राजनीतिक अध्यारोबाट कुलमानले देशलाई उज्यालो बनाउलान् ?

राजनीतिक अध्यारोबाट कुलमानले देशलाई उज्यालो बनाउलान् ?

२१ कार्तिक , काठमाण्डौ ।

पर्ख र हेरको अवस्थामा रहेका कुलमान घिसिङ अन्तत आफै पार्टी खोल्ने निष्कर्षमा पुगेका छन् । जेनजी आन्दोलनको भावना अनुरुप सबै वैकल्पिक शक्तिहरूलाई एउटै थलोमा उभ्याएर नयाँ शक्ति निर्माण गर्ने उनको योजनामा ठेस लागे सँगै उनी अब एक्लै भए पनि राजनीतिक दल दर्ता गराउने मनस्थितिमा पुगेका छन् ।

नेपालको समसामयिक राजनीतिमा अहिले चर्चाको केन्द्रमा छन् कुलमान घिसिङ । कामकै आधारमा हेर्ने हो भने, मेयर बालेन साह, हर्क साम्पाङ वा सञ्चारकर्मीबाट राजनीतिमा आएका रवि लामिछानेभन्दा पनि अब्बल नाम हो कुलमान घिसिङको ।

नेपाल विद्युत् प्राधिकरणको नेतृत्व सम्हाल्दा उनले देशलाई अँध्यारोबाट उज्यालोतर्फ उकासेका थिए। लोडसेडिङ अन्त्य गर्दै जनताको दैनिकी सहज बनाउन गरेका कामले उनलाई “उज्यालो मान्छे” बनायो।

त्यही लोकप्रियता अहिले राजनीतिक यात्राका लागि साधक बन्ने उनको बुझाइ छ । कुलमान घिसिङ जेन–जी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको मन्त्री बनेका छन्।

अहिले भने २१ फागुनमा हुने आमनिर्वाचनलाई लक्षित गर्दै उनी नयाँ राजनीतिक दल गठनको तयारीमा जुटिरहेका छन्। “वैकल्पिक शक्ति एक ठाउँमा आउनुपर्छ” भन्ने उनको धारणा रहे पनि सम्भावित सहकार्यमा असहजता देखिएपछि उनले ‘एकल प्रयास’ मा पार्टी खोल्ने निष्कर्षमा पुगेका छन्।

उनका निकट स्रोतका अनुसार, निर्वाचन आयोगमा असोजमै दर्ता आवेदन परेको “उज्यालो नेपाल पार्टी” नामक सङ्गठन बल्ब चुनाव चिह्नका साथ अघि बढ्ने तयारीमा छ। मन्त्रीको जिम्मेवारीमा रहँदै चुनावी तयारी गर्नु उपयुक्त हुन्छ कि हुँदैन भन्नेमा भने घिसिङ स्वयम द्विविधामा छन्।

राजनीतिक रूपमा सक्रिय भइरहँदा पनि उनी सामाजिक सञ्जालमा अनावश्यक वाक्युद्ध वा प्रचारमा नअलमलिनु उनको परिपक्वताको प्रमाण हो। कुलमान घिसिङका राजनीतिक सल्लाहकारहरूले विवेकशील साझा पार्टी, रक्षा बम नेतृत्वको नेपाल जेन–जी फ्रन्ट, नागरिक उन्मुक्ति पार्टी र सिके राउतको जनमत पार्टीसँग संवादको प्रयास गरेको बताएका छन्।

तर, चुनाव चिन्ह र नेतृत्वको स्वरूपमा सहमति नजुट्दा ती प्रयासहरू हाल अलपत्र परेका छन्। विवेकशील पृष्ठभूमिका नेताहरूले व्यक्तिगत लोकप्रियता भन्दा सामूहिक नेतृत्वमा विश्वास गर्नुपर्ने बताइरहेका छन्, जसमा सुमना श्रेष्ठ जस्ता नेतृहरूको पनि समर्थन छ।

जेन–जी आन्दोलनका युवाहरूलाई समेत राजनीतिक रूपमा सङ्गठित गर्ने प्रयास भइरहेको छ। उनीहरूका अनुसार, आन्दोलनलाई संस्थागत गरी राजनीतिक दिशातर्फ लैजाने बेला आएको छ। तर, यति धेरै वैकल्पिक समूहबिच एकता हुन कठिन छ—किनभने सबै पक्षहरू आफ्नो प्रभाव र चिन्ह जोगाउन चाहन्छन्।

रास्वपा नेतृत्वसँग पनि घिसिङले लामो संवाद गरेका थिए। रवि लामिछानेले नेतृत्व सुम्पने भएमा उनी पार्टी नेतृत्व गर्न तयार रहेको सन्देशसमेत पठाएको बताइन्छ। तर, रास्वपा भित्र सहमति नजुटेपछि उनले नयाँ पार्टी खोल्ने तयारीलाई तीव्र बनाएका हुन्।

