हमासले सार्वजनिक गर्याे विपिनसहितको बन्धकहरूको तस्बिर

हमासले सार्वजनिक गर्याे विपिनसहितको बन्धकहरूको तस्बिर

५ असोज , काठमाण्डौ ।

इजरायलको भारी बमबारी खेपिरहेको प्यालेस्टाइनी सशस्त्र समूह हमासले गाजामा रहेका ४८ इजरेली बन्धकहरूको ‘बिदाइ तस्बिर’भन्दै एक पोस्टर सार्वजनिक गरेको छ । ४८ जनाको उक्त तस्बिरमा नेपालका विपिन जोशी समेत छन् । तस्बिरमा मैन बत्ती बालिएको छ ।

इजरायलले उक्त क्षेत्रलाई कब्जा गर्ने र ध्वस्त पार्ने काम जारी राख्दा बन्धकहरूको तस्बिर सार्वजनिक भएको हो । शनिवार सार्वजनिक तस्बिरमा जीवित र मृत दुवै बन्धकहरूको अनुहार देखाइएको जनाइएको छ ।

इजरायलले गाजा कब्जा गर्न अघि बढेपछि बन्धकहरूको बिदाइ तस्बिर भन्दै सार्वजनिक गरिएको हो । जसलाई रोन अराड भनेर शीर्षक दिइएको छ, जुन १९८६ मा लेबनानमा हराएका इस्रायली वायुसेनाका क्याप्टेनको सन्दर्भ हो ।

तर यसलाई इजरायलले ‘प्रपोगान्डा’ का रूपमा लिएको छ । दोहा मुख्यालय रहेको अलजजिरा अनलाइनका अनुसार हमासको ‘कसाम ब्रिगेड्स’ ले सार्वजनिक गरेको संकलित तस्बिरमा जीवित र मृत सबै बन्धकको अनुहार देखाइएको छ ।

प्रत्येकलाई १९८६ मा लेबनानमा हराएका इजरायली वायुसेनाका कप्तान ‘रोन अराड’ को नाम दिँदै फरक–फरक नम्बर दिइएको छ । तस्बिरमा मृत र जीवित छुट्याइएको छैन । विपिनसहित ४८ जना ७ अक्टोबर २०२३ देखि हमासको नियन्त्रणमा छन् ।

‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत कृषि सम्बन्धी अध्ययनका लागि इजरायल पुगेका विपिनलाई हमासले अलुमिम किबुजबाट बन्धक बनाएको थियो । हमासको आक्रमणमा परी १० नेपाली विद्यार्थी पनि मारिएका थिए ।

हमासले २ सय ५१ जनालाई बन्धक बनाएर लगेको थियो । पछिल्लो दुई वर्षमा भएको पटक–पटकको युद्धविराममा बन्धक र प्यालेस्टिनी कैदी साटिएको थियो । आठ बन्धकलाई इजरायली सैनिकले जीवितै उद्धार गरेका थिए ।

बाँकी ४८ जना विपिनसहित रहेका छन् । २०१४ मा मारिएका इजरायली सेनाको शव पनि हमासकै नियन्त्रणमा छ । इजरायलले गाजा क्षेत्रमा सैन्य आक्रमण तीव्र बनाइरहेका बेला ‘बन्धकको जीवन जोखिममा रहेको’ भन्दै हमासले ती तस्बिर सार्वजनिक गरेको हो ।

ठाउँ–ठाउँमा बन्धकलाई छरेर राखिएको जनाउँदै हमासले इजरायलको आक्रमणबाट बन्धकको जीवन खतरामा परेको र इजरायली बमले केही बन्धकको ज्यानसमेत गइसकेको दाबी गरेको छ ।इजरायलले आठ महिनाभित्र गाजा क्षेत्रलाई आफ्नो नियन्त्रणमा राख्ने भन्दै हवाई तथा स्थलगत सैन्य कारबाही तीव्र बनाएको छ ।

इजरायली सैनिकका अनुसार पछिल्लो २४ घण्टामा सयभन्दा बढी क्षेत्रमा भएको आक्रमणमा ३४ जना प्यालेस्टिनीको मृत्यु भएको छ । नेपालका लागि इजरायली राजदूत शमुलिक ऐर बासले हमासले ‘मनोवैज्ञानिक युद्ध खेलेको’ बताएका छन् ।

हमासले तस्बिर सार्वजनिक गरेको विषयलाई लिएर उनले भने, ‘मलाई लाग्छ, यो एक गलत बुझाइ हो । हमासले भनेको छ कि सैन्य कारबाहीका कारण सबै बन्धकको स्थान अज्ञात हुन सक्छ । वास्तवमा हमासले राम्रैसँग माइन्ड–वार खेलेको छ ।’

विपिनलाई सकुशल रिहाइ गर्न अघिल्लो महिना आमा पद्मा र बहिनी पुष्पा इजरायल पुगेका थिए । इजरायलको ‘होस्टेज स्क्वायर’ मा उनीहरुले हजारौंको भीडलाई सम्बोधन गर्दै विपिनको रिहाइका लागि आपिल गरेका थिए ।

इजरायलका नागरिकले पनि बन्धक छुटाउन इजरायल सरकारलाई दबाब दिँदै आइरहेका छन् । उनीहरूले ‘सबै बन्धकलाई घर फर्काउने विस्तृत सम्झौता गर्नुपर्ने र युद्धको अन्त्य हुनुपर्ने’ आवाज उठाइरहेका छन् ।

