सुमनाले त्यागिन् रास्वपा,सुशीलालाई सफल बनाउने,सबैलाई सोच्न अपिल

सुमनाले त्यागिन् रास्वपा,सुशीलालाई सफल बनाउने,सबैलाई सोच्न अपिल

२९ भदौ , काठमाण्डौ ।

जेनजी आन्दोलनको बलमा पहिलो नागरिक त्यो पनि देशकै पहिलो महिला प्रधानमन्त्री बनेकी सुशीला कार्कीलाई सफल बनाउन दिलोज्यान दिएर लाग्ने वचन दिएकी राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ सुमना श्रेष्ठले पार्टी परित्याग गरेकी छन् ।

उनले सामाजिक सञ्जालमार्फत् आफ्नो धारणा सार्वजनिक गर्दै पार्टी नेतृत्व रवि लामिछानेतर्फ लक्षित गर्दै पार्टीभित्र निरन्तर भइरहेका गल्ती, नेतामुखी प्रवृत्ति र आलोचकहरूविरुद्धको ‘मिडिया ट्रायल’को विरोधमा राजीनामा दिएको बताएकी छन्।

‘कहिल्यै गल्ती नस्वीकार्ने, गल्तीमाथि गल्ती गरिरहने र त्यसको बोझ पार्टीका सबैले बोक्नुपर्ने अवस्था स्वीकार्य छैन’, उनले भनेकी छन्, ‘पार्टीभित्र आलोचना गर्नेहरूविरुद्ध मिडिया ट्रायल चलाइयो। जबदेखि रास्वपाले देशभन्दा माथि पार्टी र पार्टीभन्दा माथि नेतालाई राख्न थाल्यो, त्यतिबेलादेखि नै म आलोचना गर्दै आएकी थिएँ तर त्यसले कुनै प्रभाव पारेन।“

उनले पार्टीलाई खुलेर आक्रमण गर्न चाहनेहरूलाई सहज बनाउन आफूले बाटो खुलाइदिएको समेत उल्लेख गरेकी छन् । ‘मनलाग्दी चलुन्जेल मनलाग्दी गर्नुहोस्। आई क्विट, मैले पार्टी छोडेँ,‘ उनले लेखेकी छन्। सुमनाले अन्य ठूला पार्टीका नेताहरूलाई समेत आफूलाई आत्ममन्थन गर्न आग्रह गरेकी छन्।

कांग्रेस, एमाले लगायतका दलका तेस्रो पुस्ताका नेताहरूलाई सम्बोधन गर्दै उनले भनेकी छन्, ‘आजको परिस्थिति आउन तपाईंहरूको नेतृत्वको व्यहोराले हो। आफ्ना नेताहरूलाई पूजा गर्न बन्द गर्नुहोस्। कि हटाउनुहोस्, कि हट्नुहोस्।‘ श्रेष्ठको पार्टी परित्यागसँगै रास्वपाभित्रको असन्तुष्टि छताछुल्ल भएको छ । उनले रविलाई नै लक्षित गर्दै लेखेकी छन्,

कहिलै गल्ति नस्विकार्ने । गल्तिमाथि गल्ति गरिरहने र त्यसको बोझ पार्टीका सबैले बोकिदिनु पर्ने ? पछिल्लो जेनजी आन्दोलनका क्रममा पार्टी सभापति रवि लामिछाने नख्खु कारागारबाट सचिवस्तरीय निर्णय भन्दै बाहिरिएपछि रास्वपामाथि नै प्रश्न उठिरहेको छ ।

रवि निस्किएको र उनले सार्वजनिक गरेको पत्रको वैधताबारे प्रश्न उठेपछि उपसभापति डीपी अर्यालले रविलाई बचाउँदै त्यसको जिम्मा आफूले लिएका थिए । नख्खुको सूचनापछि शनिवार नै रवि कारागार फर्किसकेका छन् । तर यसको असर पार्टीमा पहिरो जान थालेको छ ।

सुमनाको पार्टी परित्याग घोषणा गरेको स्टाटसमा भने रास्वपा समर्थित निलो क्रान्ति भन्ने पेजबाट आलोचना गरिएको छ । कमेन्टमा लेखिएको छ, ठिक लागेन छोड्नु भयो राम्रो । उहि पुराना दलका मान्छेकै पारामा दल छोडेपछि पार्टीलाइ गाली किन फेरि ? यो मनोबृत्ति फेरि पुराना कै लिने ?

तपाइ आफै संघर्ष गरेर नेता बनेको होइन – रबिले टिपेर टिका लगाइदिएर मात्र नेता बनेको हो र अहिले उनैलाइ गाली गर्न सक्ने अबस्थामा पुगिस्यो, होइन ?? “मलाइ नेता बनाइदिनु भएको धन्यबाद“ भनेर “अब म नयाँ बाटो लागें“ भने भएन ??

सुमना सुशीला प्रधानमन्त्री भएपछि सपथ समारोहस्थल शीतल निवासमै पुगेकी थिइन । निक्कै खुशी देखिएकी सुमनाले सुशीलालाई अंकमाल गर्दै बधाई र शुभकमाना दिएकी थिइन। त्यसलगत्तै उनी पनि मन्त्री बन्ने चर्चा चुलिएको थियो । तर उनले आफू मन्त्री नबन्ने बताएकी थिइन ।

पूर्वशिक्षामन्त्री समेत रहेकी श्रेष्ठले आफू नवगठित अन्तरिम मन्त्रिपरिषद्मा मन्त्री बन्न नजाने भन्दै सरकारलाई सफल बनाउने बताएकी थिइन । धेरै साथीहरूले मन्त्री बन्न लागेको हो भनी म्यासेज÷फोन गरेर सोधेको भन्दै उनले आफू सरकारमा सामेल नहुने बताएकी हुन् ।

‘म अन्तरिम मन्त्रिमण्डलमा जान लागेको हैन, मेरो यस सरकारप्रति पूर्ण समर्थन छ। यो सरकारलाई असफल हुने सहुलित छैन पृष्ठभूमिमा बसेर यो सरकारलाई सफल गराउन मेरो अनुभव, सञ्जाल र समय दिनेछु, तर कुनै मन्त्रीको पद भने लिने छैन’, उनले सामाजिक सञ्जालमार्फत उनले भनेकी छन् ।

‘हरेक आन्दोलनपछि जसको विरुद्ध आन्दोलन भएको हो, त्यही पुरानो शक्तिसँग लसपस हुँदा आन्दोलनको मर्म प्रदूषित भएको छ। यसपालिको आन्दोलनमा म त्यस्तो प्रदूषणको कारक बन्दिनँ, यसको उपलब्धि संस्थागत गर्न दिलोज्यान दिएर काम गर्छु।

सत्ता होइन, सेवा गर्ने! कुर्सी होइन, कर्म गर्ने! नाम होइन, काम गर्ने’, उनले थपेकी छन्। तर अब उनले पार्टी नै परित्याग गरेकाले उनी मन्त्री बन्न सक्ने चर्चा चुलिएको छ । यस्तै सुमनाको पार्टी परित्यागसँगै अन्य दुई नेताले पनि रास्वपा परित्याग गरेकी छन् ।

पनौती नगरपालिका रास्वपाका नगर सभापति र नेताले पार्टी छाडेको घोषणा गरेका छन् । रास्वपाका नगर सभापति विवेक भट्टराई र इन्चार्ज सुदर्शन तिमल्सिनाले पार्टीबाट राजीनामा दिएका छन् । उनीहरुमाथि भदौ २४ गते पनौतीमा तोडफोड र आगजनीमा सम्लग्न भएको आरोप लागेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.