ओलीको अहंकार अहिले पनि महाराजाकै शैलीमा

ओलीको अहंकार अहिले पनि महाराजाकै शैलीमा

२२ असोज , काठमाण्डौ ।

सायदै यस अघिका कुनै पनि प्रधानमन्त्रीहरू बालुवाटार स्थित प्रधानमन्त्री निवासबाट ज्यान जोगाउनका लागि सेनाको हेलिकप्टर चढेर भागेको इतिहास थिएन होला । तर झन्डै दुई तिहाइ नजिकको समर्थन त्यसमा पनि देशमा प्रमुख दुई ठुला पार्टीहरूको गठबन्धनको सरकारका प्रधानमन्त्री केपी शर्मा ओली जेनजी पुस्ताले सुरु गरेको आन्दोलनको २८ घण्टा भित्र पदबाट राजीनामा मात्र दिन बाध्य भएनन् ज्यान जोगाउनका लागि सेनाको हेलिकप्टर मगाएर भाग्नु नै प¥यो ।

यसका कारणहरू धेरै भए पनि तत्कालीन प्रधानमन्त्री ओलीको अहङ्कार र छुद्र बोलीले आगोमा घ्यु थप्ने काम ग¥यो । जसका कारण जनताले लामो समय सम्म धेरै ठुलो बलिदानी गरेर ल्याएको गणतन्त्र माथि नै प्रश्न चिन्ह लाग्न पुग्यो । संविधान कोमामा गयो । प्रतिनिधि सभा विगठन भयो ।

नेपालको इतिहास बोकेको सिंहदरबार जल्यो । ७६ जना देशका कर्णधार युवाहरूको ज्यान गयो । अहिले पनि अस्पतालमा ३० जना युवाहरू उपचार गराइ रहेका छन्। तर जसका कारण यस्तो अवस्था आयो उनीहरू नै आफूलाई अलिकति भए पनि सुधार सम्म गर्न तयार देखिएका छैनन् ।

सोमबार नेकपा एमालेको सचिवालय बैठक डाकिएको थियो । बैठकमा पार्टीका अध्यक्ष केपी शर्मा ओली एउटा विशेष कुर्सीमा विराजमान छन् । उनको अनुहारमा सत्ता गएको अनि त्यतिका युवाहरूको ज्यान गएको र पार्टी नै बदनाम भएकोमा कुनै पछुतो वा गल्ति देखिदैन् ।

राजा महाराजा बस्ने खालको कुर्सीमा राजा महाराजाकै झल्को दिने गरी बिचमा बसेर अरूलाई वारी परि राखेका छन् । बाहिर सामाजिक सञ्जालमा तिनै ओलीलाई पक्राउ गर्न माग गर्दै पोस्टहरू हजारौँले गरी रहेका छन् । तर उनी यति हुँदा सम्म पार्टी अध्यक्ष छोड्न तयार देखिँदैनन् ।

केही समय अघि ओली विनाको एमाले हुनै नसक्ने दाबी गर्ने ओली यति बेला पनि पुरानै बोलीमा अडिक देखिएका छन् । देशका प्रमुख तिन दल काँग्रेस, एमाले र माओवादी पार्टीका प्रमुखहरूको पार्टी भित्र यती न दबदबा छ उनीहरूविरुद्ध कसैले मुख खोल्न पनि सक्दैनन् ।

काँग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको जसले विरोध ग¥यो उसको राजनीतिक क्यारियर त्यसै समयबाट यी नेताहरूले सकी दिन्छन् ।

त्यसैको डरमा उनीहरूका अगाडी सत्य कुरा समेत अन्य नेताहरूले भन्न सक्ने अवस्था छैन । देशले जेनजी आन्दोलन सँगै अहङ्कारले भरिएका नेताहरूबाट मुक्ति पाएको छ । तर यो देशका प्रमुख राजनीतिक दलहरूले भने मुक्ति पाउने छाँट नै देखिएको छैन ।

