२३ असोज , काठमाण्डौ ।
देश यति बेला राजनीतिकको नयाँ मोडमा उभिएको छ । जेनजी विद्रोहले केही सफलता नपाएको हैन । तर सरकारदेखि धेरै कुरा अस्थायी छन् । छोटो समय धेरै कुरा गर्नु छ जुन सम्भव छैन ।
त्यसैले देशमा स्थायी शान्ति दिगो विकास अनि भ्रष्टाचार मुक्त समाज निर्माण गर्ने हो भने जेनजी सरकारले तोकेको फागुन २१ गते निर्वाचनबाट मात्र सम्भव छ । त्यसका लागि देशमा नयाँ शक्तिको आवश्यक हुन्छ ।
अहिले सम्म हेर्दा पुराना दलहरूमा धेरै परिवर्तन आइ हाल्ला अनि जेनजीको भावना अनुसार दलहरू अघि बढ्लान् भन्ने आशा गर्ने ठाउँ छैन । त्यसैले नयाँ दल, नयाँ र युवा नेताहरू फागुन २१ गतेको निर्वाचनबाट आउन आवश्यक छ ।
त्यसका लागि जनतामा आशाका रूपमा देखिएका काठमाण्डौंका मेयर बालेन शाह, धरानका मेयर हर्क साम्पाङ र रास्वपा सभापति रवि लामिछाने एकै स्थानमा उभिनु पार्ने माग उठ्न थालेको छ ।
के अब रवि लामिछाने, बालेन शाह, हर्कलगायत नयाँ अनुहारहरू एकै ठाउँमा उभिन सम्भव छ ? यो आजको धेरैका मनमा उठी रहेको प्रश्न हो । जसरी पुराना राजनीतिक दलहरूप्रति देखिएको वितृष्णाकै कारण पार्टी घोषणा भएको केही समयमै लामिछाने नेतृत्वको रास्वपाले नागरिकको मन जित्दै चौथो राजनीतिक शक्तिको रूपमा उदायो ।
रास्वपा एकछत्र राज गरिरहेका रैथाने दलहरूलाई पाखा लगाउन सफल भयो । अब नयाँ परिस्थितिमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह, हर्क साम्पाङ पनि एकै ठाउँमा उभिन आवश्यक छ ।
एउटा वर्ग जो भर्खरै उदाएका शक्तिलाई एकै स्थानमा देख्न चाहन्छ । तर, ती नेतृत्वबिचको दुरी भने झनझन बढ्दो छ । बालेन शाह र हर्क साम्पाङ्बीच पछिल्लो समय झनै सम्बन्ध टाढिएको छ ।
रवि लामिछानेप्रति बालेन शाह सकारात्मक छैनन् । सिंहदरबारदेखि अदालतसम्म पौठेजोरी खेल्दै आफ्नो हक्कीपन देखाएका तीनै बालेन शाह रवि लामिछानेलाई सामाजिक सञ्जालबाटै व्यङ्ग्य प्रहार गरिरहेका हुन्छन् ।
हर्क र बालेनको त झनै सामाजिक सञ्जालमा दोहोरी नै चल्छ । पुराना राजनीतिक दलहरूप्रति जनता निराश भइसकेका छन् । दशकौँदेखि सत्ता र स्वार्थको खेलमा डुबिरहेका दल र तिनका नेताहरूले देशलाई स्थायित्व, सुशासन र विकासको बाटोमा अघि बढाउन सकेनन् ।
त्यसैले जनताले विकल्प खोज्न थालेका हुन् । यही असन्तुष्टिको पहिलो स्पष्ट अभिव्यक्ति २०७९ सालको स्थानीय र सङ्घीय निर्वाचनमा देखा प¥यो । पुराना दलका उम्मेदवारलाई पाखा लगाउँदै जनताले स्वतन्त्र उम्मेदवारका रूपमा रास्वपा, बालेन र हर्क साम्पाङलाई रोजे ।
ती तीनै नाम त्यस बेला नयाँ सोच, स्वच्छ छवि र विद्रोही राजनीतिक चेतनाका प्रतीक बने । भदौ २३ र २४ गतेको जेनजी विद्रोह ले यस धारालाई झन् बलियो बनायो । सडकमा उत्रिएका युवा पुस्ताले स्पष्ट सन्देश दिएका छन् “अब पुरानो राजनीति होइन, नयाँ सोच, नयाँ नेतृत्व चाहिन्छ ।”
जनताले यथास्थितिवादी दलहरूलाई अस्वीकार गरेर आफूले नै बाटो खोल्ने घोषणा गरिसकेका छन् । अहिले जेनजीहरूको समर्थनमा बनेको अस्थायी सरकार यही परिवर्तनको उपज हो ।
यति बेला जेनजी सरकारले घोषणा गरेको नयाँ प्रतिनिधि सभा निर्वाचन (फागुन २१) लाई देशले निर्णायक मोडका रूपमा हेरेको छ । यसबिच राजनीतिक परिदृश्य तीव्र रूपमा बदलिँदै छ ।
