२ मंसिर , काठमाण्डौ ।
नेपाल वायुसेवा निगमले अबदेखि आफ्नो जहाज डाइभर्ट गर्नुपर्ने अवस्थामा भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्रयोग गर्ने भएको छ । अहिलेसम्म डाइभर्टका लागि भारतका विमानस्थलहरू प्रयोग गर्नुपर्ने बाध्यता रहँदै आएकोमा अब भैरहवा विमानस्थल उपयोग गर्न सकिने व्यवस्था लागू भएको निगमले जनाएको छ ।
भोलिदेखि लागू हुने गरी कुनै पनि कारणले काठमाण्डौबाट जहाज डाइभर्ट गर्नुपरे गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवालाई वैकल्पिक विमानस्थलका रुपमा प्रयोग गर्ने निगमले निर्णय गरेको हो ।
यसले डाइभर्टमा लाग्ने खर्च तथा समय दुवै बचत हुने निगमको भनाइ छ । यस्तै निगमले पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पनि वैकल्पिक विमानस्थलका रूपमा उपयोग गर्न अध्ययन प्रक्रिया अघि बढाउने निर्णय पनि गरेको छ ।
यससंगै भोलिदेखि नेपाल एयरलाइन्सका विमान डाइभर्ट भएर भारत वा अन्य देश नजाने भएको हो । राजधानीको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न नसके एयरलाइन्सको जहाज भारतको नयाँ दिल्ली जाने गरेको थियो ।
त्यतिबेला देशमै अन्य २ वटा अन्तर्राष्ट्रिय विमानस्थल हुँदाहुँदै भारत किन जानु परेको भन्दै आलोचना हुने गरेको छ । यसैबीच अब भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए) मा विभिन्न कारणले अवतरण गर्न नसक्ने नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का जहाज भारतका विमानस्थलमा होइन, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवामा डाइभर्ट गरिने भएको छ ।
निगमले मिति २०८२ मंसिर ३ गतेदेखि लागू हुनेगरी भैरहवा विमानस्थललाई औपचारिक रूपमा वैकल्पिक विमानस्थल घोषणा गरेको छ । सो निर्णय मंसिर १ गते गरेको निगमका प्रवक्ता अनिल घिमिरेले जनाएका छन् ।
अहिलेसम्म टीआईएमा खराब मौसम, भीडभाड वा अन्य कारणले अवतरण गर्न नसक्ने अवस्था आएमा नेपाल एयरलाइन्सका जहाज नजिकैको भारतीय विमानस्थलमा डाइभर्ट हुने गर्थे । अब भने भैरहवामा ल्यान्ड हुने भएका छन् ।
भारत जानु नपरे पछि उल्लेखनीय खर्च कटौती हुने विश्वास निगमको छ । यससँगै निगमले पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई समेत अर्को वैकल्पिक विमानस्थलका रूपमा प्रयोग गर्न सकिने सम्भावनामा अध्ययन प्रक्रिया सुरु गर्ने निर्णय पनि गरिएको प्रवक्ता घिमिरेले बताएका हुन् ।
विसं २०७९ जेठ १ गते, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको थियो । पर्यटक लक्षित गर्दै खोलिएको यो विमानस्थल पूर्ण रूपमा सञ्चालन हुन नसक्दा अझै निराश हुनुपर्ने अवस्था छ । यस विमानस्थलमा विमान नियमित हुन सकिरहेका छैनन् ।
नियमित मात्र हैन आकस्मिक रूपमा अवतरणका लागि पूर्णतया तयार हुँदा पनि यो विमानस्थलले अहिलेसम्म एयर चाइनाका बाहेक अन्य डाइभर्ट विमान अवतरण गराउन सकेको थिएन ।
भैरहवा विमानस्थलमा आकस्मिक उडान गरेर राति होल्ड हुनुप¥यो भने यात्रुलाई कहाँ राख्ने, चालक दलका सदस्यलाई कसरी व्यवस्थापन गर्ने र दोस्रो दिन उडान गर्नुअघि विमान जाँच कसले गर्ने भन्ने विषय निश्चित नभएकाले पनि विमानहरू यहाँ आउन नचाहेको जानकारहरू बताउँछन् ।
भैरहवा विमानस्थल नियमित सञ्चालन भएर सहजै यस्ता सुविधा प्राप्त नहुँदासम्म काठमाडौँमा अवतरण हुन नसकेका विमान भैरहवामा अवतरण गराउन सकिँदैन । यसबाहेक नेपाल भारतमा इन्धनको मूल्यमा रहेको असमानताले पनि डाइभर्ट उडान भैरहवामा अवतरण गराउन बाधा गरेको छ ।