यसको ज्वालान्त उदाहरण सोमबारको एमालेको सचिवालय बैठकलाई पनि लिन सकिन्छ । सचिवालय बैठकमा कुनै पनि पदाधिकारीले ओलीलाई राजीनामा दिन औपचारिक आग्रह गर्ने हिम्मत समेत गर्न सकेनन् ।

आन्दोलन लगत्तै उपाध्यक्ष सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली, सचिव योगेश भट्टराई, गोकर्ण विष्टलगायतले पार्टी पुनर्गठन र ओलीको बहिर्गमनको माग गरेका थिए । तर बैठकमा सबैका मुख बन्द भए ।

सचिव योगेश भट्टराई पार्टी पुनर्गठनको विकल्प नभएको बैठक बाट बाहिर आएर सञ्चारकर्मीहरू सँग बताउँछन् । भट्टराईले मिडियाकर्मी सँग भने, ‘कार्यवाहक दिएर महाधिवेशनमा जाँदा स्वयं अध्यक्षज्यूका लागि पनि हितकर हुन्छ । बेलैमा नसोच्ने र पुनर्गठनमा नलाग्ने हो भने पार्टीले झन् ठुलो क्षति व्यहोर्नुपर्छ ।’

तर यही बोली उनी ओलीका अगाडी बोल्न सक्दैनन् । एमालेको विधान महाधिवेशन सम्पन्न भइसकेकाले अब जतिसक्दो चाँडो ११ औँ महाधिवेशन हुनु पर्ने हो । एमाले स्रोतका अनुसार चाँडोमा मङ्सिर देखि ढिलोमा फागुनभित्र महाधिवेशन आयोजना हुनेछ ।

केही पदाधिकारीसहितका नेताहरू भने महाधिवेशनअघि नै अध्यक्ष ओलीले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई कार्यवाहक दिएर पार्टीमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको प्रक्रिया थाल्न पार्टी र अध्यक्ष ओली स्वयंलाई फाइदा हुने र बाहिर पनि राम्रो सन्देश जाने कुरा बाहिर बाहिर भन्दै आएका छन् ।

तर आधिकारीक बैठकमा कसैले यो कुरा उठाउने हिम्मत समेत गरेका छैनन् । आफूलाई नेतृत्व छाड्न परेका दबाब निस्तेज पार्न ओलीले देशभरका जिल्ला तहका नेता कार्यकर्तासँग समेत संवादलाई तीव्रता दिईरहेका छन् ।

गुण्डुस्थित निवासमा केन्द्रदेखि जिल्लासम्मका नेताहरूको आवागमन बाक्लिएको छ । दसैँभरि पनि ओलीले टीकाटालोकै क्रममा नेता कार्यकर्ताको समर्थन खोजेको बुझ्न सकिन्छ ।

एमालेमा ओलीकै नेतृत्व कि हस्तान्तरण वा पुस्तान्तरण भन्ने तीनखाले विचार प्रकट भएका छन् । कोर टिमका नेताहरू ओलीबाहेक अरूले नेतृत्व गर्न नसक्ने भन्दै ओलीलाई उक्साइ रहेका छन् ।

दोस्रो तहका नेताहरू हस्तान्तरणको पक्षमा छन् । त्यसो हुँदा ईश्वर पोखरेल, विद्या भण्डारी, विष्णु पौडेल सुरेन्द्र पाण्डेलगायतका नेताहरूमा प्रतिस्पर्धाबाट नेतृत्व जाने तर्क उनीहरूको छ । तेस्रो पुस्ताका नेताहरू भने पुस्तारणको पक्षमा छन् ।

पुस्तान्तरण हुँदा अहिलेका पदाधिकारीमध्ये वा त्यो भन्दा तल जानुपर्ने विचार पनि बलियो भन्दै गएको छ । नेपालको राजनीतिक इतिहासमा राजा महाराजको सत्ता टुट्यो, तर महाराजाधिराज प्रवृत्ति कहिल्यै हराएन।

