विद्या भण्डारीलाई रोक्न ओलीलाई सिंगो कांग्रेसको साथ , के छ स्वार्थ ?

विद्या भण्डारीलाई रोक्न ओलीलाई सिंगो कांग्रेसको साथ , के छ स्वार्थ ?

२५ असार , काठमाण्डौ ।

एमालेभित्रैको एक पंक्ति र बाहिर रहेर हालको एमालेको संस्थापन नरुचाइरहेकाहरुले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको एमालेमा सक्रिय फिर्तीलाई स्वागत गरिरहेका बेला नेपाली कांग्रेसले भने यसमा असन्तुष्टि व्यक्त गरेको छ ।

एमालेमा फर्किएर अध्यक्ष केपी शर्मा ओलीको विकल्प बन्ने दृढतासहित रणनीति बनाइरहेकी भण्डारीलाई एमालेले अहिले नै रोक्नु पर्ने धारणा संसदको सबैभन्दा ठूलो दल कांग्रेसले जाहेर गरेको छ ।

स्वयं कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसंग यस्तो धारणा राखेको पाइएको छ ।

ओली स्वयं विद्या भण्डारीको एमालेमा बढीरहेको कदमबाट रुष्ट र भयभित पनि छन् । विद्याको सक्रियतासंगै आफूले रोक्न खोजेको उमेरको हदबन्दीलाई लिएर पनि अब विवाद उठ्ने देखिएको छ ।

यदी यसमा विवाद बढ्यो र विधान महाधिवेशनसम्म यो विषय पुग्यो भने ओलीलाई उमेर हदले नेतृत्वकालागि रोक्ने पक्का छ । त्यसो हुँदा ओलीले यो व्यवस्था र भण्डारी दुवैलाई रोक्ने रणनीतिमा छन् ।

यस्तोमा हाल सरकारमा साथ दिइरहेको सबैभन्दा ठूलो दल नेपाली काँग्रेस पनि ओलीकै साथमा खडा भएको हो । भण्डारीले डेढ साताअघि पार्टी सदस्यता नवीकरण गरी सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेपछि एमाले अध्यक्ष ओलीसहित संस्थापन पक्षका नेताहरू असन्तुष्ट देखिएका छन् ।

यही वेला एमाले नेताहरूकै जस्तै असन्तुष्टि कांग्रेस सभापति देउवाले पनि प्रकट गरेका छन् । भण्डारीलाई सक्रिय राजनीतिमा फर्काउन नहुने देउवाको मत छ ।

प्रधानमन्त्रीनिवास बालुवाटारमा मंगलबार भएको ओलीसँगको भेटवार्तामा देउवाले भण्डारीको सक्रियताप्रति असन्तुष्टि व्यक्त गरेका हुन ।

पूर्वराष्ट्रपतिले पुनः सक्रिय राजनीतिमा फर्किनु लोकतान्त्रिक गणतन्त्र र वर्तमान राजनीतिक प्रणालीका लागि हितकर नहुने देउवाको भनाइ थियो ।

निकट विश्वासपात्र नेताहरू उपसभापति पूर्णबहादुर खड्का र गृहमन्त्री रमेश लेखकलाई साथमा राखेर देउवाले पूर्वराष्ट्रपति भण्डारीको पुनरागमनले एमालेको आन्तरिक राजनीति र देशकै राजनीतिक प्रणालीमाथि पार्ने नकारात्मक प्रभावबारे ओलीको धारणा बुझ्ने प्रयास गरेका हुन् ।

विश्वासपात्र नेताहरू महासचिव शंकर पोखरेल र प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाललाई साथमै राखेर छलफल गरेका ओलीले देउवाको मतमा सहमति जनाएको बताइएको छ ।

ओलीले पार्टीभित्र संस्थागत निर्णय गरेरै भण्डारीको सक्रियतालाई लगाम लगाउन सकिने संकेत गरेका छन् । भण्डारीको घोषणालाई ‘निजी इच्छा’को रूपमा लिँदै ओलीले पार्टीभित्र औपचारिक छलफल हुन बाँकी रहेको बताएका थिए ।

यता मंगलबारको भेटमा देउवाले भनेका थिए, ‘विद्याजी फर्किएर एमालेभित्र दुई गुट बन्दा, फुट्दा वा कमजोर हुँदा प्रतिस्पर्धी भएकाले कांग्रेसलाई फाइदा त होला । तर, देशलाई फाइदा गर्दैन ।

नेपाली सेनाको परमसेनाधिपति भइसकेको व्यक्तिको व्यक्तित्व त इन्स्टिच्युसनल मेमोरी हुन्छ । राजनीतिभन्दा माथि देशको संरक्षक भएकैले राष्ट्रपतिको सम्पूर्ण सुरक्षाका लागि सेना खटाइएको हुन्छ ।

त्यस्तो इन्स्टिच्युसनल मेमोरी त कहिल्यै डिलिट हुँदैन । भोलि रामवरणजी या अहिलेका राष्ट्रपति रामचन्द्रजीले पनि रिटायर्ड भएपछि त्यस्तै इच्छा गरे के गर्ने ?’

