१८ साउन , काठमाण्डौ ।
विश्व विजेता अर्जेन्टिनी तथा इन्टर मायामीका कप्तान लिओनल मेस्सी फेरि घाइते भएका छन् । आइतबार बिहान मेक्सिकन क्लब नेकाक्साविरुद्धको लिग्स कप खेलको सुरुआतमै घाइते भएपछि उनी मैदानबाट बाहिरिएका थिए ।
खेलको आठौं मिनेटमा दुई डिफेन्डरको बीचमा पेनाल्टी क्षेत्रतिर दौडिरहँदा मेस्सी लडेका हुन् । लडेपछि उनले रिसमा मुठ्ठीले भुइँमा हाने र खेल जारी रहँदा मिडफिल्ड क्षेत्रतिर हिँड्न थाले ।
त्यसपछि उनी मायामीको बेन्चनजिकै बसेर आफ्नो दायाँ तिघ्राको माथिल्लो भागमा ट्रेनरहरूसँग उपचार गराउँदै करिब दुई मिनेट बिताए। ११औं मिनेटमा उनलाई फेडेरीको रेडोन्डोले प्रतिस्थापन गरे र मेस्सी सिधै लकर रूमतिर लागे ।
उनी बाहिरिएको केही मिनेटमै टेलास्को सेगोभियाले रोड्रिगो डे पउलको असिस्टमा गोल गर्दै इन्टर मायामीलाई १–० को अग्रता दिलाए । मेस्सीले आफ्नो करिअर भरी थुप्रै पटक ह्यामस्ट्रिङको चोट भोगेका छन् ।
पछिल्लो केही सिजनमा पनि उनले विभिन्न खुट्टासम्बन्धी चोटका कारण खेल गुमाएका थिए । हालैको चोट बायाँ एडडक्टरमा थियो । त्यसका कारण उनले यसै वर्ष अर्जेन्टिनाको विश्वकप छनोटका दुई खेल गुमाएका थिए ।
अबको केही दिनमा उनको चोटबारे थप परीक्षण हुने अनुमान छ । सामान्यतया यस्ता मांसपेशीसम्बन्धी चोटका लागि एमआरआई स्क्यान गरिन्छ । तर, अहिलेसम्म उनको एमआरआई कहिले गरिन्छ भन्ने जानकारी आएको छैन ।
मायामीले सन् २०२३ मा मेस्सीको आगमनपछि लिग्स कप जितेको थियो । तर, यस वर्षको संस्करणमा नकआउट चरण पुग्नका लागि क्लबले पर्याप्त गोल गर्दै एमएलएसको शीर्ष चारभित्र पर्नैपर्छ ।
बुधबार एटलासविरुद्धको पहिलो खेल २–१ ले जित्दा मेस्सीले दुई असिस्ट गरेका थिए । तर, गोलअन्तरका आधारमा मायामी हाल एमएलएसको लिग्स कप तालिकामा नवौं स्थानमा छ ।
आज बिहान भएको खेलमा इन्टर मायामीले नेकाक्साविरुद्ध पेनाल्टी सुटआउटमा जित हासिल गरेको हो । निर्धारित समय २–२ गोलको बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो ।
खेलको १२औँ मिनेटमै लुइस सुआरेजको असिस्टमा टेलास्को सेगोमियाले गोल गरेर इन्टर मायामीलाई अग्रता दिलाएका थिए । तर, ३३औँ मिनेटमा डिफेन्डरको कमजोरीको फाइदा उठाउँदै नेकाक्साका टोमस बादलोनीले खेललाई बराबरीमा फर्काए ।
८१औँ मिनेटमा रिकार्डे मोनरियलले गोल गरेपछि मायामी २–१ ले पछि प¥यो । यद्यपि, रोड्रिगो डे पलको असिस्टमा इन्जुरी समयमा जोर्डी अल्बाले गोल गरेर खेललाई बराबरीमा ल्याए ।
दुवै टिमका एक÷एक खेलाडीले रातो कार्ड पाएको खेलको पेनाल्टी सुटआउटमा मायामी ४ का विरुद्ध ५ गोलले विजयी भयो । अब इन्टर मायामीले बुधबार पुमा यूएनएएमविरुद्ध लिग्स कप समूह चरणको अन्तिम खेल खेल्ने छ ।
त्यसपछि मायामी १० अगस्टमा फ्लोरिडाका प्रतिद्वन्द्वी ओर्लान्डो सिटीविरुद्ध एमएलएस खेलमा फर्किने छ । इन्टर मायामी लिग्स कपको नकआउट चरणमा प्रवेश गर्ने चार एमएलएस टोलीमध्ये एक हुन सफल भयो भने क्वार्टर फाइनलका खेलहरू ११ अगस्टबाट सुरु हुने छन् ।
मेस्सीको नेतृत्वमा इन्टर मायामीले सन् २०२३ मा लिग्स कप उपाधि जितेको थियो । यस सिजनमा उनले १८ लिग खेलमा १८ गोल र ९ असिस्ट गरिसकेका छन् ।