आज पनि एमालेमा मात्र होइन लोकतान्त्रिक दलका नाममा चलिरहेका ठुला राजनीतिक शक्तिहरू नेपाली काँग्रेस र माओवादी केन्द्र भित्र पनि ‘राजाको’ स्थानमा तिनका शीर्ष नेताहरू विराजमान छन्।

उनीहरूका सामु सत्य बोल्ने साहस कसैमा छैन, आलोचना गर्ने हिम्मत राख्नेहरूलाई राजनीतिक जीवनमै समाप्त पार्ने धम्की झल्किन्छ।केही वर्षअघि यी दलहरूलाई सत्ता, शक्ति र सङ्गठनको चरम दम्भले छोएको थियो। पार्टीभित्र असहमतिको ठाउँ छैन, प्रश्न गर्नेको ठाउँ छैन।

सभापति वा अध्यक्षको अनुहार हेरेर निर्णय हुने, नीतिभन्दा व्यक्तिको भक्तिमा दलको दिशा निर्धारण हुने अवस्था थियो। यही प्रवृत्तिले जेनजी पुस्तालाई सडकमा ल्यायो ।
जेनजी आन्दोलन केवल नयाँ पुस्ताको विद्रोह होइन, यो चेतनाको जागरण हो—पुराना नेताहरूको राजत्वविरुद्धको हो ।

यो आन्दोलनले मुलुकका सत्ताधारी दललाई सडकमा ल्यायो, सरकारलाई पनि झकझक्यायो। तर विडम्बना, पुराना दलका नेताहरूले अझै पनि आफ्ना दरबारीया बानी त्याग्न सकेका छैनन्। उनीहरू आज पनि आलोचना सुन्न तयार छैनन्, आफ्ना वरिपरिका भक्तहरु अझै पनि कालोलाई सेतो भन्न व्यस्त छन्।

ओलीलाई अहिले पनि सिङ्गो पार्टी आफ्नो नेतृत्वविना असाय हुने भ्रम छ। तर इतिहासले प्रमाणित गरिसकेको छ—कोही पनि पार्टीभन्दा ठूलो हुँदैन। जसरी राजा महाराजहरूको युग समाप्त भयो, त्यसरी नै दलभित्रका ‘राजा’हरूको युग पनि अन्त्य हुनपर्छ।

लोकतान्त्रिक दलभित्र लोकतन्त्रको अभ्यास नभएसम्म देशमा स्थायी राजनीतिक स्थायित्व सम्भव छैन। एमालेका अध्यक्ष ओली, काँग्रेसका शेरबहादुर देउवा र माओवादीका पुष्पकमल दाहाल ‘प्रचण्ड’—यी तिनै नेताहरूले अब आफूहरु ‘राजा’ होइनम भन्ने सत्य बुझ्न जरुरी छ।

यही राय ३० प्रबुद्ध नागरिक अगुवाहरुले समेत दिइसकेका छन् । उनीहरुले विज्ञप्ति मार्फत नै तीन नेतालाई नेतृत्वबाट अवकाशमा जान सुझाएका छन् । कहिले कहाँ कुर्सीमा बस्दा भन्दा नबस्दा पूजनीय होइन्छ भन्ने कुरा बुझ्न सक्नु पर्छ । अबको युग भनेको राजा महाराजा बन्नेहरूको हैन सडकमा प्रश्न उठाउने युवा पुस्ताहरूको हो ।

पुराना नेताहरूले त्यो पुस्ताको आवाज सुन्न सके भने पार्टीहरू पुनर्जागृत हुनेछन् नत्र, जेनजी आन्दोलनको अर्को लहर उनीहरूका राजनीतिक स्मारकमा शिलालेख कोरेर जानेछ, जहाँ लेखिएका हुनेछन् “यी दलहरू आफ्नै अहङ्कारले समाप्त भए।”

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.