक छ ।
घटना मानवताको सवाल मात्रै होइन, यो हाम्रो समाजको मानसिक स्वास्थ्य, आपसी सम्बन्ध र पारिवारिक संरचनाको खस्कँदो अवस्थाको पनि सूचक हो । के मान्छे साँच्चिकै मानवरुपी दानव बन्दै गएका हुन् ?
किन यति ठूला र हिंसात्मक निर्णय लिन मानिस तत्पर हुन्छ ? हिजो समाजमा सासू–ससुरा, ज्वाइँ–बुहारी, दाजु–भाइबीचको सम्बन्ध श्रद्धा, माया, विश्वास र आपसी स्नेहमा आधारित थियो ।
तर अहिले ती सम्बन्धहरूमा दरार आउन थालेका छन् । आक्रोश, ईष्र्या, सम्पत्ति विवाद, मानसिक असन्तुलन र सामाजिक मूल्यको क्षयले मानिसलाई यस्तो अमानवीय कदम चाल्न प्रेरित गरिरहेको देखिन्छ ।
यो घटना केवल एकजना ज्वाइँको ‘क्राइम रिपोर्ट’ मा मात्रै सीमित हुँदैन । यसले राज्यलाई पनि चेतावनी दिएको छ । सरकारले यस्ता घटना गम्भीरतापूर्वक लिएर मानसिक स्वास्थ्य, पारिवारिक परामर्श र समन्वययुक्त सामाजिक शिक्षा अभियानलाई अघि बढाउनु पर्छ ।
प्रहरी प्रशासन, स्थानीय सरकार र सामाजिक संस्थाहरूबीच समन्वय गरी मानसिकरूपले असन्तुलित देखिएका व्यक्तिको समयमै उपचार र परामर्श सुनिश्चित गर्नु आजको आवश्यकताको विषय बनेको छ ।