टी–२० विश्वकप छनोटका लागि १५ सदस्यीय टोली घोषणा

टी–२० विश्वकप छनोटका लागि १५ सदस्यीय टोली घोषणा

१७ असोज , काठमाण्डौ ।

ओमानमा हुने टी–२० विश्वकप छनोटका लागि नेपाली क्रिकेटको अन्तिम टोली घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय अन्तिम टोली घोषणा गरेको हो ।

यूएईमा भएको वेस्ट इन्डिजसँगको तीन खेलको टी–२० सिरिजमा अनुशासनको कारबाही भोगेका सन्दीप लामिछाने पनि अन्तिम टोलीमा समेटिएका छन् ।

टोलीका मुख्य प्रशिक्षक स्टुआर्ट लले यसअघि वेस्ट इन्डिजसँगको सिरिजमा रहेका साहब आलमलाई बाहिर राख्दै १५ सदस्यीय अन्तिम टोली घोषणा गरेका हुन् ।

छनोट खेल्न नेपाली टोली ओमान पुगिसकेको छ । विश्वकप छनोट अक्टोबर ८ मा सुरु हुँदै छ । नेपाली टोलीमा कप्तान पौडेलसहित, उपकप्तान दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, आशिफ शेख, कुशल भुर्तेल, सोमपाल कामी, करण केसी, कुशल मल्ल, नन्दन यादव, मोहम्मद आदिल आलम, सन्दीप जोरा, आरिफ शेख, ललित राजवंशी, गुल्सन झा र लोकेश बम रहेका छन् ।

उता नामिबिया र जिम्बाबे टी–ट्वान्टी विश्वकप २०२६ का लागि छनौट भएका छन् । अफ्रिकन क्वालिफायरको सेमिफाइनलमा नामिबियाले तान्जानियालाई र जिम्बाबेले केन्यालाई हराउँदै नामिबिया र जिम्बाबे टी–ट्वान्टी विश्वकप २०२६ मा स्थान बनाएका हुन् ।

टी–ट्वान्टी विश्वकप आउँदो वर्ष फेब्रुअरी र मार्चमा भारत र श्रीलंकाको संयुक्त आयोजनामा हुनेछ । टी–ट्वान्टी बिश्वकपमा २० टोली रहनेछन् ।

आयोजक भारत र श्रीलंका सहित आठ टोलीले सिधै प्रवेश पाएका छन् । इटाली, नेदरल्याड्स र क्यानडाले क्वालिफायरबाटै प्रवेश पाएका छन् ।

अब एसिया र पूर्वी एसिया प्रशान्त क्वालिफायरबाट बाँकी तीन टोली छनौट हुनेछन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.