२३ असोज , काठमाण्डौ ।
आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटमा नेपालले शानदार विजयी सुरुवात गरेको छ । ओमानमा बुधबार राति सम्पन्न आफ्नो पहिलो खेलमा नेपालले कुवेतलाई ५८ रनले हराएको हो ।
नेपालले दिएको १४२ रनको लक्ष्य पछ्याएको कुवेत १८.१ ओभरमा ८३ रनमा अलआउट भयो । नेपाली बलर चम्किदा कुबेती ब्याटर निरीह सावित भएका थिए । कुवेतका लागि क्लिन्टो अन्टोले सर्वाधिक २६ रन बनाए भने यासिन पटेलले १९ रन बनाए ।
नेपालका लागि ललित राजवंशीले ४ ओभरमा १७ रन दिएर २ विकेट लिए । सन्दीप लामिछानेले ४ ओभरमा २२ रन दिएर २ विकेट लिए । कप्तान रोहित पौडेलले २ ओभरमा ७ रन दिएर २ विकेट लिए ।
कुशल भुर्तेल, सोमपाल कामी र नन्दन यादवले १–१ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ओपनिङ ब्याटर कुशल भुर्तेलको अर्धशतक मद्दतमा २० ओभरमा ७ विकेट गुमाएर १४१ रन बनाएर कुवेतलाई १४२ रनको लक्ष्य दिएको थियो ।
भुर्तेलले ५६ बलमा ३ चौका र ३ छक्कासहित ६६ रन बनाए । दीपेन्द्रसिंह ऐरी २० रनमा रनआउट भए । गुल्शन झाले ६ बलमा २० रनको क्यामिओ पारी खेले । उनले १९औं ओभरको अन्तिम ३ बलमा लगातार शानदार रुपमा ३ छक्का प्रहार गरेर नेपालको स्कोर माथि उठाएका थिए ।
कुवेतका लागि अनुदीप चेन्थामाराले ४ ओभरमा २२ रन दिएर २ विकेट लिए । नवीन राजले ४ ओभरमा ४० रन दिएर २ विकेट लिए । मोहम्मद असलम र अकिफ फारुकले १–१ विकेट लिए । नेपालका कुशल भुर्तेल म्यन अफ द म्याच घिसित भए ।
यो जितसँगै नेपाल सुपर सिक्समा पुग्ने पक्का भएको छ । अब नेपालले समूह चरणको अर्को खेलमा शुक्रबार जापानसँग खेल्नेछ । आइसीसी वरीयतामा जापान नेपाल भन्दा कमजोर राष्ट्र हो । नेपाल र कुवेतसहित समूह ‘बी’ मा जापान रहेको छ ।
समूहका शीर्ष दुई टोली सुपर सिक्समा पुग्ने छन् । सुपर–सिक्समा ६ टोलीमध्ये शीर्ष तीनमा पर्ने टोलीले आउँदो वर्ष भारत र श्रीलङ्कामा हुने टी–२० विश्वकप खेल्न पाउनेछन् ।सुपर सिक्सका दुबै प्रमुख टोलीलाई यस खेलको नतिजा निकै महत्वपूर्ण हुनेछ ।
छनोटको नियम अनुसार समूहमा आफूले हराएको टोली सुपर सिक्समा पुग्दा सुपर सिक्समा दुई अंक मिल्नेछ । हालसम्म विश्वकपमा पुगेका देशहरुमा आयोजकका तर्फबाट भारत र श्रीलंका यस्तै अफगानिस्तान, पाकिस्तान, बंगलादेश, इंग्ल्यान्ड, दक्षिण अफ्रिका, अष्ट्रेलिया, वेष्टइण्डिज,आयरल्यान्ड, जिम्बावे, नामिबिया, अमेरिका, क्यानडा, नेदरल्यान्ड्स, इटाली जुन पहिलो पटक विश्वकपमा पुगेको हो र न्युजिल्यान्ड रहेका छन् ।
आइसिसी टि ट्वान्टी वरीयताको १८ औं स्थानमा रहेको नेपाल सन २०१४ र २०२४ गरी दुई पटक विश्वकप सहभागी भइसकेको छ भने अब तेस्रो पटक सहभागी हुने लक्ष्यमा छ ।
यस पटकदेखि एसिया र इस्ट एसिया प्यासिफिक क्षेत्रलाई एउटै बनाइएको हो । जसले गर्दा जापान, सामोआ र पपुवा न्युगिनी एसिया क्षेत्रकै टोलीसँग खेल्न आइपुगेका हुन् । नेपाललाई प्रतियोगिताको दाबेदारमा हेरिएको छ ।