प्रसाईँसँग आखिर किन डराउँछन् सरकारहरू ?

प्रसाईँसँग आखिर किन डराउँछन् सरकारहरू ?

२ मंसिर , काठमाण्डौ ।

झापाको बिर्तामोडमा स्थापना गरेको बिएण्डसी अस्पताललाई मेडिकल कलेज बनाउने सपना बोकेर हिँडेका दुर्गा प्रसाईं एक पछि अर्को झमेलामा फस्दै गएका छन् । सुरुमा मेडिकल कलेज स्वीकृतीका लागि शक्ति केन्द्रमा धाउदा धाउदा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सँग राम्रो सम्बन्ध बनाएका प्रसाईं पछि माओवादी पार्टीमा नै लागे ।

त्यसपछि केपी शर्मा ओलीको समिपमा पुगेका प्रसाईँ एमालेको केन्द्रीय नेता नै बने । राजसंस्थाको एजेण्डा बोकेर निकै लामो समयदेखि चर्चामा आउन थालेका तिनै प्रसाईँ यति बेला जेनजी सरकारको पनि टाउको दुखाइ बनेका छन् ।

भदौ १९ गते बसेको मन्त्री परिषद्को बैठकले नेपालमा सामाजिक सञ्जाल माथि प्रतिबन्ध लगाउने निर्णय लिएको थियो । २० गतेबाट सामाजिक सञ्जाल बन्द हुन थालेका थिए । २२ गते बिहानैबाट सामाजिक सञ्जाल बन्दका साथै भ्रष्टाचार र नेपो बेबी विरुद्ध जेनजी पुस्ताले २३ गते काठमाण्डौको माइतीघर मण्डलामा प्रदर्शन गर्ने हल्ला चल्न थालेको थियो ।

त्यस बेलासम्म भिपिएनबाटै फेसबुक, टिकटक, डिस्कोर्डमा युवाहरु अत्यधिक रुपमा जोडिन थालिसकेका थिए । २२ गते बिहानै मेडिकल व्यवसायी दुर्गा प्रसाईँले सामाजिक सञ्जाल मार्फत जेनजीहरुको आन्दोलनमा आफू पनि जाने घोषणा गरे ।

त्यस लगतै काठमाण्डौंका मेयर बालेन साहले सामाजिक सञ्जालमा जेनजी उमेर समूह बाहेक कसैलाई पनि नजान आग्रह गर्दै आफू पनि नजाने तर आफ्नो पूर्ण समर्थन रहेको बताए ।

भदौ २२ गते साँझ फेरी दुर्गा प्रसाईँले सामाजिक सञ्जालमा जेनजी अगुवा मिराज ढुङ्गाना सहितको एउटा सामूहिक तस्बिर फेसबुकमा राख्दै लेखे, आज कार्यक्रमको पूर्व सन्ध्यामा जेन–जीका संयोजक भाइबहिनीहरूलाई मेरो निजी निवासमा स्वागत गर्ने सौभाग्य पाएँ ।

छोटो तर सार्थक संवादले अझ प्रष्ट पारिदियो कि हामीले विगत पाँच वर्षदेखि उठाउँदै आएका मुद्दाहरू साझा र दीर्घकालीन महत्वका रहेछन् । हामी सबै एउटै निष्कर्षमा पुग्यौँ—आन्दोलन उमेरको विषय होइन।

भ्रष्टाचारले सबै उमेरका नागरिकलाई गाँजेको छ। त्यसैले भ्रष्टाचारलाई जरैदेखि उखेलेर फाल्नु, अन्यायविरुद्ध लड्नु र आफ्ना आवाज बुलन्द गर्नु प्रत्येक नागरिकको अधिकार मात्र होइन, कर्तव्य पनि हो ।

भ्रष्टाचारविरुद्धको हाम्रो आन्दोलन शान्तिपूर्ण रहोस् भन्ने शुभकामना व्यक्त गर्दै, मैले उपस्थित सबैलाई बिदा गरेँ । चैत १५ गतेजस्तो दमन नहोस्, विशेषतः २८ वर्षमुनिका भाइबहिनीमाथि, भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछु ।

भदौ २३ र २४ गतेको जेनजी विद्रोहले देशका बहालवाला प्रधानमन्त्रीलाई सरकारी निवासबाटै भाग्न बाध्य बनायो । भदौ २४ गते दिउँसोबाट देश सरकारविहीन बन्यो । जताततै लुटपाट आगजनी हुन थाल्यो ।

