१ साउन , काठमाण्डौ ।
नेकपा एमालेको विधान महाधिवेशनको तयारीका सन्दर्भमा छलफल गर्न आज एमाले केन्द्रीय सचिवालयको बस्दै छ । दिउँसो १ बजे केन्द्रीय कार्यालय च्यासलमा बैठक बस्ने प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
गौतमका अनुसार बैठकमा विधान महाधिवेशनको तयारीका विषयहरूमा छलफल र निर्णयहरू हुनेछन् । आजको बैठकमा विधान संशोधन प्रस्तावका खाकाहरू प्रस्तुत हुने छ ।
संशोधनको खाका बनाउन यस अघि नै पाटीका उपाध्यक्ष विष्णु पौडेललाई जिम्मेवारी दिइएको थियो । जस अनुसार आजको बैठकमा उपप्रधानमन्त्री एवं पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलले प्रस्तुत गर्नेछन् ।
आजको बैठकमा अध्यक्ष केपी ओलीले प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदन, महासचिव शङ्कर पोखरेलले प्रस्तुत गर्ने साङ्गठनिक प्रतिवेदनका विषयमा पनि छलफल हुने गौतमले जानकारी दिए ।
आजको बैठकले साउन २ गते बस्ने पार्टी पोलिटव्यूरोको र साउन पाँच गते बस्ने केन्द्रीय कमिटीका कार्यसूची पनि तय गर्ने छ । यही बैठकले एमालेमा फर्किएकी विद्याको पार्टीमा भूमिका बारे पनि निर्णय गर्नेछ ।
गौतमका अनुसार बैठकमा सरकारको एक वर्षे कार्यकालको समीक्षा, विधान महाधिवेशनको तयारी र समसामयिक राजनीतिक विषयहरुमा छलफल र निर्णयहरू हुनेछन् ।
एमालेको दोस्रो विधान महाधिवेशन भदौ २० देखि २२ गते सनराइज हल गोदावरीमा गर्ने निर्णय भएको छ । यसबीच पूर्वराष्ट्रपति विद्या भण्डारीको पक्षमा खुलेका नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलेको वरिष्ठ उपाध्यक्ष पद नै खारेज हुने भएको छ ।
आज बस्ने केन्द्रीय सचिवालयको बैठकले पार्टीमा वरिष्ठ उपाध्यक्ष पद नै नरहने गरि विधानमा संशोधनको निर्णय गर्न लागेको नेताहरुले बताएका छन् । ‘वरिष्ठ उपाध्यक्ष पद हटाएर पार्टीको विधान संशोधन गर्न लागिएको छ । त्यो निर्णय आजको सचिवालय बैठकबाट हुन्छ,’ एमालेको विधान संशोधनबारे भइरहेको छलफलमा सहभागी एक नेताले भनेका छन्, ‘यो व्यवस्थासहितको विधान आगामी महाधिवेशनपछि लागू हुन्छ।’
एमालेमा पछिल्लो समय ७० वर्षे उमेर हद र अध्यक्षको २ वर्षे कार्यकालबारे विवाद चर्किँदै गएको छ । आजको सचिवालय बैठकमा विधानमा हुने संशोधनका विषयमा छलफल हुने एजेण्डा छ ।
नयाँ संशोधित विधान आजको सचिवालय बैठकले पारित गर्ने तयारी छ । एमालेले यस्तो निर्णय गरे आगामी महाधिवेशनबाट ईश्वर पोखरेल एमालेको राजनीतिबाट पाखा लाग्नुपर्ने अवस्था सिर्जना हुनेछ ।
विधान महाधिवेशनपछि लागू हुने भएकाले पोखरेल त्यसबेलासम्म वरिष्ठ उपाध्यक्ष पदमा रहनेछन् । तर महाधिवेशनमा उनी वा अरु कोही यो पदमा उठ्न सक्ने छैनन् ।
वरिष्ठ उपाध्यक्ष पद नै खारेज भएपछि पोखरेल कि त अध्यक्षमा उठ्नु पर्नेछ नत्र उनले पार्टीको यो उच्च तहको सक्रिय राजनीतिबाटै विदा लिनु पर्ने हुन सक्छ ।
नवौं महाधिवेशनपछि एमालेमा कार्यकारी कमिटीमा ७० वर्षे उमेरहद लागू गरिएको थियो । २०७८ को दशौं महाधिवेशनपछि पनि पालिका तहका कमिटीदेखि माथि कार्यकारी कमिटीमा ७० वर्षे उमेरहदकै प्रबन्ध गरिएको थियो ।
तर २०८० जेठमा बसेको सचिवालय बैठकले एकीकृत समाजवादीमा गएका मुकुन्द न्यौपाने लगायतलाई पार्टीमा फर्काउन उक्त प्रावधान स्थगित गरिएकामा त्यसपछि बसेको केन्द्रीय कमिटी बैठकले अनुमोदन गरेको थियो ।
लगातार दुई कार्यकालभन्दा बढी उम्मेदवार बन्न नपाइने प्रावधान विधान महाधिवेशनले पारित गरे पनि दशौं महाधिवेशनपछि अचानक हटेको थियो ।
स्थायी कमिटी सदस्य कर्ण थापाले महाधिवेशनमा नभई विधान छाप्दा छलछामपूर्वक हटाइएको दाबी गर्दै आएका छन् ।
महासचिव पोखरेलले भने महाधिवेशनको बन्द सत्रअगाडि बसेको केन्द्रीय कमिटी बैठकले संशोधन गरेको र बन्द सत्रको हलले नै अनुमोदन गरेको जिकिर गरिरहेका छन् ।