१ असोज , काठमाण्डौ ।
जेन–जी आन्दोलनमा ज्यान गुमाउनेहरूको सम्मानमा आज सरकारले राष्ट्रिय शोक मनाएको छ । शोकदिवसका रुपमा आज सार्वजनिक विदा दिइएको हो भने राष्ट्रिय झण्डा आधा झुकाइएको छ। आन्दोलनका क्रममा भदौ २३ गते आन्दोलनकारीमाथि भएको गोली प्रहारबाट १९ जनाको मृत्यु भयो ।
घाइते भएकाहरूमध्ये पनि केहीको मृत्यु भएको छ भने कर्तव्य पालनकै क्रममा प्रहरीहरू पनि मारिएका छन् । निजी घर र व्यापारिक प्रतिष्ठानमा पनि आगजनीका कारण पनि केहीले ज्यान गुमाए । प्रदर्शन चर्किएको मौकामा भाग्ने क्रममा पाँच बालबन्दी र पाँच कैदीबन्दीले समेत त्यो दिन ज्यान गुमाए ।
अहिलेसम्म सार्वजनिक जानकारीअनुसार आन्दोलनका नाममा ७३ जनाको ज्यान गइसकेको छ । यो अत्यन्तै दुःखद र शोकदायी घटना हो । अझ आन्दोलनका क्रममा भएको दमन र हिंसामा परी ज्यान गुमाउनेहरूको परिवारका लागि त वज्रपात नै भएको छ ।
यस्तै, घाइते भएका सयौं जना अहिले पनि उपचाररत छन् । सरकारी दमनका साथै विध्वंसकारीको क्रूरताका कारण घाइते भएका सबैको शीघ्र स्वाथ्य लाभको कामना गर्दछौं । यसबीच घाइतेहरूको उपचार र ज्यान गुमाउनेहरूको परिवारलाई आर्थिक सहयोग गर्ने निर्णय पनि सरकारले गरेको छ ।
सरकारले जेनजी आन्दोलनका क्रममा मृत्यु भएकाका परिवारलाई प्रतिपरिवार १० लाख क्षतिपूर्ति र अन्य खर्चबापत ५ लाख दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को निर्णय अनुसार मृतकका परिवारले राहत लिनका लागि प्रक्रिया पु¥याउन पर्ने देखिएको छ ।
निर्णयमा लेखिएको छ, ‘सहिदको सूची प्रहरी प्रतिवेदन र सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट पुस्ट्याइँसहित यकिन गरी गृह मन्त्रालयले स्वीकृतिका लागि मन्त्रिपरिषद् बैठकमा पेस गर्ने ।’ यो निर्णयअनुसार क्षतिपूर्ति पाउन पहिला प्रहरीले आन्दोलनमा मृत्यु भएको हो कि होइन पुष्टि गर्नुपर्छ ।
प्रहरीले आन्दोलनमा मृत्यु भएको पुष्टि गरेपछि मृतक जुन जिल्लाको स्थायी बासिन्दा हो त्यो जिल्लाको प्रशासन कार्यालयले गृह मन्त्रालयमा लेखि पठाउँछ । मन्त्रालयले प्रहरी प्रतिवेदन र प्रशासन कार्यालयका पत्रका आधारमा टिप्पणी तयार गरी स्वीकृतिका लागि मन्त्रिपरिषद् बैठकमा पेस गर्छ ।
मन्त्रिपरिषद्ले निर्णय गरेपछि मात्रै मृतकका परिवारले घोषित रकम पाउँछन् । मन्त्रिपरिषद् बैठकले प्रदर्शनका क्रममा घाइते भएकाको निःशुल्क उपचार गर्ने पनि निर्णय गरेको छ । त्यस्तै काठमाडौँको उपयुक्त स्थानमा जेनजी जागरण स्मारक पार्क निर्माणको प्रक्रिया सहरी विकास मन्त्रालयले अगाडि बढाउने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ ।
यता अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले सरकार विस्तारका लागि गृहकार्य गरिरहेको बताएकी छन् । बीबीसी न्यूज नेपालीसँगको विशेष अन्तर्वार्ताका क्रममा उनले मन्त्रिपरिषद्मा कस्ता व्यक्ति ल्याउने भनेर गृहकार्य भइरहेको बताएकी हुन् ।
“हाम्रा केही साथीभाइहरू हुनुहुन्छ। हामीसँग सहकार्य गर्नेहरू। हामी उहाँहरूलाई सोधिरहेका छौँ, गृहकार्य गरिरहेका छौँ,“ उनले भनिन् । “राजनीतिमा गएको व्यक्ति रहेछ भने त्यस्तोलाई हटाएर गैरराजनीतिक बरू कुनै संस्थामा काम गरेको अथवा सचिवहरू, जनजाति, दलित, महिला र पिछडिएको वर्ग ल्याउने पक्षमा छौँ।“ उनले भनेकी छन् ।
