१६ साउन ,काठमाण्डौं ।
नेपालको इलेक्ट्रिक सवारी साधनको बजारमा नयाँ उत्साह थप्दै, यही साउन २१ गतेदेखि आयोजना हुने प्रतिष्ठित ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ मा चिनियाँ कमर्सियल भेहिकल ब्राण्ड सनलोङका दुई नयाँ इलेक्ट्रिक माइक्रोभ्यान सार्वजनिक हुने भएका छन्।
वेबर ग्रुप अन्तर्गतको सहायक कम्पनी, ब्लू कर्पोरेसन प्रालिले सनलङको १२ र १३ सिटे माइक्रोभ्यानहरू नेपाली बजारमा ल्याएको हो। कम्पनीले नेपाल ल्याएका यू वान र यू टु इलेक्ट्रिक माइक्रोभ्यानहरूमा क्रमशः ४६.३६ र ५०.२३ किलोवाट अवारको ब्याट्री प्याक रहेको छ ।

८० किलोवाटको मोटर रहेको यी भ्यानहरूको रेन्ज क्रमशः ३२५ र ३५० किलोमिटरको रहेको छ । १५ इन्चको ह्वील रहेको सनलङको माइक्रोभ्यानमा १८० एमएमको ग्राउण्ड क्लियरेन्स रहेको छ ।
सनलङको यो माइक्रोेभ्यानमा एलसीडी ड्यासबोर्ड, यूएसबी चार्जिङ इन्टरफेस, एयर कण्डिसन, प्रेडेस्ट्रियन वार्निङ सिस्टम, रिभर्स पार्किङ सेन्सर, रिभर्स क्यामरा, फ्रन्ट पावर विण्डो लगायत फिचर छन् ।
सुरक्षाका लागि यी भ्यानहरूमा एबीएस, ईबीडी, ईपीएस, ईएससी ब्रेक असिस्ट, फ्रन्ट डिस्क रियर ड्रम ब्रेकिङ सिस्टम, सिटबेल्ट वार्निङ आदि फिचर रहेको छ ।
कम्पनीले यी इलेक्ट्रीक भ्यानसँग ३.३ पिकलोवाटको पोर्टेबल र ६.६ किलोवाटको वाल माउण्टेड चार्जर दिने जनाएको छ । ब्लू कर्पोरेशनले १२ सिटे सनलङ यू वानको मूल्य ४७ लाख ४७ हजार र १३ सिटे यू टुको मूल्य ५१ लाख ५१ हजार रुपैयाँ तोकेको छ ।