२९ साउन, काठमाण्डौ ।
प्रधानमन्त्री केपी शर्मा ओली फेरि चीन जाने भएका छन् । उनी दुई सातापछि चीन भ्रमणमा जाने भएका हुन् । चीनमा हुन लागेको संघाइ सहयोग संस्था (एससिओ) को शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली चीन जान लागेको प्रधानमन्त्री निकट स्रोतले जानकारी दिएको छ ।
दुईदिने भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी जिङपिङसँग प्रधानमन्त्री ओलीको भेट हुने सम्भावना छ । यसअघि प्रधानमन्त्री ओलीले मंसिर १७ गते चीनको चारदिने औपचारिक भ्रमण गरेका थिए ।
नेपाल सन् २०२० देखि एससिओको संवाद साझेदारको रूपमा रहँदै आएको छ । एससिओको स्थापना २००१ मा भएको हो जहाँ बेलारुस, चीन, भारत, इरान, काजाकिस्तान, किर्गिस्तान, पाकिस्तान, रूस, ताजिकिस्तान र उज्बेकिस्तान गरी १० देश सदस्य छन् ।
नेपालसहित टर्कीए, श्रीलंका, अजरबैजान, अर्मेनिया, कम्बोडिया, इजिप्ट, कतार, साउदी अरेयिबा र युएईसहित १४ देशहरू भने एससिओमा संवाद साझेदार छन् ।
सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि सहभागी हुँदैछन् । सोही बैठकमा ओलीको सी र मोदीसँग भेटवार्ता हनेछ । दुई छिमेकी राष्टका प्रमुखसँग एकैपटक भेट गर्ने दुर्लभ अवसर ओलीले प्राप्त गर्नेछन् ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसहित सदस्य राष्ट्रका शीर्ष नेताहरू सहभागी हुनेछन् । चीनबाट फर्केलगत्तै भदौ ३१ गते प्रधानमन्त्री ओली भारतको भ्रमणमा जानेछन् ।
प्रधामनन्त्रीको भारत भ्रमणअघि भदौ १ गते भारतका परराष्ट्रसचिव विक्रम मिश्री काठमाडौँ आउने भएका छन् । तर त्यसअघि नै चिनियाँ राष्ट्रपतिसंगै भारतीय प्रधानमन्त्रीसंग पनि नेपाली प्रधानमन्त्रीको भेट हुन लागेको हो ।
यसअघि सो सम्मेलनमा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुनेबारे परामर्श भइरहेको थियो । राष्ट्रपति नजाने भएपछि प्रधानमन्त्री जाने तयारी भएको हो ।
प्रधानमन्त्रीले यसअघि गत वर्ष प्रधानमन्त्री भएपछि पहिलो भ्रमण चीनबाटै गरेका थिए । एक वर्षको बीचमा यो दोस्रो भ्रमण हुनेछ । विश्व दुई धु्रवमा विभाजित भइरहेका बेला यसपटक चीनको यो सम्मेलनलाई महत्वका साथ हेरिएको छ ।
त्यसमा विशेष भनेको अमेरिकी राष्ट्रपतिले दबाब दिइरहेका बेला भारतका प्रधानमन्त्री नरेन्द्र मोदी चीन जानु पनि रहेको छ । मोदी चीन जानुअघि चिनियाँ विदेशमन्त्री वाङ यी’ले भारतको भ्रमण गर्ने भएका छन् ।
वाङले भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग विशेष प्रतिनिधिस्तरको वार्ता गर्ने तयारी भएको छ । भारत–पाकिस्तानबीचको शत्रुतापूर्ण अवस्था र ‘अपरेसन सिन्दूर’पछि चीनबाट हुने पहिलो उच्चस्तरीय भ्रमण हुनेछ ।
भारत–पाकिस्तान युद्धका बेला पाकिस्तानले प्रयोग गरेका हतियार र ड्रोनहरू चीनबाट उपलब्ध गराइएको थियो । डोभाल र वाङबीचको वार्ताले द्विपक्षीय सम्बन्ध र लद्दाखमामा रहेको वर्तमान अवस्थाबारे पनि कुराकानी हुनेछ ।
वाङ यी सन् २०२२ मा युक्रेन युद्ध सुरु भएपछिको समयमा भारत आएका थिए । यसैबीच भारतका विदेशमन्त्री एस जयशंकर अर्को हप्ता रुसको भ्रमण गर्ने भएका छन् ।
रुसको विदेशमन्त्री सेर्गेइ लाभरोभसँग भेट गर्न २१ अगस्टमा जयशंकर रुस जान लागेका हुन् । भारतीय सञ्चार माध्यमले जनाएअनुसार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको सम्भावित भारत भ्रमणको तयारीस्वरूप उनी रुस जान लागेका हुन् ।
पुटिन सन् २०२५ को अन्तिम साता भारतको भ्रमणमा आउन सक्ने बताइएको छ । केही दिनअघि भारतका सुरक्षा सल्लाहकार डोभाल रुस पुगेका थिए ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सन् २०२४ मा दुई पटक रुस गएका थिए । यता शुक्रबार भने अलास्कामा पुटिन र डोनाल्ड ट्रम्पबीच भेटवार्ता हुँदैछ ।