२१ भदौ , काठमाण्डौ ।
कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राम राना सवार गाडीले ललितपुरमा एक बालिकलाई ठक्कर दिएको छ । एमालेबाट मन्त्री भएका उनी ललितपुरमा शुक्रबारदेखि सुरू भएको विधान महाधिवेशनमा सहभागी हुन आज बिहान गोदावरी जाँदै थिए ।
सोहीक्रममा उनी सवार गाडीले बालिकालाई ठक्कर दिएर घाइते बनाएको हो । तर ठक्कर दिएपछि रोकिनुको साटो मन्त्री सवार को १ झ ६९९ नम्बरको सरकारी गाडी हुँकिएपछि स्थानीय आक्रोशित भएका छन् । उनीहरुले हरिसिद्धि सडक अवरुद्ध पारे ।
हरिसिद्धि सडकको उकालोमा ११ वर्षीया बालिका उषा मगर सुनुवारलाई गाडीले ठक्कर दिएको हो । घाइते बालकलाई उपचारका लागि बी एण्ड बी अस्पताल लगिएको र उनको अवस्था सामान्य देखिएको प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनापछि स्थानीयले सडक जाम गराएका हुन् । जसका कारण एमालेको दोस्रो विधान अधिवेशन स्थल गोदावरी जाने मुख्य सडक अवरुद्ध भएको थियो, र अधिवेशन सुरु हुन पनि ढिलाइ भएको थियो । यता प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले भने यो दुर्घटनालाई देखाएर विधान महाधिवेशन भाड्ने काम गरिएको उल्टै आरोप लगाएका छन् ।
उनले मन्त्रीको गाडीले बालिकालाई ठक्कर दिएको विषयलाई राजनीतिकरण गर्न खोजिएको बताएका छन् । गोदावरीको सनराइज हलमा एमाले विधान महाधिवेशनको दोस्रो दिनको कार्यक्रममा सम्बोधन गर्दै ओलीले बालिकालाई गाडीले सामान्य ठक्कर मात्रै दिएको बताएका हुन् ।
त्यही कारण विधान अधिवेशनको दोस्रो दिनको कार्यक्रममा एक घन्टा ढिलाइ भएको पनि ओलीले बताए । ‘सामान्य रुपमा एक बच्चीलाई गाडीले छोयो । अस्पताल लगिसकियो । त्यस्तो कुनै नियत थिएन । पार्टीले बच्चीको सम्पूर्ण उपचार खर्च बेहोर्छ । घट्नाप्रति दुःख व्यक्त गर्दछु । कहिले–कहिले यस्ता अप्रिय घटना हुन्छन् । तर भइदियो । त्यही कारण कार्यक्रम समयमै सञ्चालन हुन बिलम्ब हुन गयो’, अध्यक्ष ओलीले भने ।
उनले बालिकाको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेका छन् । ‘भवितव्य घट्ना भएको। त्यस्तो क्षति पनि भएको छैन। यसमा हामी पनि दुःखी भएका छौं र बच्चीको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछौं’, अध्यक्ष ओलीले भनेका छन् ।
यता मन्त्री मगरले पनि घाइते बालिकाको अवस्था बुझ्न आफू अस्पताल आएको बताएका छन् । मन्त्री सवार गाडीलाई भने प्रहरीले गोदावरीबाट नियन्त्रणमा लिएको छ । आज बिहान ७ बजे ललितपुर महानगरपालिका–२८ स्थित हरिसिद्धी माध्यमिक विद्यालय अगाडिको मूल सडकमा प्रदेशका मन्त्री सवार गाडीले ११ वर्षीय बालिकालाई ठक्कर दिएको हो ।
जेब्रा क्रसिङमै बालिकालाई ठक्कर दिएको थियो । तर उक्त गाडीले बालिकालाई ठक्कर दिएपछि रोक्दै नरोकेकी हुँकिएको थियो, जसले स्थानीयलाई झनै आक्रोशित बनाइदियो । मन्त्री सवार गाडीले बालिकालाई ठक्कर दिएको सिसिटिभी फुटेजमा पनि कैद भएको छ ।
उक्त भिडिओ फुटेजमा बालिका जेब्रा क्रसिङको केही अगाडिबाट बाटो काट्नै लाग्दा गाडीले ठक्कर दिएको थियो । ठक्करबाट बालिका गाडीको छेवैमा पछारिएकी थिइन् । बालिका सडकमै लडे पनि सो गाडी भने रोक्दै नरोकी त्यहाँबाट अगाडि बढेको भिडिओ फुटेजमा देखिन्छ ।
गाडीको पछाडि आइरहेका मोटरसाइकलमा सवार एक महिलाले बालिकालाई सडकबाट उठाएको दृश्य भिडिओमा देखिएको छ । तर प्रधानमन्त्रीले भने यो दुर्घटना भवितव्य भएको र यसैलाई देखाएर महाधिवेशन भाँड्ने गरी कसैले राजनीति गर्न खोजेको समेत आरोप लगाउन भ्याएका छन् ।