पुनको चेतावनीः भोलीसम्म शिक्षकको तलब नदिए प्रअलाई कारबाही

पुनको चेतावनीः भोलीसम्म शिक्षकको तलब नदिए प्रअलाई कारबाही

११ असोज , काठमाण्डौ ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले आइतबार (असोज १२ गते) सम्म शिक्षकहरूलाई तलब नदिने विद्यालयका प्रधानाध्यापकलाई कारबाही गर्ने चेतावनी दिएका छन् ।

मन्त्री पुनले शनिबार बिहान सामाजिक सञ्जालमा लेख्दै दसैँ–तिहारका बेला तलब निकासा नभएको भन्दै शिक्षकहरूबाट व्यापक गुनासो आइरहेकाले आइतबारसम्म उपलब्ध गराउन निर्देशन दिएका हुन् ।

शिक्षा मन्त्रालयबाट तलब पहिले नै विद्यालयहरूमा पठासकेको जानकारी दिँदै आइतबारसम्म शिक्षकहरूलाई पारिश्रमिक उपलब्ध नगराए सम्बन्धित प्रधानाध्यापकलाई नियमानुसार कारबाही गरिने मन्त्री पुनले बताएका छन् ।

उनले भनेका छन्, ‘तलब नख्वाउने प्रअहरूलाई सूचना– दसैँ–तिहारको अवसरमा विद्यालय व्यवस्थापन समितिले र प्रधानाध्यापकले तलब निकासा गरिदिएन भनेर धेरै गुनासो आएको छ । शिक्षा मन्त्रालयबाट तलब पहिले नै विद्यालयहरूमा पठाइसकेको छ । भोलि सम्ममा कुनै नाजायज र अन्यायपूर्ण तरिकाले तलब नपाएको शिक्षकहरूको तलब निकास नगरेमा त्यस्ता विद्यालयका प्रधानाध्यापकलाई नियमानुसार कारबाही गरिनेछ।’ साथै मन्त्री पुनले स्थानीय पालिकाहरूलाई पनि तलब नरोक्न आग्रह गरेका छन् । ’शिक्षा मन्त्रालयबाट तलब पहिले नै हरेक पालिकामा पठाईसकेको छ । भोलिसम्ममा कुनै नाजायज र अन्यायपूर्ण तरिकाले तलब नपाएको शिक्षकहरूको तलब निकास नगरेमा त्यसता पालिकालाई नियमानुसार कारबाही गरिनेछ’ उनले भनेका छन् ।

यसअघि विहीबार शिक्षामन्त्री महावीर पुनले सीटीईभीटीमा पनि विद्यार्थीको गुनासो सुन्ने शाखा स्थापना गर्न निर्देशन दिएका छन्। शिक्षामन्त्री सीटीईभीटीका अध्यक्षसमेत हुन् ।

बिहीबार बैठक राखी उनले चार बुँदामा निर्देशन दिएका छन् । मन्त्री पुनले सीटीईभीटी कार्यालयमा विद्यार्थी, अभिभावक र शिक्षकहरुको गुनासो सुन्ने र प्राप्त गुनासोको अभिलेखीकरण, सम्बोधन गर्ने शाखा तुरुन्त बनाउने र सञ्चालनमा ल्याउने निर्देशन दिएका हुन् ।

त्यस्तै २०६९ सालदेखि अहिलेसम्म सीटीईभीटीबाट प्राविधिक शिक्षालय सञ्चालन गर्न सम्बन्धनका लागि प्राप्त भएका आवेदनहरु छानबिन गर्न उनले भनेका छन् ।

छानबिन गरी असोज मसान्तभित्र प्रतिवेदन पेस गर्न र सम्बन्धन दिनेरनदिने निर्णय गर्न उनले सीटीईभीटीलाई ताकेता गरेका हुन्।

उनले दिएका निर्देशनहरुमा मौजुदा पाठ्यक्रमलाई सुधार गरि नवप्रवर्तनलाई समावेश गर्न खाका तयार गरी असोज मसान्त भित्र पेश गर्ने ।

एकीकृत क्यालेन्डर बनाउने र परीक्षाको परीक्षाफल ३ महिना भित्र अनिवार्य रुपमा प्रकाशन गर्ने व्यवस्था गर्ने । सीसीटीभी कार्यालयमा विद्यार्थी, अविभावक र शिक्षकहरूको गुनासो सुन्ने र प्राप्त गुनासो को अभिलेखिकरणर सम्वोधन गर्ने शाखा तुरुन्त बनाउने र सञ्चालनमा ल्याउने ।

२०६९ साल देखि अहिलेसम्म सम्बन्धनको लागि प्राप्त भएका सम्पूर्ण आवेदनहरु छानविन गरि असोज मसान्त भित्र रिपोर्ट पेश गर्ने र सम्बन्धन दिने नदिने निर्णय तुरुन्त गर्ने ।

शिक्षामन्त्री नियुक्त भएपछि यसअघि उनले ३ बुँदे निर्देशन दिएका थिए । सामुदायिक विद्यालयमा कम्प्युटर शिक्षकको व्यवस्था गर्नुपर्ने, त्रिभुवन विश्वविद्यालयको झाडी फडानी गरी बगैंचा बनाउनुपर्ने निर्देशनमा उल्लेख थियो ।

शुक्रबार भने शिक्षामन्त्री पुनले युवाहरुलाई सम्बोधन गर्दै आगामी चुनावमा सहभागी भएर नयाँ राजनीतिक कोर्स सुरु गर्न सुझाव पनि दिएका थिए ।

उनले पुराना नेताहरू नफालेसम्म ठुलो परिवर्तन सम्भव नरहेको बताएका छन् । सामाजिक सञ्जालमार्फत उनले आगामी निर्वाचनबाट स्वच्छ युवा नेताहरुको अत्यधिक बहुमतको सरकार बनाउन आग्रह गरेका छन् ।

उनले लेखेका छन्– ’कुहिएका नेताहरू फालेर स्वच्छ युवा नेताहरूको अत्यधिक बहुमतको सरकार नबनाए सम्म ठुलो परिवर्तन सम्भव छैन ।’

योग्य, नैतिकवान् र दृढ सङ्कल्प भएको युवा जन प्रतिनिधिहरू छान्न कत्ति पनि झैझगडा नगरीकन सङ्गठित रूपमा चुनावमा भाग लिने तयारीमा लाग्न पनि उनले आह्वान गरेका छन् ।

उनी भन्छन– ’भ्रष्टाचारलाई सकेसम्म कम गरेर सारा जनतालाई सुशासन दिने सरकार बनोस्, नेपाल आर्थिक रूपमा सम्पन्न बनोस्, विदेशीहरूले चलखेल गर्न नपाउन् र प्रत्यक्ष राष्ट्रपति चुन्ने व्यवस्था आवस भन्ने सपना देख्नु भएका सम्पूर्ण नेपालीहरूले योग्य, नैतिकवान् र दृढ सङ्कल्प भएको युवा जन प्रतिनिधिहरू छान्न कत्ति पनि झैझगडा नगरीकन सङ्गठित रूपमा चुनावमा भाग लिने तयारीमा तुरुन्त लाग्नु होस् भन्ने आह्वान गर्दछु।’

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.