३ कार्तिक , काठमाण्डौ ।
हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा एउटा दुर्लभ विमान दुर्घटना भएको छ । जहाँ एक कार्गो विमान रनवेबाट चिप्लिएर समुद्रमा खसेको छ । र यो दुर्घटनामा परी दुई जनाको मृत्यु समेत भएको छ ।
तर मृत्यु हुनेमा चालक वा विमानमा सवार नभई दुवै जना ‘ग्राउन्ड स्टाफ’ अर्थात जमिनमा काम गर्ने कर्मचारी रहेका छन् । विमान उनीहरू चढेको गाडीमा ठोक्किँदा समुद्रमा खसेको थियो ।
विमान पनि चिप्लिएर समुद्रमा खसेको हो । विमानमा सवार चालक दलका चार सदस्यहरूको भने जीवितै उद्धार गरिएको छ । उनीहरूलाई अस्पताल लगिएको छ । स्थानीय समयानुसार सोमबार बिहान ३ बजेर ४० मिनेट जाँदा दुर्घटना भएको बताइएको छ ।
एमिरेट्सको फ्लाइट ईके ९७८८ दुबईबाट हङकङ जाँदै थियो । विमान टर्कीको कार्गो एयरलाइन एयर एसीटीको बोइङ ७४७–४८१ विमान हो ।नागरिक उड्डयन विभागका अनुसार दुर्घटनापछि विमानस्थलको जमिनमा कार्यरत दुई जना कर्मचारी समुद्रमा खसेका थिए ।
उनीहरूको उद्धार गरिए पनि पछि अस्पतालमा मृत्यु भएको सार्वजनिक प्रसारण संस्था आरटीएचके लगायत स्थानीय सञ्चार माध्यमले प्रहरीलाई उद्धृत गर्दै जनाएका छन् ।
दुर्घटनापछि प्रभावित उत्तरी धावनमार्ग बन्द गरिएको छ, तर विमानस्थलका अन्य दुई धावनमार्ग भने सञ्चालनमा रहेका छन् । राम्रो सुरक्षा रेकर्ड रहेको यस विमानस्थलमा यस्तो दुर्घटना बिरलै हुने गरेको छ ।
जहाज दुई टुक्रा भएको र एउटा भाग पानीमा तैरिरहेको अवस्थामा भेटिएको छ । विमानस्थलमा आज कम्तिमा ११ वटा कार्गो जहाज अवतरण गर्ने तालिका रहेकामा सबै रद्द गरिएका विमानस्थलको वेबसाइटमा उल्लेख छ ।
दुर्घटनापछि गरिएको पत्रकार सम्मेलनमा एउटा गस्तीमा खटिने कारलाई उक्त कार्गो विमानले धकेलेर समुद्रमा पु¥याएको र त्यस क्रममा ३० र ४१ वर्षका दुई जनाको मृत्यु भएको जानकारी गराइएको छ ।
उक्त विमान अवतरण गर्ने क्रममा धावनमार्गबाट बाहिर गएको थियो र बारमा दुर्घटनाग्रस्त भएपछि रनवे बाहिर रहेको गस्तीमा संलग्न कारसँग ठोक्किएको थियो । अवतरण गर्नुअघि उक्त विमानले कुनै खतराको सङ्केत दिएको थिएन ।
अनुसन्धानकर्ताहरूले समुद्रबाट उक्त विमानको ब्ल्याक बक्स खोजी गर्ने प्रयास गरिरहेका छन् । दुर्घटना भएको समयमा उक्त धावनमार्गको अवस्था सुरक्षित रहेको भनिएको छ ।
तर उक्त कार्गो विमान दुर्घटनाभएसँगै उत्तरमा अवस्थित उक्त धावनमार्ग बन्द गरिएको छ र सुरक्षा मूल्याङ्कनपछि मात्रै त्यसलाई खुल्ला गरिने भनिएको छ । विमानस्थलका अधिकारीहरूले समुद्रबाट दुर्घटनाग्रस्त विमानको भागहरू हटाउने विषयमा वायुसेवा कम्पनीसँग छलफल गरिरहेको उल्लेख गरेका छन् ।
अधिकारीहरूले वायुसेवा कम्पनीका प्रतिनिधिहरू हङकङ आउने क्रममा रहेको र उनीहरू आउने बित्तिकै त्यसबारे छलफल हुने उल्लेख गरेका छन् । टर्कीको मालबाहक एअरलाइन एअर एटीसीको स्वामित्वमा रहेको उक्त ७४७–४८१ जहाजले पहिले यात्रु बोक्ने गथ्र्यो तर पछि त्यसलाई मालबाहक बनाइएको थियो ।
उक्त विमान ३० वर्षभन्दा पनि पुरानो भएको र सन् १९९३ मा पहिलो पटक उडान गरेको विमानसम्बन्धी बेवसाइट ’एअरफ्लिट्स’ले जनाएको छ । इमिरेट्सले दुर्घटना हुँदाको समयमा जहाजमा कुनै मालसामान नभएको जनाएको छ ।
विमानस्थलमा व्यस्तता बढ्ने समयमा यो दुर्घटना भएको थियो । प्रहरीले यो मामिलामा फौजदारी अनुसन्धानको सम्भावना अन्त्य नभइसकेको उल्लेख गरेको छ ।