२३ असार , काठमाडौं।
आपराधिक उपद्रव कसुरमा पक्राउ पुर्जी जारी भएपछि फरार रहेका जसपा मधेसका अध्यक्ष एवं पूर्व प्रदेशसभा सदस्य अशोक यादव अहिले भारत पुगेका छन् ।
भारत पुगेर उनले नेपालप्रति नै विष वमन गरिरहेका छन् । सर्लाहीका प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्कालाई गालीगलौच गर्दै धम्काएपछि उनीविरुद्ध सर्लाही जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको छ ।
यादवविरुद्ध आपराधिक उपद्रव कसुरमा मुद्दा दर्ता भएको हो । प्रहरीले हर हालतमा उनलाई पक्राउ गर्ने अभियान चलाइरहेका बेला उनी भने भारतको विहार पुगेका हुन् ।
जसबारे भिडिओमार्फत आफैले जानकारी गराएका हुन् । यतिमात्रै होइन सो भिडिओ संदेशमा उनले मधेस एक दिन नेपालबाट अलग हुनेसम्मको आपत्तिजनक राष्ट्रघाती अभिब्यक्ति दिएका छन् ।
अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) का नेता यादवले मधेश कुनै न कुनै दिन नेपालबाट अलग हुने बताएका हुन् । सार्वजनिक भिडिओमा उनले भनेका छन्, ‘मधेश कुनै न कुनै समय अलग हुन्छ । म रहुँ वा नरहुँ ।’‘
जय बिहार, जय नेपाल, जय भारत’ भनेर भिडिओ सन्देश सुरु गरेका यादवले आफूलाई पक्राउ गर्नबाट जोगाउन भारतीय प्रहरी अधिकारीहरुसँग याचना पनि गरेका छन् ।
आफूले भारत र नेपालको निष्ठाको लडाइँ लडिरहेको बताउँदै उनले भनेका छन्, ‘अशोक यादव, श्रीराम र माँ जानकी धरोहर हुन्, त्यसलाई बचाउनका लागि लडिरहेको छु । बिहारका छोरीहरु जसको नेपालमा बिहे हुन्छ, उनको र उनीहरुका बच्चाको नागरिकता बन्दैन, म त्यसको लडाइँ लडिरहेको छु । म सितामढीको एसपीसँग बिहारको पुलिस अधिकारी सबैसँग अनुरोध गर्दछु कि नेपालका एसपीले भनेको आधारमा कुनै पनि कदम नउठाउनु ।’
उनले नेपालका शासकमा नश्लीय चिन्तन रहेको आरोप लगाएका छन् । मधेशीलाई दोस्रो नागरिकको दर्जा दिइएको भन्दै उनले मधेश अलग हुन आवश्यक रहेको भनेर आफूले पटक–पटक सोंचेको बताएका छन् ।
सर्लाहीका तत्कालीन एसपी योगेन्द्र कुमार खड्कालाई टेलिफोनमा धम्की दिएपछि फरार यादवले आफूलाई मर्नदेखि डर नभएको बताएका छन् ।
यादवले भिडियोमा सर्लाहीका एसपी र डीएसपीले गुण्डागर्दी गरेको आरोप लगाएका छन् । उनले आफू काँग्रेससहितका दलहरुसंग नडराउने पनि बताएका छन् ।
उनको यो अभिब्यक्तिबारे आज संसदमा पनि प्रश्न उठाइएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वाप) का सांसद मनीष झाले यादवको यो अभिब्यक्तिलाई जोडेर सांसद डा.अमरेशकुमार सिंहको अभिव्यक्तिमा आपत्ति जनाउने सांसदहरूमाथि प्रतिप्रश्न गरेका छन् ।
उनले सरकारमा दुई मन्त्रीसहित सहभागी रहेको जनता समाजवादी पार्टी (जसपा) का नेता अशोककुमार यादवले ‘मधेस नेपालबाट टुक्रिन सक्छ’ भन्दै दिएको अभिव्यक्तिबारे सत्तारुढ दलहरूको धारणा के हो भनेर प्रश्न गरेका हुन् ।
सोमबारको प्रतिनिधिसभा बैठकको आकस्मिक सममा बोल्दै झाले भने, ‘सत्तापक्षका माननीयज्यूहरू स्वतन्त्र सांसद माननीय अमरेशकुमार सिंहको भनाइ सच्याउन र संसद्को रेकर्डबाट हटाउन माग गर्दै हुनुहुन्थ्यो ।
तर,अहिले गठबन्धनका दुई थान मन्त्रालय लिइरहनुभएको दलका एक जना नेताले भिडियो म्यासेजमार्फत टुक्र्याउने धम्की दिनुभएको छ । उहाँलाई अब के गर्नुहुन्छ ?’ यसअघि हाल जनमत पार्टीका अध्यक्ष रहेका डा. चन्द्रकान्त(सिके) राउतले पनि मधेस नेपालबाट अलग हुनुपर्छ भन्दै केही वर्ष अभियान चलाएका थिए ।