नेपालको तुलनामा भारतमा हवाई इन्धनको मूल्य सस्तो छ । नेपालमा हवाई इन्धनको मूल्य ९७३ डलर प्रतिहजार लिटर रहेको छभने भारतमा सोही परिमाणको इन्धनको मूल्य ८१७ डलर मात्र रहेको छ ।
ठूलो परिमाणमा इन्धन राख्ने विमानहरूलाई भारतको इन्धनको कारण लाखौँ बचत हुने भएकाले पनि उनीहरूको रोजाइमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पर्दैन । दूरी र समयको हिसाबले लखनऊभन्दा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नजिक हो ।
दूरीका हिसाबले काठमाडौँबाट भैरहवा गएर ल्यान्ड गर्नुभन्दा लखनऊ गएर ल्यान्ड गर्न भने १४२ नौटिकल माइल बढी पर्छ । तर तत्कालको अवस्थामा विदेशी एयर कम्पनीका जहाजले मात्रै होइन नेपाल एयरलाइन्सका जहाजले समेत काठमाडौँबाट डाइभर्ट भएका जहाज गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको सट्टा लखनऊ लैजाने गरेका छन् ।
विमानस्थल स्रोतका अनुसार बाहिर हल्ला भए जस्तो रुटकै समस्याको कारण विदेशी विमानहरू नआएकामा सत्यता छैन । विमानहरूलाई काठमाडौँभन्दा भैरहवाको विमानस्थलमा अवतरण गर्न सहज र कम खर्चिलो हुने जानकारहरूको भनाइ छ ।
सिमराबाट छिरेका विमानलाई काठमाडौँ जानुभन्दा सहज भैरहवा आउन हुन्छ । दूरीमा दृष्टिले केही टाढा रहे पनि काठमाडौँजस्तो अवरोध यहाँ छैन । आकाशमा ट्राफिकका कारण विमान अवतरण हुन नसके यसले थप खर्च बढाउँछ, यहाँ त्यस्तो कुनै समस्या छैन ।
यसबाहेक लिमा ६२६ हुँदै बाहिर उड्ने विमानहरूलाई भैरहवाबाट उड्दा पनि दूरी छोटिने सुविधा पनि रहेको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता श्यामकिशोर साहका अनुसार दक्ष जनशक्तिको कमी नै यहाँ विमान डाइभर्ट हुन नसक्नुको मूल कारण हो ।
‘भैरहवाको तुलनामा लखनऊ र अन्य अन्तर्राष्ट्रिय विमानस्थलहरूमा यस्ता दक्ष प्राविधिक जनशक्ति तयारी अवस्थामा रहेका हुन्छन्, भैरहवामा ग्राउन्ड ह्यान्डलिङको टिम भए पनि इन्जिनियरको टिम छैन छैन,’ साह बताउँछन् ।
सुविधाको दृष्टिले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा काठमाडौँभन्दा धेरै सुविधा रहेको छ । विमानस्थलका प्रवक्ता साहका अनुसार भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय वायु सेवाहरूलाई आकर्षित गर्न २०८३ भदौ मसान्तसम्म यात्रु सेवा शुल्क, पार्किङ, ल्यान्डिङ र न्याभिगेसन सेवा शुल्कमा शत्प्रतिशत छुट प्रदान गरिएको छ
ग्राउन्ड ह्यान्डलिङ सेवामा ७५ प्रतिशतसम्म छुट छ । हवाई इन्धनको मूल्य ब्रेक इभन प्वाइन्टमा निर्धारण गरी बिक्री गरिएको छ । यो भनेको काठमाडौँको तुलनामा सरदर करिब एक डलर प्रतिकिलोलिटर हुन आउँछ ।
विमानस्थल सञ्चालनका लागि क्षेत्रीय स्तरमा भन्दा पनि राज्यस्तरबाट पहल नभएको गुनासो स्थानीय अगुवाहरूको रहेको छ । अहिले पनि ‘कूटनीतिक पहल नपुगेको’ उनीहरुको टिप्पणी छ ।
जसका कारण दुईवटा वैकल्पिक अन्तर्राष्ट्रिय विमानस्थल भए पनि त्यो देखाउनकै लागि निर्माण गरेको जस्तो भएको छ । नेपालले अन्तर्राष्ट्रिय विमानस्थलको सङ्ख्या बढाए पनि तिनको उपयोगिता र सञ्चालनमा देखिएको उदासीनताले राष्ट्रको छविलाई गम्भीर धक्का दिएको छ ।
पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलहरूमा अर्बौंको लगानी भए पनि, हालसम्म यी विमानस्थलहरूमा नियमित अन्तर्राष्ट्रिय उडानहरू सञ्चालन हुन सकेका छैनन्। यी दुवै विमानस्थलहरूलाई मुख्यतयाः घरेलु उडानहरू मात्रै धानिरहेका छन् ।








