नेपाल भर्सेस बंगलादेशः २ वर्षपछि घरेलु मैदानमा खेल

नेपाल भर्सेस बंगलादेशः २ वर्षपछि घरेलु मैदानमा खेल

२१ भदौ , काठमाण्डौ ।

नेपाल र बंगलादेशबीच आज पहिलो मैत्रीपूर्ण खेल हुँदैछ । काठमाडौंस्थित दशरथ रंगशालामा हुने खेल साँझ ५ः३० बजेदेखि सुरु हुनेछ । फिफा विन्डोअन्तर्गत हुन लागेको दुई मैत्रीपूर्ण खेल दुवै टोलीको एएफसी एसियन कप छनोटको तयारीका लागि महत्वपूर्ण मानिएको छ ।

नेपालको सिनियर टोलीले करिब २ वर्षपछि घरेलु मैदानमा खेल खेल्न लागेको हो । कप्तान किरण चेम्जोङले घरेलु मैदानमा लामो समयपछि खेल्न उत्साहित रहेको र खेल पनि रोचक हुने अपेक्षा गरेको बताएका छन् । चेम्जोङले टोलीको तयारीको सकारात्मक मूल्यांकन गरे।

‘मैले अधिकांश प्रशिक्षणहरूमा भाग लिन सकिनँ, तर टोलीको तयारी राम्रो छ । म पनि खेलका लागि पूर्ण रूपमा तयार छु। घरेलु मैदानमा खेल्न पाउँदा उत्साहित छु र खेल रोचक हुने आशा छ,’ उनले भने । मुख्य प्रशिक्षक म्याट रसले जित निकाल्ने गरी खेल प्रस्तुत गर्ने बताएका छन् ।

उनले बंगलादेशको टोली राम्रो भएको र राम्रो प्रतिस्पर्धा हुने उल्लेख गरे । त्यस्तै बंगलादेशका प्रशिक्षक जेभियर क्याब्रेराले‌‌ नेपाल आउनुअघि राम्रो तयारी भएको बताउँदै यहाँ आएर खेल्न उत्साहित रहेको बताएका छन् । जेभियरले लेसेस्टर सिटीका अनुभवी खेलाडी हम्जा चौधरीको अनुपस्थितिको कारण पनि स्पष्ट पार्दै भने, ‘उनको दायाँ खुट्टामा समस्या छ, त्यसैले मैत्रीपूर्ण खेलमा रिस्क लिन चाहेनौं।’

कप्तान जमाल भुयाले पनि यो मैत्रीपूर्ण फुटबल खेलले एसियन कप छनोटको लागि राम्रो तयारी हुने बताए । दोस्रो मैत्रीपूर्ण खेल मंगलबार हुनेछ । दुई खेलपछि समग्र परिणामको आधारमा विजेता घोषणा गरिनेछ । दुवै खेलबाट स्पष्ट नतिजा नआए दोस्रो खेलपछि पेनाल्टी सुटआउटमार्फत विजेता टुंग्याइने एन्फाले जनाएको छ ।

विजेताले ट्रफी र पदक प्राप्त गर्नेछन् । प्रशिक्षक म्याट रसका अनुसार यो एक सामान्य मैत्रीपूर्ण खेल मात्रै होइन । यो त घरेलु टोलीका लागि आफ्नो तयारी र क्षमतालाई परीक्षण गर्ने सुनौलो अवसर हो ।

शुक्रबार आयोजित प्रि–म्याच प्रेस कन्फेरेन्समा उनले बंगलादेशको टोलीको क्षमताबारे सम्मान जनाउँदै भने, ‘हाम्रो तयारी राम्रो भएको छ। घरेलु दर्शकको अगाडि खेल्दा उत्कृष्ट प्रतिस्पर्धा हुनेछ र हामी जित्नेमा विश्वास पनि छ।’

रसका शब्दमा जित मात्र लक्ष्य होइन खेलाडीहरूको आत्मविश्वास र टोलीको सामूहिक तालमेल देखाउने यो खेल पनि महत्त्वपूर्ण छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.