२० भदौ , काठमाण्डौ ।
दिवा खाजामा छेपारो परेपछि महोत्तरीको एक विद्यालयका ७० भन्दा बढी बालबालिका अस्पताल भर्ना भएका छन् । पिपरा गाउँपालिका ६ रतौली स्थित आदर्श माध्यमिक विद्यालयका बालबालिकाको दिवाखाजामा छेपारो परेको हो । विद्यालय व्यवस्थापन समिति अध्यक्ष ओमप्रकाश महतोका अनुसार आज दिउँसो खाजामा एक बालकको प्लेटमा दिएको खाजामा छेपारो परेको थियो ।
ती बालकले छेपारो देखेपछि कसैलाई नभनी खाजा फालेर घर फर्केर अभिभावकलाई सुनाएका थिए । त्यसपछि अभिभावकले खाजामा छेपारो परेको भनेपछि केही बालबालिकाले वाकवाकी लागेको बताएका थिए । अभिभावक र विद्यालयले तत्कालै खाजा खाएका ६० बालबालिकालाई निगरानीका लागि प्रादेशिक अस्पताल जनकपुर ल्याएका छन् ।
व्यवस्थापन समिति अध्यक्ष महतोका अनुसार कसैलाई त्यस्तो समस्या छैन । तर पनि कुनै घटना नहोस् भनेर बालबालिकालाई अस्पताल ल्याइएको बताए । यता प्रादेशिक अस्पताल जनकपुरका आकस्मिक कक्ष इन्चार्ज शरद यादवले बालबालिकामा यस्तो कुनै समस्या नदेखिएको बताएका छन् ।
अभिभावकहरू चिन्तित भएर अस्पतालको निगरानीमा राखेको उनको भनाइ छ । आदर्श माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओमप्रकाश महतोकाअनुसार बिहीवार दिउँसो एक विद्यार्थीको प्लेटमा दिइएको खाजामा छेपारो देखिएपछि बालकले खाजा फालेर घर फर्केर अभिभावकलाई जानकारी गराएका थिए ।
यता पिपरा गाउँपालिकाका अध्यक्ष रामजानकी यादवले विद्यालयको दिवा खाजामा छेपारो कसरी पुग्यो यस विषयमा छानविन गरेर दोषीलाई कारबाहीसम्म गर्ने चेतावनी दिएका छन् । उपचारका लागि पुगेका सबै बालबालिकाको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । कतिपय बालबालिका उपचारपछि घर समेत फर्किसकेका छन् भने केही बालबालिकालाई अझै अस्पतालमा राखिएको छ