केही समय मुलुकभरका सुरक्षाकर्मीहरूले नै आत्मासर्मण गरे जस्तै बन्यो । २४ गते रातीबाट देशको शान्ति सुरक्षाको जिम्मा आफूहरूले लिएको भन्दै प्रधानसेनापतिले देशवासीका नाममा सम्बोधन गरे ।

र नेपाली सेनाले सरकार बनाउने कोर्षमा इन्ट्री ग¥यो । भदौ २५ गते तिनै दुर्गा प्रसाईँले प्रधानसेनापति अशोकराज सिग्देलसँग जंगीअड्डामा वार्ता गरेको भन्दै सामाजिक सञ्जालमा फेरी अर्को तस्बिर सार्वजनिक गरे ।

त्यस बेला सामाजिक सञ्जालमा लेख्दै प्रसाईँले भनेका थिए आज दिनभर प्रधानसेनापतिसँग देशको पछिल्लो अवस्था र आगामी बाटोबारे गहिरो छलफल भएको छ । लामो छलफलपछिको मेरो निष्कर्ष स्पष्ट छ, मलाई नेतृत्वको मोह छैन ।’

उनले जेनजी पुस्ताको आवाजलाई सम्मान गर्दै आफू बालेन वा सुशीला कार्की जसको नेतृत्व पनि स्विकार्न तयार भएको समेत लेखेका थिए । ‘तर, कोही पनि अगाडि नबढ्दा पिठ्युँ देखाएर भाग्नु मेरो स्वभाव होइन,’ उनले लेखेका थिए ‘म जुनसुकै परिस्थितिको लागि पनि तयार छु ।’ आजको विषम घडीमा म सस्तो राजनीति र टीकाटिप्पणीमा लाग्दिनँ । अब चाहिएको कुरा हो— गम्भीरता, राष्ट्रिय एकता र रचनात्मक बाटोको खोज । सहज निकासका लागि सबैको साथ र सुझाव अपरिहार्य छ । यो हाम्रो पुस्ताको मात्र होइन, सम्पूर्ण राष्ट्रको भविष्यको प्रश्न हो । अब समय आएको छ— भावनाभन्दा माथि उठेर, व्यक्तिगत स्वार्थभन्दा पर सोचेर, देशलाई बाँच्ने बाटो देखाउने हाम्रो साझा जिम्मेवारी पूरा गर्ने ।

तिनै दुर्गा प्रसाईँलाई जेनजी सरकारले २ महिनापछि पक्राउ गरेको छ । प्रहरीले सोमबार मध्यरात भक्तपुरस्थित निवासबाट प्रसाईँलाई पक्राउ गरेको थियो । उनलाई सार्वजनिक शान्ति भङ्ग गर्ने अभिव्यक्ति दिएको आरोप लगाएको छ ।

अभिव्यक्ति स्वतन्त्रताका आडमा प्रसाईँले गरेका क्रियाकलाप सार्वजनिक शान्ति भङ्ग हुने खालका र अफवाह फैलिने खालका भएकाले नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ । उनीमाथिको अनुसन्धानका लागि प्रहरीले ४ दिनको समय समेत आज लिएको छ ।

सुशीला कार्की नेतृत्वको सरकारलाई पनि विगतकै सरकारहरूलाई गाली गरेकै शैलीमा सामाजिक सञ्जालमा गाली गर्ने गरेका प्रसाईँले मङ्सिर ७ गतेबाट देश नै ठप्प बनाउने आन्दोलन गर्ने घोषणा गर्दै आएका थिए ।

सामाजिक सञ्जालमा भाइरल भइरहेका उनका अभिव्यक्ति पत्याएर धेरैमा डर र त्रास छाएको प्रहरीको बुझाइ छ । उनले हिजो मात्रै पत्रकार सम्मेलन गर्दै जेनजी युवा र सरकारविरुद्ध गम्भिर आरोपहरु लगाएका छन् ।

