ट्रम्प–जेलेन्स्कीबीच फेरि ह्वाइटहाउसमा कटुतापूर्ण वार्ता

ट्रम्प–जेलेन्स्कीबीच फेरि ह्वाइटहाउसमा कटुतापूर्ण वार्ता

४ कार्तिक , काठमाण्डौ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका युक्रेनी समकक्षी भोलोदिमिर जेलेन्स्कीबीच शुक्रबार पनि ह्वाइट हाउसमा भएको बैठक कटुतापूर्ण बनेको खुलेको छ । युरोपेली अधिकारीहरूले दिएको जानकारीअनुसार, अमेरिकी नेताले युद्ध अन्त्य गर्नका लागि युक्रेनले रुसलाई अहिले रुसको कब्जामा रहेको सबै भूभाग सधैँका लागि छोड्नु पर्नेमा जोड दिएपछि विवाद उत्पन्न भएको सीएनएनले बताएको छ ।

ती अधिकारीहरूका अनुसार जेलेन्स्की निराश बने र बारम्बार आवाज उठाए । यो घटना दुई नेताबीचको तिक्त सम्बन्धको पछिल्लो अध्याय थियो । र, युद्ध समाधानका लागि ट्रम्पको दृष्टिकोणमा आएको अर्को परिवर्तन पनि थियो ।

गत महिना न्युयोर्कमा जेलेन्स्कीसँग भेट गरेपछि ट्रम्पले युक्रेनले रुसले कब्जा गरेको आफ्नो सबै भूभाग फिर्ता लिनसक्ने दाबी गरेका थिए । तर, अहिले ट्रम्प रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग हंगेरीको बुडापेस्टमा अर्को उच्च जोखिमपूर्ण बैठकको तयारी गरिरहेका छन् ।

जेलेन्स्कीसँगको भेटको अघिल्लो दिन पुटिनसँगको कुराकानीपछि ट्रम्पले द्वन्द्व अन्त्य गर्नका लागि किभले ठूलो मात्रामा भूमि त्याग्नुपर्ने फेरि जोड दिएको बताइएको छ । सोमबार ट्रम्पले यो उलटफेरलाई बेवास्ता गरे ।

अस्ट्रेलियाका प्रधानमन्त्रीलाई ह्वाइट हाउसमा भेट्ने क्रममा उनले युक्रेनको प्रसंगमा भने, “मैले उनीहरूले जित्नेछन् भनेको थिइनँ । मैले उनीहरूले जित्न सक्छन् मात्र भनेको थिएँ । जे पनि हुनसक्छ । तपाईंलाई थाहा छ, युद्ध धेरै अनौठो कुरा हो । धेरै नराम्रा र धेरै राम्रा पनि हुन्छन् ।”

उनले आफूलाई अझै पनि युक्रेनले जित्नसक्ने विश्वास भए पनि उनीहरूले जित्छन् नै भन्नेमा विश्वस्त नरहेको बताए । युरोपेली अधिकारीहरूका अनुसार, जेलेन्स्की बैठकबाट बाहिरिएपछि युरोपेली नेताहरूलाई ब्रिफिङ दिएका थिए, जसमा उनले ट्रम्पको अडानबारे निराशा व्यक्त गरे ।

युक्रेनी स्रोतले ह्वाइट हाउसको बैठकलाई तनावपूर्ण भने पनि चर्काचर्की नभएको बताए । उक्त स्रोतले बैठकलाई रचनात्मक भएको बताउँदै ट्रम्पले अन्ततः वर्तमान युद्ध रेखामा (अहिले जुन क्षेत्र जसको कब्जामा छ त्यही अवस्था) युद्धविरामको समर्थन गरेका थिए ।

जेलेन्स्कीले पछि पत्रकारहरूसँगको कुराकानीमा यस विचारलाई अनुमोदन गरेका थिए । बैठकबारे प्रश्न सोध्दा ह्वाइट हाउसले आइतबार एयर फोर्स वनमा ट्रम्पले भने, “हामीलाई लाग्छ, उनीहरूले जहाँ छन् त्यहीँ युद्ध रेखामा रोकिनुपर्छ । बाँकी कुरामा वार्तामा गर्नुपर्छ, होइन भने गाह्रो हुन्छ ।”

