१६ कार्तिक , काठमाण्डौ ।
चिनियाँ राष्ट्रपति सी जिंगपिङ र दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङबीच ग्यङ्जुमा भएको भेटवार्ता जति कूटनीति र द्विपक्षीयरुपमा महत्वपूर्ण छ त्यतिनै यी दुई नेताबिच सो क्रममा भएको हास्य, ब्यंग्य अनि सन्देश उति नै रोचक छ, जसले धेरैको ध्यान खिचेको छ ।
११ वर्षपछि पहिलोपटक सीले अमेरिकाको निकट सहयोगी देश दक्षिण कोरिया भ्रमण गरेका हुन् । यो क्रममा उनले कोरियाली राष्ट्रपति लीलाई दुईवटा शाओमी मोबाइल फोन उपहार दिए । त्यसक्रममा उनले हाँस्दै भने, ‘हेर्नुहोस् त, कुनै ब्याकडोर छ कि छैन ।’
त्यो सुनेर दुवै देशका अधिकारीहरू हाँसे । तर, त्यो मजाकभित्र प्राविधिक विश्वास र राजनीतिक अविश्वासको गहिरो सन्देश लुकेको थियो । शाओमी फोन उपहारको छनोट सामान्य थिएन । शाओमी चीनको प्रमुख प्रविधि ब्रान्ड हो र यसले चीनको नयाँ पुस्ताको औद्योगिक महत्त्वाकांक्षा देखाउँछ ।
सीले यो उपहार सामसङको मुलुकमा ल्याएर प्रतिस्पर्धा र आत्मविश्वासको सन्देश दिन खोजेका हुन् । चीनले हालसालै ल्याएको पाँच वर्षे आर्थिक योजनामा पनि प्रविधिमा आत्मनिर्भरतालाई मुख्य लक्ष्य बनाएको छ ।
राष्ट्रपति लीले सीलाई गो नामको पुरानो रणनीतिक खेल खेल्ने उच्च गुणस्तरको काठको बोर्ड उपहार दिएका थिए । त्यो खेल नै यी दुई देशबीचको सूक्ष्म कूटनीतिक सन्तुलनको प्रतीकजस्तो देखिन्थ्यो ।
तर, जब लीले शाओमी फोनको सुरक्षा कस्तो छ भनी सोध्दा सीले हाँस्दै तपाईं आफैं हेर्नुहोस्, ब्याकडोर छ कि छैन भनी जवाफ दिए । यस संवादले दुनियाँका ठूला देशबीच प्रविधि र विश्वासको गहिरो समस्या रहेको देखाएको छ ।
ब्याकडोर शब्दले अहिलेको ठूलो विवादलाई स्मरण गराउँछ । कुन देशको प्रविधि सुरक्षित छ, कुनले निगरानी गर्छ र कसले कसको डाटा हेर्छ भनी ब्याकडोरले इंगित गर्छ । यही कारणले नै अमेरिका र उसका सहयोगीहरूले ह्वावे र अरू चिनियाँ कम्पनीहरूमा कडा प्रतिबन्ध लगाएका छन् ।
सीको ठट्टाले यो मुद्दालाई हल्का बनाएको देखिए पनि त्यसले चीनको आत्मविश्वास पनि देखाएको छ । अब चीनले आफूलाई कमजोर ठान्दैन भन्ने कुरा यसबाट प्रमाणित भएको छ । सीको त्यस भनाइ अमेरिकामाथिको सानोतिनो व्यंग्य हो ।
केही समयअघि अमेरिकाले विदेशमा बेचिने उन्नत चिपमा ट्य्राकिङ फङ्सन राख्ने प्रस्ताव गर्दा चीनले यसको कडा विरोध गरेको थियो । त्यतिबेला अमेरिकी कम्पनी एनभिडियाले आफ्नो चिपमा कुनै ब्याकडोर नभएको स्पष्ट पार्नुपरेको थियो ।
सीको मजाक त्यस घटनाको प्रतिध्वनिका रूपमा लिइएको छ । निगरानी गर्दा अब दोषी को हो भनेर भन्न सजिलो छैन भन्ने एक किसिमको सन्देश यसबाट गएको छ । यो घटना एशिया–प्रशान्त आर्थिक सहकार्य (एपेक) सम्मेलनपछि भएको हो ।
त्यहाँ सीले चीनलाई क्षेत्रीय स्थिरता र विकासको केन्द्रका रूपमा प्रस्तुत गर्न खोजे । दक्षिण कोरिया भने अमेरिका र चीन दुवैसँगको सम्बन्ध सन्तुलनमा राख्न खोजिरहेको देश हो । राष्ट्रपति लीका लागि यो भ्रमण अवसर र चुनौती दुवै थियो ।
अमेरिकासँगको सुरक्षा सम्बन्ध कायम राख्दै चीनसँगको आर्थिक सहकार्य पनि नटुट्ने गरी अघि बढ्नु दक्षिण कोरियाको लक्ष्य हो । बैठकमा लीले उत्तर कोरियासँगको वार्ता पुनः सुरु गर्नका लागि सीसँग सहयोग मागे ।
सीले सहकार्य बढाउन र साझा चुनौतीहरूसँग मिलेर सामना गर्न तयार रहेको बताए । यसको अर्थ चीन वार्ताको विपक्षमा छैन, तर अमेरिकाको योजना अनुसार दबाब दिन पनि चाहँदैन । तनाव नियन्त्रणमा रहोस् तर आफ्नो प्रभाव कायम रहोस् भन्ने चीन चाहन्छ ।