यता हमासले सार्वजनिक गरेको ‘बिदाइ सूची’ ले इजरायल र विश्वलाई हमासले विभिन्न सन्देश दिन खोजेको विश्लेषण गरिएको छ । हमासले गाजामा रहेका बन्धकहरूको ‘बिदाई सूची’सार्वजनिक गर्दा सन् १९८६ मा लेबनानमा हराएका इजरायली विमान चालक रोन अरादको नाम जोड्नुका पछाडि मनोवैज्ञानिक र राजनीतिक कारणहरू रहेका अन्तर्राष्ट्रिय सञ्चार संस्थाहरूले विश्लेषण गरेका छन् ।

यसलाई एउटा सांकेतिक चेतावनी र मानसिक दबाब बढाउने रणनीतिका रूपमा व्याख्या गरिएको छ । इजरायलमा हराएका वा दुश्मनको कब्जामा रहेका सैनिकलाई जसरी पनि फिर्ता ल्याउनुलाई ‘राष्ट्रिय कर्तव्य’मानिन्छ ।

रोन अरादको घटना इजरायलका लागि एउटा दुःखद र लामो समयदेखिको पीडादायी घाउ हो, किनभने उनको अवशेष कहिल्यै भेटिएन र उनको वास्तविक नियति अझै पनि अनिश्चित छ। हमासले बन्धकहरूलाई ‘रोन अराद’को उपनाम दिएर इजरायली सरकारलाई यो राष्ट्रिय कर्तव्य पूरा गर्नमा असफल हुन सक्ने चेतावनी दिएको छ ।

यसले इजरायली सरकार र जनतामाथि गम्भीर मनोवैज्ञानिक दबाब सिर्जना गर्छ । यदि इजरायलले आफ्नो सैन्य कारबाही रोकेन भने गाजामा रहेका बन्धकहरूको भविष्य पनि रोन अरादको जस्तै अन्धकार र अनिश्चित हुने चेतावनी हमासले दिएको हुनसक्छ ।

यसले बन्धकका परिवारहरूमा निराशा र डर फैलाएको छ र उनीहरूलाई सरकारविरुद्ध थप आक्रामक हुन प्रोत्साहित गर्छ । इजरायलयमा सरकारविरुद्ध प्रदर्शनको तयारी भइरहेको पृष्ठभूमिमा हमासले उक्त कदम चालेको हो ।

इजरायलभित्रै युद्ध रोक्न र वार्ताबाट बन्दीहरूको जीवन जोगाउन चौतर्फी दबाब बढिरहेको छ । हमासले प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र सैन्य प्रमुखहरूलाई लक्षित गर्दै उनीहरूको जिद्दी र सैन्य कारबाहीका कारण बन्धकहरूको जीवन जोखिममा परेको आरोप लगाएको छ ।

रोन अरादको नाम प्रयोग गरेर हमासले नेतान्याहूको सरकारलाई पनि सोही घटनामा जस्तै आफ्ना नागरिकलाई गुमाउने असफलताको बाटोमा रहेको देखाउन खोजेको छ । हमासले इजरायलको सबैभन्दा संवेदनशील राष्ट्रिय घाउमा नुन छर्कने प्रयास गरेको देखिन्छ ।

यसको मुख्य लक्ष्य भनेको गाजामा जारी सैन्य कारबाहीलाई रोक्न र बन्धकहरूलाई मुक्त गर्ने सम्झौताका लागि इजरायललाई झुकाउनु हो । यस सूचीमा नेपाली नागरिक विपिन जोशीको तस्वीर पनि समावेश गरेर हमासले उनको जीवन पनि गाजामा जारी युद्धका कारण जोखिममा रहेको सन्देश दिन खोजेको छ ।

यसले नेपाल सरकार र अन्तर्राष्ट्रिय समुदायलाई पनि उनको अवस्थाबारे चिन्ता व्यक्त गर्न र हमास तथा इजरायल दुवैमाथि दबाब बढाउन प्रेरित गरेको छ । लामो समयदेखि विपिनको अवस्था सार्वजनिक गर्न नेपालले बढाइरहेको दबाबले भने अझै काम गर्न सकेको छैन ।

गाजामा इजरायलले सैन्य कारबाही आक्रामक बनाइरहेको बेला हमासको यो कदमले विपिनको जीवन थप जोखिममा परेको छ । यता इजरायली सेनाले गाजा सिटीमा शक्तिशाली हमलाहरूलाई निरन्तरता दिएको छ ।

उक्त हमलामा परी एकैदिन कम्तीमा ९१ जनाको ज्यान गएको हमास सञ्चालित अस्पतालले जनाएको छ । अल जजिराका अनुसार, इजरायली सेनाले गत दुई सातामा गाजा सिटी क्षेत्रका करिब २० वटा टावर ब्लक भत्काएको अनुमान गरिएको छ ।

गाजा सिभिल डिफेन्सका अनुसार करिब ४.५ लाख मानिस, अर्थात् शहरी केन्द्रको करिब आधा जनसंख्या यसबीचमा त्यहाँबाट पलायन भइसकेका छन् । शनिबार संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले पनि इजरायलको धम्कीबाट विश्व समुदायलाई नआत्तिन आग्रह गरेका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.