ट्रम्पका लागि रुस–युक्रेन युद्धको अन्त्य गर्नु अब गाजा द्वन्द्व अन्त्य गर्न इजरायल र हमासबीच युद्धविराम गराएपछि शीर्ष प्राथमिकता बनेको छ । युरोपेली अधिकारीहरूका अनुसार, उनले शुक्रबारको वार्तामा युद्धलाई छिट्टै अन्त्य गर्ने आवश्यकतामा जोड दिए ।

एक दिनअघि पुटिनसँगको फोन वार्तामा ट्रम्पले रुसी राष्ट्रपतिले युक्रेनले पूर्वी डोन्बास क्षेत्र समर्पण गर्ने र त्यसको बदलामा दक्षिणी खेर्सन र जापोरिझिया क्षेत्रका रुस–नियन्त्रित केही भागहरू पाउने योजना प्रस्ताव गरेको युरोपेली अधिकारीहरूले बताए ।

अगस्टमा अलास्कामा ट्रम्पसँगको शिखर सम्मेलनमा पुटिनले उठाएको मागभन्दा यो प्रस्ताव थोरै भिन्न पनि, यो युक्रेनका लागि भूभागको ठूलो क्षति हुने अधिकारीहरूले बताएका छन् । तर, पछि ट्रम्प वर्तमान युद्ध रेखामा युद्ध अन्त्य गर्ने अडानमा पुगे ।

ट्रम्पले आइतबार एयर फोर्स वनमा जेलेन्स्कीलाई सम्पूर्ण डोन्बास क्षेत्र समर्पण गर्न आग्रह गरेको कुरा अस्वीकार गरे । उनले भने, “अहिले यो टुक्रिएको छ, ७८ प्रतिशत भूमि रुसले पहिले नै लिइसकेको छ । उनीहरूले अहिले युद्ध रेखामा रोकिनुपर्छ । घर जानुहोस्, मानिसहरूको हत्या बन्द गर्नुहोस् र यसलाई समाप्त गर्नुहोस् ।”

सोमबार ट्रम्पले पत्रकारहरूलाई उनले फोन वार्तामा पुटिनलाई नागरिक क्षेत्रहरूमा आक्रमण रोक्न आग्रह गरेका थिए । यसअघि, धेरै जानकार स्रोतहरूले सीएनएनलाई बताएअनुसार गत हप्ताको ट्रम्प–जेलेन्स्की बैठक तनावपूर्ण, स्पष्ट र कहिलेकाहीँ असहज थियो, जसमा दुई नेताहरू युद्धको भविष्यबारे विभाजित देखिएका थिए ।

ट्रम्पले जेलेन्स्कीलाई प्रत्यक्ष र इमान्दार कुराकानीमा हालका लागि युक्रेनी नेताले रुसभित्र टाढासम्म पुग्नसक्ने लामो दूरीका मिसाइलहरू प्राप्त नगर्ने प्रष्ट पारे । एक अमेरिकी अधिकारीका अनुसार, ट्रम्पले युक्रेनले द्वन्द्व बढाउन र लम्ब्याउन खोजिरहेको ठानेका छन् ।

र, आगामी कठोर जाडोमा हुनसक्ने क्षतिबारे चिन्तित छन् । युरोपेली अधिकारीहरूले जनाए अनुसार, जेलेन्स्की र उनको प्रतिनिधिमण्डल ह्वाइट हाउसमा हालको युद्ध रेखा देखाउने नक्सा लिएर आएका थिए ।

उनीहरूको उद्देश्य अमेरिकी राष्ट्रपतिलाई अमेरिकी समर्थन कायम राख्न र विस्तार गर्न मनाउने थियो । तर, ट्रम्पले उनीहरूको तर्कमा सहमत भएनन् र युद्ध अन्त्यका लागि युक्रेनले भूमि समर्पण गर्नुपर्नेमा जोड दिए । गत हप्ताको एक टेप गरिएको अन्तर्वार्तामा ट्रम्पले भनेका थिए, युद्ध अन्त्य गर्नका लागि पुटिनले केही लिनैपर्छ, उनले केही सम्पत्ति जितेका छन् ।”

अर्का अमेरिकी अधिकारीले दुवै पक्षले सम्झौता नगरे अवस्था अझ खराब हुनसक्ने चेतावनी दिए । जेलेन्स्कीले सामाजिक सञ्जालमा पोस्ट गर्दै बैठकलाई ‘अर्थपूर्ण कुराकानी’ भनेका छन् । यसको परिणामले यो युद्धलाई अन्त्यनजिक ल्याउन साँच्चिकै मद्दत गर्न सक्ने बताएका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.