साइबर ब्युरोमा महेश बस्नेत, लिइयो बयान

साइबर ब्युरोमा महेश बस्नेत, लिइयो बयान

२२ असोज , काठमाण्डौ ।

साइबर क्राइमको आरोप लागेका एमाले नेता महेश बस्नेत प्रहरीको साइबर ब्युरो पुगेका छन् । जहाँ उनको बयान लिइएको छ । एक महिलाले दिएको जाहेरीका आधारमा उनीसँग बयान लिइएको प्रहरी अधिकारीले बताएका छन् ।

यसअघि प्रहरीले जाहेरी रीतपूर्वक नआएको भन्दै लिन मानेको थिएन । तर सरकारी वकिलको कार्यालयले अनुसन्धान गर्न पठाएपछि अनुसन्धान प्रक्रिया अघि बढेको हो।

अनुसन्धान अधिकृतहरूले बोलाएपछि बस्नेत आज बिहान १० बजे नै भोटाहिटीस्थित ब्युरोमा पुगेका थिए ।  बस्नेतविरुद्ध शोभा पाठकले उजुरी दिएकी थिइन् । जसका लागि आज बस्नेतले साइबर ब्युरोमा उपस्थित भएर बयान कागज गरेका हुन् ।

उनले आफूमाथि लागेको आरोपको सन्दर्भमा बयान कागज गराएर फर्किएको ब्युरोका एसपी दीपकराज अवस्थीले जानकारी दिए ।  यसअघि प्रहरीले जिल्ला अदालत काठमाडौंमा बस्नेतविरूद्ध पक्राउ पुर्जीसमेत माग गरेको थियो ।

तर अदालतले पुर्जी दिन अस्वीकार गरेको हो । पुर्जी दिन नमानेसँगै कागज गरिएको हो । कुनै पनि आरोपित वा प्रतिवादीको बयान सरकारी वकिलको कार्यालयमा हुन्छ। बयान सरकारी वकिलको रोहबरमा लिने गरिन्छ ।

बयान कागज भने प्रहरीले आफ्नै कार्यालयमा लिन्छ । शोभा पाठकले आफूमाथि सामाजिक सञ्जालमार्फत चरित्र हत्या गरेको आरोप लगाएकी थिइन् भने सुरूमा ब्युरोमा जाहेरी दिएकी थिइन् ।

त्यहाँ जाहेरी दर्ता नभएपछि हुलाकमार्फत सरकारी वकिलको कार्यालय काठमाडौंमा पठाइएको थियो । जिल्ला सरकारी वकिलको कार्यालयले साइबर ब्युरोलाई असोज ५ गते पत्राचार गरेको थियो ।

उक्त पत्रमा महेश बस्नेत फ्यान क्लब कसको नाममा खोलिएको छ, त्यसमा थप अनुसन्धान गरी राय पेस गर्न भनिएको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.