देउवा दम्पतीलाई राहदानी कसले दियो ? छानबिन सुरु

देउवा दम्पतीलाई राहदानी कसले दियो ? छानबिन सुरु

११ असोज , काठमाण्डौ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी श्रीमती डा. आरजु राणा देउवाले हालै बनाएको राहदानी विषयमा परराष्ट्र मन्त्रालयले आन्तरिक छानबिन सुरु गरेको छ ।

देउवा दम्पतीले असोज ३ गते राहदानी विभागबाट राहदानी बनाएको समाचार सार्वजनिक भएपछि मन्त्रालयले सो विषयमा सोधपुछ र छानबिन थालेको हो ।

परराष्ट्र मन्त्रालयका एक अधिकारीका अनुसार आवश्यकता अनुसार जुनसुकैले राहदानी बनाउन पाउने भए पनि बिदाको दिन राहदानी बनेको घटना गम्भीर भएको बताइएको छ ।

“अस्वस्थ्य वा हिँडडुल गर्न असमर्थ व्यक्तिका लागि विशेष व्यवस्था गर्न सकिन्छ, तर असोज ३ गते बिदाको दिन राहदानी बनेको प्रकरण शङ्कास्पद देखिएकाले छानबिन भइरहेको छ,” ती अधिकारीले भनेका छन् ।

भदौ २४ गते जेनजी आन्दोलनका क्रममा कुटपिटबाट घाइते भएका देउवा दम्पती उपचारका लागि सैनिक अस्पतालमा भर्ना भएका थिए सोही क्रममा विभागका कर्मचारीमार्फत राहदानी बनेको कुरा सार्वजनिक भएपछि थप प्रश्न उठेको हो ।

देउवा दम्पती उपचारका लागि थाइल्यान्ड जाने तयारीमा रहेका थिए । उपचारका लागि ब्याङ्कक जानेगरी थाइल्यान्डको भिसा समेत लगाइसकेको तथ्य सार्वजनिक भइसकेको छ ।

तर राहदानी प्रकरण बाहिरिएपछि उक्त कार्यक्रम स्थगित भएको बताइएको छ । यस विषयमा गृहमन्त्री ओमप्रकाश अर्यालले समेत चासो व्यक्त गर्दै छानबिन गर्न निर्देशन दिइसकेको परराष्ट्र मन्त्रालयका अधिकारले जानकारी दिएका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.