१८ भदौ , काठमाण्डौ ।
एएफसी यू–२३ एसियन कप छनोटमा आज नेपालले घरेलु टिम ताजिकिस्तानविरुद्ध प्रतिस्पर्धा गर्दै छ । ताजिकिस्तानको सेन्ट्रल रिपब्लिकन रंगशालामा हुने खेल नेपाली समयअनुसार राति ९ः४५ बजेदेखि सुरु हुनेछ ।
प्रतियोगिताको समूह ‘के’मा रहेको नेपालको यो पहिलो खेल हो । नेपालको समूहमा ताजिकिस्तानसँगै सिरिया र फिलिपिन्स छन् । नवीन न्यौपानेको प्रशिक्षणमा रहेको नेपाली टिम आयुश घलानको कप्तानीमा मैदान उत्रिनेछ ।
आयुश सिनियर राष्ट्रिय टिमका नियमित सदस्यसमेत हुन् । प्रतियोगितामा समूहको शीर्ष स्थानमा रहने टोलीले आगामी वर्ष साउदी अरेबियामा हुने यू–२३ एसियन कपको सातौँ संस्करणमा स्थान बनाउनेछ ।
यस्तै, कुल ११ समूहबाट चार उत्कृष्ट उपविजेता टोलीले साउदी अरेबियाको टिकट काट्नेछन् । नेपालले भदौ २१ गते सिरिया र भदौ २४ गते फिलिपिन्ससँग खेल्नेछ । छनोट प्रतियोगितामा ४४ वटा टोलीलाई ११ समूहमा विभाजन छ ।
हरेक समूहमा चार टोलीले एक अर्कासँग खेल्नेछन् । आज राति ताजकिस्तानको सेन्ट्रल रिपब्लिकन स्टेडियममा नेपाली टोली खेल्ने मात्र होइन, नयाँ इतिहास लेख्ने लक्ष्यमा हुनेछन् । ‘हामी यहाँ हार्न आएका होइनौं, जित्न आएका हौं,’ मुख्य प्रशिक्षक नविन न्यौपानेले प्रि–म्याच कन्फ्रेन्समा दृढ स्वरमा भने ।
उनको यो वाक्य खेलाडीहरूका लागि मात्र होइन, टाढा नेपालमै बसिरहेका समर्थकहरूका लागि पनि आत्मविश्वास दिने सन्देश हो । कप्तान आयुष घलानले नेतृत्व गर्ने टोली अनुभव र युवा दुवैको मिश्रण हो।
राष्ट्रिय टोलीमा पहिले नै खेलिसकेका केही अनुहारहरूसँगै नयाँ पुस्ताका युवा खेलाडी पनि यही टोलीमा छन्, जसका लागि यो प्रतियोगिता आफ्नो पहिचान बनाउन सुनौलो अवसर हो । यो टोलीले अहिले सामना गर्ने सबैभन्दा ठूलो चुनौती प्रतिद्वन्द्वी होइन ।
आफ्नै मनमा घुम्ने प्रश्नमा हो । के हामी सक्छौं? प्रशिक्षक न्यौपाने भन्छन्,‘हामी ३ अंकका लागि आएका हौं। हो, हामी सक्छौं।’ दुई दशक अघिसम्म नेपालका फुटबल समर्थकले ‘एसियन कप’ भन्ने शब्दलाई टाढाको सपना ठान्थे । तर, अहिले नेपाली युवा टोली त्यही महादेशीय यात्राको ढोका ढकढक्याउँदै छ ।