२ मंसिर , काठमाण्डौ ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई भेट्न जिल्ला प्रहरी परिसर काठमाडौँ पुगेका ९ जनालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । मंगलबार दिउँसो परिसरमा रहेका प्रसाईंलाई भेट्न पुगेका उनका निजी सुरक्षा गार्ड र नागरिक बचाउ महाअभियानका कार्यकर्ता पक्राउ परेका हुन् ।
परिसरका प्रवक्ता एसपी पवनकुमार भट्टराईले उनीहरूलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको बताए। उनीहरू चढेर गएको गाडी पनि प्रहरीले खानतलासी गरेको छ । ’उहाहरू अहिले हाम्रो नियन्त्रणमा हुनुहुन्छ। सोधपुछ भइरहेको छ,’ उनले भने, ’कोही के भन्नुहुन्छ। कसैले के भन्नुहुन्छ हामी बुझ्दैछौँ।’
प्रसाईंलाई प्रहरीले सार्वजनिक शान्ति खलल पु¥याउने गरी अभिव्यक्ति दिएको आरोपमा सोमबार राति उनकै निवासबाट पक्राउ गरेको थियो । जिल्ला प्रशासन कार्यालय काठमाडौँले उनलाई थप ४ दिन प्रहरी हिरासतमै राखेर अनुसन्धान अघि बढाउन अनुमति दिइसकेको छ ।
दुर्गा प्रसाईंले मंसिर ७ गते आन्दोलन घोषणा गरेपछि सरकारले त्यसलाई निस्तेज पार्न उनका समर्थकमाथि पनि निगरानी बढाएको छ । आजै नागरिक बचाउ महाअभियानका सदस्यहरूले जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउँदै प्रसाईंलाई २४ घण्टाभित्र रिहाइ गर्न माग गरेका छन् ।
अभियानका सदस्यहरूले महाअभियानका केन्द्रीय अध्यक्ष प्रसाईंलाई गएराति कुनै जाहेरी र पक्राउ पुर्जीबिनै प्रहरीले पक्राउ गरेको भन्दै रिहाइको माग गरेका हुन् । ’देश द्रोही, भ्रष्टाचारी, दलाल, तस्कर र हत्याराहरू खुलेआम ससम्मान हिडिहेको अवस्थामा अभियानका केन्द्रीय अध्यक्षलाई २४ घण्टाभित्रमा बिनासर्थ रिहाइको माग गर्दै यो ज्ञापनपत्र पेस गर्दछ,’ अभियानले भनेको छ, ’सो अवधिभित्र पनि उहाँको रिहाइ नभएमा भोलिबाट थप आन्दोलन र संघर्षका कार्यक्रमसहित अघि बढ्न अभियान बाध्य रहनेकुरा जानकारीका लागि अनुरोध छ।’
प्रसाईँलाई पक्राउ गरेको विरोधमा उनका समर्थकहरु प्रदर्शनमा पनि उत्रिएका हुन् । उनीहरुले जिल्ला प्रशासन कार्यालय काठमाडौंअघि नाराजुलुशसहित विरोध जनाएका थिए ।
त्यहाँ प्रहरी बाक्लो संख्यामा परिचालन गरिएको थियो । उनीहरूले प्रसाईँलाई छाड्नुपर्ने भन्दै दबाब दिइरहेका छन् । उता राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पनि दुर्गा प्रसाईंलाई पक्राउ गरेकोप्रति आपत्ति जनाएको छ ।
राप्रपाका प्रचारविभाग प्रमुख मोहनकुमार श्रेष्ठले विज्ञप्ति जारी गरी अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने गरी प्रसाईंलाई पक्राउ गरेको भन्दै रिहाइको माग गरेका हुन् ।
’अभिव्यक्ति दिएकै आधारमा ई निजी निवासमा सुतिरहेको अवस्थामा मध्यरातमा पक्राउ गर्नु अमानवीय, निन्दनीय र खेदजनक छ,’ विज्ञप्तिमा उल्लेख छ, ’प्रसाईंको पक्राउबाट सरकारले फरक विचारलाई दबाउने, अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने, अप्रजातान्त्रिक र तानाशाही प्रवृत्ति प्रदर्शन गरेको छ। प्रसाईंलाई अविलम्ब र बिना शर्त रिहा गर्न राप्रपा सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछ।’








