१० असोज , काठमाण्डौ ।
भारत र पाकिस्तान एशिया कप इतिहासमा पहिलो पटक फाइनल खेल्ने भएका छन । यूएईमा चलिरहेको एसीसी टी– ट्वान्टी एशिया कपको सुपर ४ मा भारत र पाकिस्तान शीर्ष दुईमा रहँदै फाइनलमा पुगेका हुन् ।
हिजोको खेलमा पाकिस्तानले बङ्गलादेशलाई ११ रनले हराउँदै फाइनलमा पुगेको हो । भारतले यसअघि नै दुई जितका साथ फाइनलमा स्थान बनाईसकेको छ ।
एशिया कपका यसअघि १६ संस्करणको फाइनलमा भारत र पाकिस्तान खेलेका थिएनन् । भारतले आठ पटक एशिया कप उपाधि जितेको छ भने पाकिस्तानले दुई पटक एशिया कप उपाधि जितेको छ ।
अब आइतबार दुबई क्रिकेट रङ्गशालामा फाइनलमा भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ । केही महिनाअघि भारतको जम्मु कश्मिरको पहलगाममा भएको आक्रामणपछि यी दुई देशबीच तनाव भएको थियो ।
त्यसयता भारतीय खेलाडीले पाकिस्तानको टोलीसँग हात समेत मिलाएका छैनन् । यसअघिका खेललाई लिएर दुवै देशका तर्फ खेलाडीहरुविरुद्ध आईसीसीमा उजुरी समेत र्दिका छन् ।
त्यसैले पर्सि हुने फाइनल खेललाई निकै महत्त्वका साथ हेरिएको छ । ४१ वर्षअघि सुरु भएको एसिया कपको इतिहासमा पहिलोपटक भारत र पाकिस्तान फाइनल भिडन्तमा आमनेसामने हुने पक्का भएसंगै अब आइतबार क्रिकेट प्रेमीले ऐतिहासिक क्षणको अनुभव गर्ने भएका हुन् ।
एसिया कप सन् १९८४ मा सुरु भएको हो । भारतले अहिलेसम्म ८, श्रीलंकाले ६ र पाकिस्तानले २ पटक उपाधि जितेका छन्। तर, प्रतियोगिताको लामो इतिहासमा भारत र पाकिस्तानबीच फाइनल कहिल्यै भएको थिएन ।
यो संस्करणमा भने दुवै टोली अन्तिम चरणसम्म पुगेका छन् । अझ विशेष कुरा यसअघि समूह चरणमा भारतले पाकिस्तानलाई दुईपटक हराइसकेको छ ।
त्यसैले आइतबारको फाइनलमा पाकिस्तानका लागि चुनौती थप कठिन हुने अनुमान गरिएको छ । फाइनलमा भारत उक्त जितको उच्च मनोबलसहित उत्रिनेछ भने पाकिस्तान यसअघिका हारको बदला लिने मनसायका साथ उत्रिनेछ ।
यी दुई देशबीचको प्रतिस्पर्धा खेलका रुपमा मात्र नभइ खैल मैदानमा आक्रामक प्रतिस्पर्धा हुनेछ । यसअघिका दुई खेलमा पनि यी दुई देशबीचको खेलका क्रममा खेलाडीहरुबीच नै एक अर्काप्रति सांकेतिक प्रहार गर्ने काम भएको छ ।
भारतले हात नमिलाउँदा होस् या पाकिस्तानी ब्याटरले अर्धशतक लगाउँदा ‘गन पोजिसन’ सेलिब्रेसन गर्दा लगायतका क्रियाकलाप चर्चाका विषय बनिरहेका छन् ।
यस्तोमा यी दुई कट्टर प्रतिद्वन्द्वीबीचको उपाधि भीडन्त रोचक हुनेछ । यद्दपि पछिल्ला आधा दर्जन बढी ट्वान्टी–२० प्रतियोगितामा भारतले एकतर्फी बाजी मारेको छ ।
सोही कारण पनि भारतीय टिमको मनोबल उच्च रहेको छ । भारत र पाकिस्तानबीच अन्तर्राष्ट्रिय क्रिकेटमा यो फाइनल खेल १३ औं पटक हुँदैछ ।
यसअघि भएका १२ फाइनलमा ८ पटक पाकिस्तान र मात्र ४ पटक भारतले जित निकालेको थियो । २०१७ को आईसीसी च्याम्पियन्स फाइनलमा दुवै टिमले अन्तिमपटक उपाधिका लागि भिडेका थिए ।
उक्त प्रतियोगितामा पाकिस्तानले बाजी मारेको थियो । भारतलाई पाकिस्तानविरुद्ध कुनै पनि प्रणालीको उपाधि भिडन्तमा अन्तिम पटक सन् २००७ मा जित मिलेको थियो ।
एसिया कप सुरुवातदेखि नै विवादित बनेको छ । यसपालीको संस्करण पनि भारत–पाकिस्तान विवादकै कारण हाइब्रिड मोडलमा हुन गइरहेको छ ।
जहाँ भारत र पाकिस्तानका खेल यूएईमा हुनेछन् । अघिल्लो संस्करण पनि भारत पाकिस्तानमा जान नमानेपछि भारतले आफ्ना खेलहरु श्रीलंकामै खेलेको थियो ।
दोस्रो संस्करणबाटै विवाद भएको थियो । १९८६ मा भारत र श्रीलंका क्रिकेट बोर्डको सम्बन्धमा कुरा नमिल्दा आउँदा प्रतियोगिता श्रीलंकामा भए पनि भारतले उक्त संस्करण बहिस्कार ग¥यो ।
यस्तै सन् १९९० मा भारत–पाकिस्तानबीच सम्बन्ध बिग्रिँदा त्यसको असर एसिया कपमा पनि प¥यो । आयोजक भारत थियो तर पाकिस्तानले बहिस्कार गरेको थियो ।
पाकिस्तान आयोजक रहेको खण्डमा भारतले सुरक्षाको कारण देखाउँदै पाकिस्तान जान मानिरहेको छैन । पहलगाम आक्रमणपछि त भारतीय खेलाडीले पाकिस्तानसँग कुनै पनि प्रतियोगिता नखेल्ने अडान लिएका थिए ।
सोही कारण लेजेन्ड्स च्याम्पियनसिपको सेमिफाइल खेल नै भारतीय टिमले पाकिस्तानविरुद्ध बहिस्कार ग¥यो । उक्त प्रतियोगिता फाइनलमा पाकिस्तानलाई हराउँदै दक्षिण अफ्रिकी टिमले जितेको थियो ।