रवि लामिछानेले नयाँ दल खोलेर विगतको निर्वाचनमा अपेक्षा भन्दा बढी मत प्राप्त गरिसकेका छन् । हर्क साम्पाङले श्रम संस्कृति दल खोलेका छन् । बालेन शाह पनि नयाँ पार्टी दर्ता गर्ने तयारीमा छन् ।
त्यसमाथि, लोकप्रिय प्रशासकका रूपमा स्थापित कुलमान घिसिङले समेत राजनीतिक सङ्गठनको सम्भावना खोजिरहेका छन् भन्ने चर्चा चल्न थालेको छ । तर जनताले केही आशा गरिएका यी अनुहारहरु एउटै डालोमा नआएसम्म राज्यको ढिकुटीमा वर्षाैदेखि रजगज गरिरहेका पूराना दलहरुलाई पाखा लगाउन कठिन छ।
झन अहिलेको निर्वाचन प्रणालीको लाभ त झन वडास्तरसम्म जरा गाडेका पूराना राजनीतिक दलहरुले नै उठाउनेछन् । यसका कारणपनि साच्चै परिवर्तन नै गर्नेहो भने रवि, बालेन र हर्कहरु एककठाउँमा आउनुको विकल्प छैन् ।
जनताले धेरै आशा गरेका छन्, तर अब उनीहरू एउटै प्लेटफर्ममा उभिन सक्लान् कि सक्दैनन् भन्ने ठूलो प्रश्न खडा भएको छ । बालेन र हर्कबीच पछिल्ला दिनमा देखा परेको तिक्तता, रवि र बालेनबीचको मतभेदको चर्चा, र नेताहरूको आ–आफ्नो व्यक्तिगत लोकप्रियता—यी सबै कुरा एकता निर्माणमा चुनौती देखिएका छन् ।
यथार्थ के हो भने।रबी, बालेन र हर्क अलग–अलग पृष्ठभूमिबाट आएका, अलग–अलग सोचका व्यक्ति हुन् । तर उनीहरूका मुद्दा साझा छन् । तीनै जना युवा नेताले पुरानो राजनीतिक दल र संस्कृतिप्रति कडा रूपमा कटाक्ष व्यक्त गर्छन् ।
राजनीति सेवा, जबाफदेहिता र पारदर्शिताको कुरामा तिनै जना एक ठाउँमा छन् । अनि जेनजी पुस्ताको विश्वास तिनै तीन जना नेतामा देखिन्छ । यी साझा बिन्दु नै एकताको आधार बन्न सक्छन् ।
यदि तिनले व्यक्तिगत महत्त्वाकाङ्क्षा भन्दा देशको आवश्यकता ठूलो ठाने भने नयाँ, शक्तिशाली, बिचारवान् राजनीतिक शक्ति जन्मन सक्छ । रविको जनसमम्पर्कता र सङ्गठन क्षमता, बालेनको नीतिगत दृष्टि र नेतृत्व क्षमता, भूईमान्छे हर्कको जनसरोकारप्रतिको संवेदनशीलता र यी सबै गुण एउटै पार्टीभित्र समाहित हुन सके भने देशको राजनीतिक नक्सा नै पल्टिन सक्छ ।
अनि देखिनेछ सुशासन र समृद्धिको यात्रा । जेनजी आन्दोलनले यही एकताको अपेक्षा गरेको छ । तर यसका लागि तिनै नेताले केही त्याग गर्नुपर्नेछ । व्यक्तिगत छवि भन्दा साझा दृष्टिकोण, लोकप्रियता भन्दा संस्थागत शक्ति र भावनात्मक प्रतिक्रिया भन्दा दीर्घकालीन राष्ट्रिय परियोजना रोज्नुपर्नेछ ।
इतिहासमा यस्ता मोडहरू धेरै आएका छन् जहाँ व्यक्तिगत ‘इगो’ ले सामूहिक आन्दोलनलाई कमजोर बनाएको छ । यदि अहिले पनि त्यो दोहोरियो भने, जनताले दिएको अवसर फेरि हराउनेछ ।
नेपालको राजनीतिक सङ्क्रमण लामो भइसकेको छ । पुरानो पुस्ताको नेतृत्वमा अब नयाँ युग सम्भव छैन । त्यसैले रवि, बालेन र हर्कले यदि साँच्चिकै देश बदल्ने सपना बोकेका हुन् भने, तिनले एउटै बाटो रोज्नुपर्छ ।
रवि, बालेन र हर्क यदि एउटै पार्टीमा उभिए भने त्यो केवल राजनीतिक एकता होइन, नयाँ नेपाल निर्माणको घोषणापत्र हुनेछ । तर यदि तिनले छुट्टाछुट्टै बाटो रोजे भने, इतिहासले तिनलाई ‘अवसर गुमाएका परिवर्तनका पात्र’ का रूपमा सम्झिनेछ ।
अब वैकल्पिक विचारधारा बोक्ने पार्टी र नेताहरू एकताको सुत्रमा बाँधिने या पुरानै दलको छहारीमा बस्ने ? यसको यकिन हुन आवश्यक छ । यदि फेरी पनि व्यक्तिगत इगोका भरमा तिन युवा अघि बढे भने मूलधारका दलहरू काँग्रेस, एमाले र माओवादीकै हालीमुहाली फेरी पनि जारी रहनेछ। अनि नेपाली जनताले खोजेको सुशासन र समृद्धि सपनामै सिमित बन्ने छ ।