२१ साउन , काठमाण्डौ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका केही भागमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यस्तै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत कोशी प्रदेशको पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ ।
आज राति देशभर साधारणतया बदली रहनेछ । कोशी प्रदेश लगायत देशका पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी तराई भू–भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ ।
कोशी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । अहिले पनि मधेश प्रदेशका एक÷दुई ठाउँमा तथा बाँकी प्रदेशका थोरै ठाउँमा मध्ययम वर्षा भइरहेको छ ।
गएराति पनि कोशी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो पानी परेको थियो । अरु ठाउँमा पनि हल्कादेखि मध्यम वर्षा भएको छ ।महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार सबैभन्दा बढी कोशी प्रदेशको इलाममा ७९ मिलिमिटर वर्षा मापन भएको छ ।
ठूलो पानी परेको ठाउँहरुमा बाढीको जोखिम रहेकोले आवश्यक सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाको आग्रह छ । यसक्रममा अछामको कर्णाली नदी बेनीघाट जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ ।
जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ । सेती दोभानदेखि भेरी दोभानसम्मको नदी तटीय क्षेत्र आसपासमा रहनेहरूले आवश्यक सतर्कता अपनाउनुपर्ने विभागले बताएको छ ।
आज बिहानको मापन अनुसार कर्णाली, महाकाली र बबई नदीहरू को बहाव सतर्कता आसपास रहेको र कोशी, नारायणी, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, र कन्काई नदीहरूको बहाव सतर्कता तहभन्दा तल रहेको बाढी पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
बुधबार कैलाली, कञ्चनपुर, र आसपासका जिल्ला भई बहने स–साना नदीहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको उच्च जोखिमको उच्च सम्भावना रहने पूर्वानुमान छ ।
त्यस्तै दाङ, बाँके, बर्दिया, जाजरकोट, डोल्पा, रुकुम पश्चिम, सल्यान, सुर्खेत, दैलेख, र आसपासका जिल्ला भई बहने स–साना नदीहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको उच्च सम्भावना रहने पूर्वानुमान छ ।
त्यसैगरी, सङ्खुवासभा, ताप्लेजुङ, पाँचथर, तेह्रथुम, रामेछाप, सोलुखुम्बु, भोजपुर, रसुवा, दोलखा, सिन्धुपाल्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर, रुपन्देही, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, कपिलवस्तु,खोटाङ, अछाम, बझाङ, डडेल्धुरा, डोटी, बैतडी, दार्चुला र आसपासका जिल्ला भई बहने स–साना नदीहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको मध्यम सम्भावना रहने पूर्वानुमान छ ।
यसैबीच अविरल वर्षासँगै खसेको पहिराले आज बिहानैदेखि बैतडी–बझाङ जोड्ने जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ । सिगास गाउँपालिका–९ रमिलापुरमा सडकमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बलराम पाण्डेयले जानकारी दिए ।
राजमार्ग अवरुद्ध हुँदा सवारी आवागमन पूर्ण रूपमा रोकिएको छ । सवारी आवागमन रोकिँदा यात्री बीच बाटोमै अलपत्र परेका छन् । जयपृथ्वी राजमार्गमा बेलाबेलामा पहिरो खस्दा अवरुद्ध हुने गरेको छ ।
यस्तै पूर्व–पश्चिम एसियन हाइवे पनि पूर्णरूपमा अवरुद्ध भएको छ । बाढीले सडक कटान गर्दा बाटो अवरुद्ध भएको हो । आज बिहान ६ बजे शिवसताक्षी नगरपालिका–१० स्थित सुकुना खोलामा पूर्व–पश्चिम एसियन हाइवे बाढीले कटान गरेको प्रहरीले जनाएको छ ।
हिमपाइप लगाएर बनाइएको ड्राइभर्सन खोलामा आएको बाढीले कटान गरी बगाएपछि सवारी आवतजावत बन्द भएको प्रहरीले जनाएको छ ।