उनी राजनीतिक तथा निजी क्षेत्रका सार्वजनिक व्यक्तित्वमाथि लाञ्छना लगाउँदै सामाजिक सञ्जालमा नै बोल्ने गर्दै आएका छन् । विगतमा माओवादी, एमाले लगायत दलहरूसँग निकट सम्बन्ध बनाएका र केही समयअघि राजावादी प्रचारप्रसारमा लागेका प्रसाईँ भड्काऊ अभिव्यक्तिका कारण पक्राउ परेको यो चौथो पटक हो। उनी पटक पटक पक्राउ पर्दै धरौटीमा छुट्दै आएका छन्।

यसअघि २०८१ चैत १५ को तीनकुने आन्दोलनपछि उनलाई भारतबाट पक्राउ गरी ल्याएको थियो। तीनकुने घटनामा उनले गाडी हुइँक्याउँदै सुरक्षा घेरा तोडेका थिए र प्रहरीहरूलाई पेलेर अघि बढेका थिए।

उनकै उक्साहटका कारण तीनकुने आन्दोलन हिंसात्मक हुँदा दुई जनाको मृत्यु हुनुका साथै २० जना घाइते भएका थिए। प्रदर्शनकारीहरूले व्यक्तिगत घर, राजनीतिक दलहरूका कार्यालय, भाटभटेनी सुप स्टोर, जडिबुटी प्रशोधन केन्द्र तथा थुप्रै सरकारी गाडीमा आगजनी पनि गरेका थिए।

तीनकुने घटनाभन्दा अगाडि २०८१ साल मङ्सिर ४ गतेपनि प्रसाईँ पक्राउ परेको थिए । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीमाथि जघन्य आरोप लगाएका मेडिकल व्यवसायी प्रसाईँलाई भक्तपुरको निवासबाट केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको थियो।

त्यति बेला उनलाई साइबर अपराध कसुरमा मुद्दा चलाइएको थियो। प्रसाईँले कम्बोडियाको टेलिकममा ओलीको साढे ३२ अर्ब रुपैयाँ लगानी रहेको भन्दै भिडिओ कलमार्फत कसैले देखाएको कागजात सार्वजनिक गरेका थिए।

राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियान का नाममा गतिविधि गरिरहेका दुर्गा प्रसाईँ पहिलो पटक २०८१ असोज ६ गते पक्राउ परेका थिए । उनलाई भक्तपुरस्थित घरबाटै प्रहरीले नियन्त्रणमा लिएको थियो।

साइबर ब्युरोका प्रहरी पक्राउ गर्न घर पुग्दा उनले सुरमा गेट खोल्न मानेका थिएनन्। भ¥याङ लगाएर घरभित्र प्रवेश गरी प्रसाईँलाई नियन्त्रणमा लिनुपरेको थियो। राष्ट्र, राष्ट्रियता धर्म–संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक प्रसाईँ आफ्नै अभिव्यक्तिका कारण पटक पटक कानुनी झमेलामा पर्दै आएका छन् ।

बैङ्क र लघुवित्तको चर्को ब्याजदरको विरोधका साथसाथै तिनै बैङ्क, लघुवित्त र सहकारी पीडितलाई सङ्गठित गरेर आन्दोलन समेत गरिसकेका पछिल्लो समय प्रसाईँले राजसंस्था पुनस्र्थापनासहितका २७ बुँदे राजनीतिक माग अघि सारेका छन् ।

सोही माग पूरा गर्न सरकारलाई दबाब दिन मङ्सिर ७ गतेदेखि देशव्यापी आन्दोलनको घोषणा गरेका थिए । आन्दोलनमा देश नै ठप्प पार्ने भन्दै पूर्वपश्चिम राजमार्गमा धर्ना बस्ने उनले चेतावनी दिएका थिए ।

पछिल्लो पटक दिल्ली भ्रमणबाट फर्किएपछि उनले काठमाडौंका मेयर बालेन्द्र शाहविरुद्ध जाइलाग्न सुकुम्बासीहरुलाई उकासेका थिए । उनको आक्रामक अभिव्यक्ति र हर्कतका कारण उनी एक वर्षको अवधिमा पटक पटक पक्राउ पर्दै छुट्दै आएका छन् ।

क्यान्सरका बिरामी समेत रहेका प्रसाईँ पछिल्लो समय हिन्दु राष्ट्र र राजा फर्काउने भन्दै हिँडी रहेका छन् । पछिल्लो पटक दुर्गा प्रसाईँ पक्राउसँगै राजधानीमा उच्च सतर्कता अपनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.