२९ भदौ , काठमाण्डौ ।
पछिल्लो समय प्रविधिले विश्वमै चमत्कार गरिरहेको छ । अल्बानियाले विश्वमै पहिलो पटक आर्टिफिसियल इन्टेलिजेन्स (एआई) बोट ‘डिएला’लाई मन्त्री बनाएको छ । डिएलाको काम सरकारी खरिद प्रक्रियालाई व्यवस्थित गरी भ्रष्टाचार र घूसखोरी रोक्नु हो ।
विश्वभर एआईबाट कोडिङ लगायतका विभिन्न कामलाई स्वचालित बनाउने होडबाजी चलिरहेका बैला र यसबाट मानिसहरुको रोजगारीमा संकट समेत बढिरहेका बेला अल्बानियाले भने एआईलाई नै मन्त्री बनाएको छ ।
यसलाई यो मुलुकले भ्रष्टाचार अन्त्य गर्नका लागि एक नयाँ हतियारका रुपमा पेस गरेको हो । शुक्रबार अल्बानियाका प्रधानमन्त्री एडी रामाले आफ्नो मन्त्रिपरिषद्मा एकजना एआई मन्त्री नियुक्त गर्ने घोषणा गरे । उक्त भर्चुअल मन्त्रीको नाम डिएला हो ।
अल्बानियाली भाषामा यसको अर्थ सूर्य भन्ने हुन्छ । यसलाई एआई प्रविधिको क्षेत्रमा यस्तो खालको पहिलो प्रयोग भएको बताइएको छ । वास्तवमा एआई प्रविधिको क्षेत्रमा अल्बानियाले गरेको उक्त काम अहिलेसम्म अमेरिका र चीनजस्ता विकसित देशहरुले पनि गर्न सकेका छैनन् ।
डिएला विश्वकै पहिलो एआई मन्त्री हो जसलाई भ्रष्टाचार अन्त्य गर्ने जिम्मेवारी दिइँदैछ । प्रधानमन्त्री रामाका अनुसार डिएलाले सार्वजनिक कोष परियोजना तथा सरकारी टेण्डरहरुको टेण्डरहरुको निगरानी गर्नेछ ताकि भ्रष्टाचारलाई पूर्णरुपमा अन्त्य गर्न सकियोस् ।
प्रधानमन्त्री रामाले अब मुलुकमा सबै सार्वजनिक टेण्डरहरु शत प्रतिशत भ्रष्टाचारमुक्त हुने बताएका छन् । विश्वको पहिलो भर्चुअल मन्त्री डिएलालाई सन् २०२५ को सुरुमा ई अल्बानिया नामक सरकारी डिजिटल प्लाटफर्ममा लञ्च गरिएको थियो ।
त्यहाँ उसले भर्चुअल सहयोगीको रुपमा काम गर्दै आएको थियो र पारम्परिक अल्बानियम पोशाक लगाएर प्रयोगकर्ताहरुलाई वेबसाइट प्रयोग गर्नमा सहयोग गर्दथ्यो । प्रधानमन्त्री रामाले आफ्नो सत्ताधारी सोसलिस्ट पार्टीलाई बताए अनुसार अब सरकारी टेण्डरका विजेताको निर्णयको जिम्मेवारी मन्त्रीहरुको साटो डिएलाले गर्नेछ ।
अल्बानियामा सरकारी टेण्डरमा घोटालाको विषय लामो समयदेखि भ्रष्टाचारको अहम् मुद्दाको रुपमा रहेको छ । अब यस एआई सिस्टमले हरेक कम्पनीले सरकारी टेण्डरमा गर्ने बोलकबोलको समीक्षा गर्नेछ । जसका कारण टेण्डरमा हुने मानवीय दखल अन्त्य हुनुका साथै घुस, धम्की तथा पक्षपातजस्ता खतरा पनि समाप्त गर्नेछन् ।
सरकारी टेण्डरमा हुने भ्रष्टाचार अन्त्यको विषय सन् २०३० सम्ममा इयुमा सामेल हुने अल्बानियाको लक्ष्य पूरा गर्नका लागि महत्वपूर्ण छ । अल्बानियाली मिडियाले यस निर्णयलाई ठूलो परिवर्तनको रुपमा लिएका छन् जहाँ प्रविधि अब केवल सहायक टूल मात्र नभई शासनमा एक सक्रिय खेलाडि बनिसकेको छ ।
कानून विज्ञहरुका अनुसार अल्बानियाली भर्चुअल एआई मन्त्री डिएलाको आधिकारिकताको विषयमा भने अझैपनि थप काम गर्न आवश्यक छ । सन् १९९० मा कम्युनिष्ट शासन अन्त्य भएपछि अल्बानियामा भ्रष्टाचार एक गम्भीर समस्या बनेको छ ।
यस्तोमा एआई मन्त्री भ्रष्टाचार नियन्त्रणमा कत्तिको प्रभावकारी हुन्छ, त्यो हेर्न बाँकी छ । यद्यपि, प्रधानमन्त्री एडी रामाले डिएलालाई परिचय गराउँदै भने, ‘डिएलाले सरकारी टेन्डर व्यवस्थापन गर्नेछ र निजी कम्पनीहरूलाई परियोजना दिने निर्णय गर्नेछ।’
उनको दाबी छ, ‘डिएलालाई घूस, धम्की वा पक्षपातले प्रभावित गर्न सकिँदैन, जसले सरकारी टेन्डरलाई भ्रष्टाचारमुक्त बनाउनेछ।’ अल्बानिया लामो समयदेखि भ्रष्टाचार, विशेषगरी सरकारी टेन्डरमा अनियमितता र लागूऔषध तथा हतियार तस्करीसँग जुधिरहेको छ।
यसले युरोपेली संघमा प्रवेशलाई पनि कठिन बनाएको छ । डिएलालाई सन् २०३० सम्ममा युरोपेली संघको सदस्य बन्ने लक्ष्यमा सहयोग गर्न नियुक्त गरिएको हो । डिएला पहिलेदेखि नै ई–अल्बेनिया प्लेटफर्ममा भर्चुअल सहायकको रूपमा काम गरिरहेकी छन्,जहाँ उनले नागरिक र व्यवसायीलाई सरकारी कागजात प्राप्त गर्न सहयोग गर्छिन् ।
उनी परम्परागत अल्बेनियाली पोशाकमा देखिन्छिन् र आवाजमार्फत आदेश लिन्छिन् । तर, सरकारले डिएलाको निर्णयमा मानवीय निगरानी र ह्याकिङको जोखिमबारे स्पष्ट गरेको छैन। प्रविधिको यो प्रयोग जति नवीन छ, त्यति नै जोखिमपूर्ण पनि हुन सक्छ ।