सो क्रममा उनी कयौं पटक पक्राउ पर्दै छुट्दै गरेका थिए । उनी सन् २०११ मा अमेरिकाबाट नेपाल फर्किएपछि ‘स्वतन्त्र मधेश गठबन्धन’ गठन गरी मधेशलाई नेपालबाट अलग गर्ने माग राखेर शान्तिपूर्ण आन्दोलन गर्दै आएका थिए ।
२०७५ साल फागुन २४ गते सिके राउत र नेपाल सरकारबीच ११ बुँदे ऐतिहासिक सहमति भयो । सो सहमतिपछि उनले आफ्नो स्वतन्त्र मधेश गठबन्धन विघटन गरे र अलगाववादी आन्दोलन परित्याग गरे ।
त्यसपछि उनले नयाँ राजनीतिक दल ‘जनमत पार्टी’ गठन गरी संसदीय राजनीतिमा प्रवेश गरेका हुन् । यस्तै अहिलेका श्रम मन्त्री शरदसिंह भण्डारीले ११ वर्षअघि तराई टुक्रिन सक्छ भन्ने अभिव्यक्ती दिएर विवादमा होमिएका तत्कालीन रक्षा मन्त्री शरतसिंह भण्डारी बर्खास्त भएका थिए ।
भण्डारीको तत्कालीन दल दल मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले उनलाई सरकारबाट फिर्ता बोलाउने निर्णय गरे लगत्तै तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले उनलाई पदमुक्त गरेका थिए ।
अहिले फेरि जसपाका नेताले सोही कुरा दोहोर्याएका छन् । त्यो पनि भारतको भूमिबाट । यता सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सरोज राईका अनुसार यादव अहिले फरार रहेकाले उनको खोजी भइरहेको छ ।
जसपा मधेस अध्यक्ष यादव र सर्लाही प्रहरी प्रमुख खड्काबीच बिहिबार राति फोनमा भएको गालीगलौचको अडियो सामाजिक सञ्जालमा भाइरल छ ।
यादवले आर्थिक चलखेल गर्ने पूर्वाधार विकास कार्यालयमा उल्टै प्रहरी तैनाथ गरेर सेवा प्रवाह गरिएको भन्दै प्रहरी उपरीक्षक खड्कालाई फोन गरेर आपत्ति जनाएका थिए । कुराकानीको क्रममा दुबैजनाले एक अर्कालाई गाली गरेका थिए ।
यादव र प्रहरी उपरीक्षकबीच गालीगलौच भएपछि सर्लाही प्रहरीले उनीमाथि विगतमा दर्ता भएको विभिन्न ७ वटा मुद्दाको विवरण सार्वजनिक गरेको छ ।
सर्लाही प्रहरीका अनुसार यादवमाथि चोरीको एउटा मुद्दा, अभद्र व्यवहारको ५ वटा मुद्दा र ज्यान मार्ने उद्योगको एउटा मुद्दा दर्ता भएको हो ।
सर्लाहीका प्रहरी प्रवक्ता राईका अनुसार २०५७ पुस ८ गते मलंगवा नगरपालिका १० स्थित नथुनि साह जिल्ला कृषि विकासमा बसिरहेको अवस्थामा यादवसमेत आई गाली गलौज तथा हातपात गरेकोमा नथुनी साहको जाहेरीले यादव माथि अभद्र व्यवहारको मुद्दा चलेको थियो।
यस्तै, २०६६ असोज १० गते साँझको समयमा काठमाडौँबाट आइरहेका शिक्षा कार्यालयका लेखापालको साथबाट १ लाख ५० हजार ४ सय रुपैयाँ लुटेर लगेको घटनामा चोरी सम्बन्धि कसुरमा मुद्दा चलेको प्रहरीले जनाएको छ ।
यस्तै, २०७२ पुस ५ गते जिल्ला प्रशासन कार्यालयको नागरिकता तथा राहदानी फाँटमा प्रवेश गरि कम्प्युटर र मोनिटरमा तोडफोड गरेको घटनामा अभद्र व्यवहार मुद्दा चलेको थियो ।
२०७२ फागुन मा यादवले मादक पदार्थ सेवन प्रहरी टोलीलाई गाली गलौज गरेको भन्दै अभद्र व्यवहार मुद्दा चलाएको थियो । २०७३ साउन १३ गते सिँचाई बिकास डिभिजन कार्यालय मलगंवा सर्लाहीमा यादव अनाधिकृत रुपमा प्रवेश गरि कर्मचारीहरुलाई धाकधम्की दिएको घटनामा अभद्र व्यवहार मुद्दा दर्ता भएको थियो ।
यस्तै, २०७३ मंसिर २९ प्रहरीलाई गाली गरेको तथा अभद्र व्यवहार गरेको भन्दै प्रहरीले उनीमाथि अभद्र व्यवहार मुद्दा चलाएको थियो । २०७७ जेठ २७ गते सडकको जग्गा जमिनको बिषयमा राज नारायण रायसँग वादविवाद हुँदा ज्यानै मार्ने किसिमले कुटपिट गरेको भन्दै रायको जाहेरीपछि जिल्ला प्रहरी कार्यालयबाट यादवमाथि ज्यान मार्ने उद्योगमा मुद्दा चलेको सर्लाही प्रहरीले जनाएको छ ।