३० असार , काठमाडौं ।
गएराति देशभर हल्कादेखि मध्यम वर्षा भए पनि काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा यतिबेला आंशिक बदली छ । कतिपय ठाउँमा बिहानैदेखि घाम चर्को लागेको छ ।
यद्यपि आज पनि सबैजसो प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङसहित पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक÷दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।
आज राति पनि कोशी र लुम्बिनी प्रदेशका एक÷दुई ठाउँमा ठूलो पानी पर्ने महाशाखाले जनाएको छ । आज विहानदेखि पनि कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरू तथा लुम्बिनी प्रदेशको एक–दुई स्थानमा हल्का देखि मध्यम वर्षा भएको छ ।
आज देशको उच्च–पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा÷ हिमपातको सम्भावना पनि रहेको छ । यस्तै अबका तीन दिन देशका अधिकांश नदीमा पानीको बहाव उल्लेख्य बढ्ने अनुमान छ ।
नदीतटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
आज ताप्लेजुङ, सोलुखुम्बु, संखुवासभा, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौं, ललितपुर र भक्तपुरमा आकस्मिक बाढीको ‘मध्यम’ जोखिमको सम्भावना उच्च रहने औँल्याइएको छ । यी जिल्ला भई बहने साना नदीमा बहाव उल्लेख्य बढ्ने महाशाखाको पूर्वानुमान छ ।
इलाम, झापा, पाँचथर, तेह्रथुम, भोजपुर, ओखलढुंगा, खोटाङ, सिन्धुली, मकवानपुर, तनहुँ, कास्की, स्याङ्जा, पर्वत, लमजुङ, दाङ, बर्दिया, सल्यान, सुर्खेत, दैलेख, अछाम, बझाङ, जाजरकोट, कालीकोट, बाजुरा, कैलाली, कञ्चनपुर र दार्चुला भई बहने साना नदीमा पनि बहाव उल्लेख्य बढ्ने सम्भावना छ ।
यी जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना ‘मध्यम’ रहने महाशाखाको अनुमान छ ।
सम्भावित वर्षाको कारणले भू–क्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकोले सहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम रहेको, ठुला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा महाशाखाको अनुरोध छ ।