सभापति देउवाले पूर्वराष्ट्रपति राजनीतिमा फर्किँदा लोकतान्त्रिक गणतन्त्रको अहिलेको राजनीतिक प्रणाली नै संकटमा पर्न सक्ने खतरा औँल्याउँदै ओलीको ध्यानाकर्षणसमेत गराए ।

‘पूर्वराष्ट्रपति राजनीतिमा फर्किँदा अहिलेको राजनीतिक प्रणालीप्रति अविश्वास पैदा हुन्छ, व्यवस्था कमजोर हुन्छ । त्यसकारण हामीले राजनीतिक प्रणालीलाई कमजोर हुन दिनु हुँदैन,’ देउवाको भनाइ थियो ।

जवाफमा प्रधानमन्त्री ओलीले पनि देउवाको भनाइमा सहमति जनाएको बताइन्छ । सो क्रममा ओलीले भने, पूर्वराष्ट्रपति राजनीतिमा मुछिनु भनेको अहिलेका राष्ट्रपति पनि मुछिनु हो,’ ।

‘तपाईंको जस्तै हाम्रो पनि प्रश्न हो, प्रणालीमाथि प्रश्न उठ्नुहुँदैन भन्ने एमालेको पनि चिन्ता हो । त्यसैले जसरी तपाईंहरूले सोच्नुभयो, त्यसैगरी, हामी एमाले पनि प्रणालीप्रतिको विश्वास र रक्षाको पक्षमा सोच्नेछौँ ।’ ओलीले भनेका छन् ।

छलफलमा कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले पनि भण्डारीले पुन राजनीतिमा फर्किन गरेका प्रयासप्रति असन्तुष्टी राखेका थिए ।

कांग्रेस केन्द्रीय समिति बैठकमा महामन्त्री विश्वप्रकाश शर्मा, पूर्वउपसभापति विमलेन्द्र निधि, डा. गोविन्दराज पोखरेललगायतले भण्डारीको पुनरागमन प्रणालीकै लागि खतरा हुन सक्ने र कम्युनिस्टहरू फेरि मिल्न सक्नेप्रति नोटिस गर्नुपर्ने धारणा राखेका थिए ।

कांग्रेसका नेताहरूले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा फर्किने निर्णयलाई ‘नोटिस’मा राखेका छन्।

भण्डारीले एमालेमा फर्किएर सक्रिय राजनीति गर्ने निर्णयलाई नोटिसमा राख्ने मात्र होइन, उनलाई सक्रिय राजनीतिमा फर्किन दिन नहुने पक्षमा पनि कांग्रेस नेताहरू उभिएका हुन् ।

कार्य समिति बैठकमा नेताहरूले उठाएको सोही विषयलाई सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीनिवास बालुवाटार पुगेर एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि चासो राखेका हुन् ।

देउवाले भण्डारीको १४ असारको निर्णयबारे चासो मात्रै राखेनन्, राजनीतिमा आउन दिन नहुने मत पनि राखेका हुन् । देउवाले बालुवाटारमा तीनवटा कुरामा जोड दिएको देखिन्छ ।

एक, सेनाको परमाधिपति भइसकेको व्यक्ति पार्टीको नेता हुन मिल्दैन । दोस्रो, लोकतान्त्रिक प्रणालीमाथि भरोसा टुट्छ । तेस्रो, व्यक्तिको अधिकार र कानुनी बाटो खुला हुने कुरा मात्र होइन, नैतिकतासँग पनि जोडिन्छ ।

बालुवाटारमा सारमा यति कुरा गरेका देउवाको ठोस अडानचाहिँ भण्डारीको राजनीतिक सक्रियता रोक्नुपर्ने मक्सदसँग जोडिन्छ।

उनले प्रस्टै भनेका छन्, ’कांग्रेस र एमालेको मात्र कुरा होइन यो, यसलाई रोक्नुपर्छ ।’ बैठकमा सहभागी एक नेताका अनुसार, देउवाले राष्ट्रपति नेपाली सेनाको परमाधिपतिसमेत भएकाले त्यस्तो मानिस एउटा पार्टीको नेता भएर आउन मिल्छ ? भन्ने प्रश्न जोड दिएर उठाएका थिए ।

तर राजनीतिमा पूर्वराष्ट्रपति भण्डारीको कमब्याकको विरोधमा देउवा र ओलीको एउटै धारणा बन्नुमा दुवैको स्वार्थ मिलेको हुन सक्ने राजनीतिक विश्लेषकहरूको टिप्पणी छ ।

देउवाले प्रधानमन्त्री बन्ने सहमति अलपत्र पर्न सक्ने र ०७४ मा जस्तै कम्युनिस्ट मिल्न सक्ने भयले विरोध प्रकट गरको र ओलीले पनि आफू विस्थापित हुन सक्ने भयकै कारण दुवैले एकैठाउँबाट विरोधको सन्देश दिएको हुन सक्ने विश्लेषण गरिएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.