यसअघि अर्थमन्त्रीमा रामेश्वर खनाल, उर्जा–भौतिक पूर्वाधार र सहरी विकासमा कुलमान घिसिङ र गृह र कानुनमन्त्रीमा ओमप्रकाश अर्याल नियुक्त भइसकेका छन् । यसबीचमा बाहिर र युवाहरुको समूहमा महानायक राजेश हमालदेखि, पारस खड्कासम्मका नामहरु चर्चामा रहेका छन् ।
यस्तै प्रधानमन्त्रीले आफू नेतृत्वको क्याविनेटमा आउनका लागि डा सन्दुक रुइतलाई प्रस्ताव गरेको र जेनजीका तर्फबाट पनि संविधानविद् भीमार्जुन आचार्यलाई प्रस्ताव गरिएकामा दुवै जनाले अस्वीकार गरेका छन् । रुइतले संचारमाध्यमलाई नै यसको जवाफ दिएका थिए भने आचार्यले सामाजिक संजालमा यसबारे लेखेका छन् ।
यता यसअघि मन्त्रिमण्डलका सम्बन्धमा राष्ट्रपति रामचन्द्र पौडेलले हरेक राजनीतिक दलबाट एक एकजना राखेर बृहत् चुनावी मन्त्रिमण्डल बनाउन आफूलाई सुझाव दिएको पनि प्रधानमन्त्री सुशीला कार्कीले जनाएकी छन् । तर आफूले त्यो अस्वीकार गरेको कार्कीले बताइन् ।
क्याविनेटमा दलका मानिस भए निर्वाचनमा उनीहरूले भजाउने काम गर्ने र हेलिकोप्टरजस्ता सुविधाको कुरा हुने भन्दै त्यसलाई आफूले अस्वीकार गरेको उनले भनेकी छन् । “फेरि मैले निर्वाचनमा नजाने मानिसलाई खोजेको हो। निर्वाचनमा जाने हो भने त निर्वाचनमा गइहाल्छन् अनि काम के हुनु?“ उनले भनिन् ।
चुनावपछि आउने सरकारमा जुन दलले नेतृत्व गरेको उही वा सरकारमा सहभागी दलका व्यक्तिहरू मन्त्रीमा आउँछन् । तर अहिलेको फरक परिवेशमा बनेको क्याविनेटमा व्यक्तिहरूको चयन कसरी भइरहेको छ भन्ने चासोको विषय बनेको छ ।
उनले विभिन्न विषयका विज्ञबारे छलफल भइरहेको र अबको १÷२ दिनभित्रै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी रहेको बताइन् । अहिले छलफलमा रहेका मानिसहरूको पृष्ठभूमिबारे बोल्दै उनले भनिन्, “कोही पीएचडी गरेका दलित समुदायका पनि हुनुहुन्छ । कोही सचिव पनि हुनुहुन्छ ।
कोही जनजातिमा अति ख्यातिप्राप्त पाइलटकै पनि कुरा आएको छ।“ त्यसरी छलफलमा आएका व्यक्तिले इच्छा देखाएर खुसीसाथ मद्दत गर्न आए आफ्नो मन्त्रिमण्डलमा समेट्ने उनले बताइन् ।
उनले आफूले चुनावका सबै कुरा कानुन र नियम अनुसार होस् र त्यसरी गरिएको चुनावबाट राम्रो सरकार र संसद् बनोस् भन्ने चाहेको बताइन् ।
यसरी बन्ने मन्त्रिपरिषद्को आकार १० देखि ११ सदस्यीय हुने उनले बताएकी छन् । यो सरकार जेन–जीहरूको बलिदानबाट बनेको हो । नवयुवाहरुको आत्मबलिदान पक्कै पनि नेपालको इतिहासमा स्वर्णाक्षरमा लेखिनेछ ।
त्यसैले उनीहरूको बलिदानको जगमा बनेको सरकारले देशलाई भ्रष्टाचार नियन्त्रण र सुशासनतर्फ अग्रसर गराउन सक्यो भने तिनको आत्मोत्सर्ग सार्थक पनि हुनेछ । नेपाली समाजमा सहिदहरूको पूजा त गर्ने तर तिनको भावनाको अवज्ञा गर्ने प्रवृत्ति व्याप्त छ ।
अब जेनजी आन्दोलनका सहिद यसको अपवाद बन्न सकुन् । अन्त्यमा एक पटक फेरी देश र जनताको अवस्था परिवर्तनका लागि आफ्नो ज्यानको आहुती दिएका नौजवान सहिदहरुप्रति हार्दिक श्रद्धसुमन र घाइतेहरुको शीघ्र स्वास्थलाभको कामना गर्दछौं ।
साथै सरकारले पनि उनीहरुलाई दिने भनिएको राहत छिटोछरितो, सहजरुपमा दिलाओस् । जेनजी आन्दोलनकै स्पिरिटमा सरकारले पाएका जिम्मेवारी समयमै पूरा गर्न सकोस र यसका लागि मन्त्रीपरिषद्मा बाँकी रहेका मन्त्रालयहरुमा पनि योग्य पात्रलाई ल्याओस । यसमा तपाइँका विचार अवस्य व्यक्त गर्नुहोला ।
ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।