२ भदौ , काठमाण्डौ ।
आज दिउँसो लुम्बिनी र बागमती प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार लुम्बिनीको तराई र बागमतीको पहाडी भेगका एक÷दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ ।
यस्तै कोशी, बागमती, मधेश र लुम्बिनी प्रदेशको तराई र पहाडी भू–भागसँगै अरू ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यस्तै राति कोशी प्रदेशको तराई भू–भाग तथा बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक÷ दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।
अरू ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले मनसुनी वायुको प्रभाव कमजोर रहे पनि बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रिरहेको छ ।
गएराति पनि कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मध्यम वर्षा भएको थियो । काठमाण्डौ उपत्यकासहित देशका अरू ठाउँमा हल्का पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
गएराति घण्टामा बाजुरा, बझाङ र दार्चुलामा सबैभन्दा धेरै पानी परेको छ । यसबीच आज पनि देशका केही साना नदीमा पानीको बहाव उल्लेख्य बढ्ने अनुमान छ ।
ती नदीतटीय क्षेत्रमा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । आज दोलखा, सिन्धुपाल्चोक र रुकुम पश्चिममा आकस्मिक बाढीको ‘मध्यम’ जोखिमको ‘उच्च’ सम्भावना रहने पूर्वानुमान छ ।
यी जिल्ला भई बहने केही साना नदीमा बहाव उल्लेख्य बढ्ने महाशाखाको अनुमान छ ।इलाम, मोरङ, कास्की, लमजुङ र डडेलधुरा भई बहने केही साना नदीमा पनि बहाव बढ्ने महाशाखाको पूर्वानुमान छ ।
सोमबार बिहानको मापनमा कोसी, नारायणी, वाग्मती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरूको बहाव सतर्कता तहभन्दा तल छ ।कन्काई, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको जलसतह पनि सतर्कता तहभन्दा तल रहेको महाशाखाले जनाएको छ ।
यसैबीच काठमाडौँ जोड्ने छोटो दूरीको सडक भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली डाइभर्सन बनाएर सञ्चालनमा ल्याइएपनि मुख्य सडकमा खसेका पहिरो ४८ घण्टा बित्दा पनि हटाउन सकिएको छैन ।
शनिबार बिहान ९ बजे मकवानपुरको इन्द्रसरोवर गाउँपालिका– ३ ज्यामिरेमा खसेको सुक्खा पहिरोका कारण प्रदेश सरकारले निर्माण गरिरहेको सिस्नेरी सडक अवरुद्ध भएको थियो ।
त्यसको २४ घण्टापछि डाइभर्सन बनाएर सडक नियमित गरिएको थियो । तर आइतबार दिनभर ३ वटा मेशिन प्रयोग गरेर मुख्य सडक सञ्चालनमा ल्याउने कोसिस गरिए पनि आइतबार साँझ परेको पानीका कारण पुनः खसेको पहिरोले सडक सञ्चालनमा कठिनाइ भएको छ ।
पहिरो खसेर सडक अवरुद्ध भएको केही समयमा नै प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले जेसिबी, एक्स्काभेटर र लोडर प्रयोग गरेर सडक खुलाउन प्रयास भए पनि निरन्तर रूपमा पहिरो खसेकाले समस्या भएको हो ।
मन्त्रालयअन्तर्गतको प्रदेश राजधानी पूर्वाधार विशेष आयोजना हेटौँडामार्फत सडक खुलाउन मेसिनहरू प्रयोग गरिएको छ । आयोजनाले सोमबार साँझसम्म सडक सञ्चालनमा ल्याउने गरी पहिरो हटाउने काम गरिरहेको जनाइएको छ ।
यता वर्षाका कारण पहिरो जाँदा मदन भण्डारी राजमार्ग अन्तर्गत गुल्मीको तम्घास‐रिडी सडकखण्ड अवरुद्ध बनेको छ । उक्त सडक अन्तर्गत रेसुङ्गा नगरपालिका‐१३ स्थित भँगारी खोलामा सडकमा पहिरो खसेपछि आज बिहानदेखि उक्त सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
सदरमुकाम तम्घास नजिकै रहेको उक्त सडक खुलाउन अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोली परिचालन भइसकेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी गङ्गाबहादुर सारुले जानकारी दिए ।
रेसुङ्गा नगरपालिकाले सडकमा थुप्रिएको पहिरो हटाउनका लागि उपकरण पठाइसकेको नगर प्रमुख खिलध्वज पन्थीले बताए । सडक अवरुद्ध बनेपछि सदरमुकाम तम्घासबाट बाहिरिने र सदरमुकाम भित्रिने सवारी साधनहरूबिच बाटोमै रोकिएका छन् ।
अहिले अवरुद्ध सडक खुलाउने काम भइरहेको प्रहरीले जनाएको छ ।