कुलमान घिसिङ अब के गर्छन् भन्ने उत्सुकता केवल उनका प्रशंसकमा होइन, समग्र राजनीतिक वृत्तमै छ। उनको “उज्यालो” छविले नेपाली राजनीतिमा केही आशाको किरण देखाउँछ। तर, यो उज्यालो दिगो हुन्छ कि क्षणिक—त्यो निर्भर छ, उनले लोकप्रियता मात्र होइन, संस्थागत नेतृत्व र नीति वैकल्पिकता पनि देखाउन सक्छन् कि सक्दैनन् भन्नेमा।

नेपालको ऊर्जा क्षेत्रमा लोडसेडिङ अन्त्य गरेर जनतामा विश्वास जगाउने व्यक्तिले अब राजनीतिक अँध्यारो उज्यालो पार्न सक्छन् वा सम्दैनन्,यसको उत्तर आगामी महिनाहरूमा स्पष्ट हुनेछ।

नेपालको सार्वजनिक जीवनमा “इमानदारी” भन्ने शब्द प्रायः भाषणमा मात्र सुनिन्छ । तर केही व्यक्तिहरूले आफ्ना कामबाट यस शब्दलाई व्यवहारमा पनि उतारेका छन्। त्यस्ता विरल पात्रमध्ये एक हुन् — कुलमान घिसिङ।

नेपाल विद्युत् प्राधिकरणको नेतृत्व सम्हालेपछि उनले अँध्यारोमा डुबेको देशलाई उज्यालो बनाएका थिए । राजनीतिक आशीर्वाद होइन, व्यावसायिक दक्षता र व्यवस्थापन क्षमताले उनले लोडसेडिङ अन्त्य गरेका थिए ।

त्यसैले, जब आज उनको राजनीतिक प्रवेशको चर्चा उठ्छ, धेरैका मनमा प्रश्न उठ्छ, के कुलमान घिसिङ साँच्चै इमान्दार पात्र हुन्, वा राजनीतिमा प्रवेश उनको पनि सत्ता–रूपान्तरणको अर्को रणनीति मात्र हो ?

इमान्दारीको मापन व्यवहार र निर्णयमा हुन्छ । कुलमानले आफ्नो कार्यकालमा विद्युत् प्राधिकरणलाई नाफामुखी संस्थामा रूपान्तरण गरे, निजी क्षेत्र र सरकारी संयन्त्रबिच सन्तुलन कायम गरे ।

ठेक्कापट्टा र राजनीतिक दबाबका बाबजुद पनि धेरै ठुला प्रोजेक्टहरूमा पारदर्शिता देखाए । उनी विरुद्ध ठुला आर्थिक घोटाला वा व्यक्तिगत स्वार्थका गम्भीर आरोप लागेपनि कहिल्यै प्रमाणित भएनन् ।

यस हिसाबले उनको इमानदारी व्यावसायिक दृष्टिले सुदृढ देखिन्छ । तर इमान्दार व्यक्ति राजनीतिमा प्रवेश गर्दा सधैँ इमान्दार राजनीतिज्ञ बन्न सक्दैन । राजनीति सत्ता, समूहगत स्वार्थ र रणनीतिक समीकरणको खेल हो ।

यही कारणले, अहिले कुलमानले नयाँ दल खोल्ने वा कुनै वैकल्पिक शक्तिसँग हातेमालो गर्ने तयारीलाई कतिपयले उनको ‘नयाँ महत्त्वाकाङ्क्षा’को रूपमा पनि हेर्छन् । तर प्रश्न यो हो कि देशमा जब जनताले पुराना दलहरूबाट विश्वास गुमाइरहेका छन्, त्यस्तो बेला कुनै इमान्दार प्रशासकले वैकल्पिक राजनीति खोज्नु गलत चाही पक्कै हैन।

कुलमानले अहिलेसम्म सार्वजनिक सम्पर्कमा पनि संयमता र मर्यादाको पालन गरेका छन् । उनले सामाजिक सञ्जालमा अनावश्यक वाकयुद्ध वा आरोप–प्रत्यारोपको राजनीति कहिल्यै अपनाएनन् । यसले उनको चरित्रमा स्थिरता र आत्म नियन्त्रण झल्काउँछ ।

तर राजनीतिमा इमानदारी मात्रै पर्याप्त हुँदैन । त्यससँगै दृष्टि, सङ्गठन र सहकार्य क्षमता पनि चाहिन्छ । कुलमानको चुनौती यही हो उनले आफूलाई जनताको हितमा समर्पित नेतृत्वको रूपमा प्रमाणित गर्न सक्छन् कि राजनीतिमा पनि प्राविधिक व्यवस्थापकको रूपमा मात्र सीमित हुन्छन् ।

कुलमान घिसिङ अहिले पनि नेपाली समाजका थोरै पात्रहरूमध्ये एक हुन्, जसलाई “सार्वजनिक इमान्दारीको प्रतीक” भनेर चिनिन्छ । उनको राजनीतिक यात्रा सफल हुनका लागि पनि यही विश्वास कायम रहनु जरुरी छ ।

उनले यदि आफ्नै सादगी, पारदर्शिता र परिणाममुखी सोचलाई राजनीतिमा रूपान्तरण गर्न सके भने, त्यो नेपालका लागि एउटा नयाँ राजनीतिक संस्कृतिको सुरुवात हुनेछ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.