अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए

अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए

९ मंसिर , काठमाण्डौ ।

भारतीय दिग्गज अभिनेता धर्मेन्द्र देबलको निधनले बलिउड शोकमा डुबेको छ। उनको विदाइले सबैजना स्तब्ध भएका छन् । ८९ वर्षको उमेरमा उनले २४ नोभेम्बरमा अन्तिम सास फेरे। मुम्बईमा उनको अन्तिम संस्कार गरियो ।

धर्मेन्द्रको निधनपछि उनीसँगै काम गरेका नगरेका धेरै बलिउडका हस्तीहरु शोकमा छन् । आज वास्तविक जीवनको ’जय’ अर्थात अमिताभ बच्चन एक्लो भएका छन्, किनकि उनका प्यारा ’वीरू’ अनन्त यात्रामा निस्किए। यस्तै शत्रुघ्न सिन्हाको ’दोस्त’ पनि अब रहेनन्।

जसलाई उनी ’ब्यूटी’ भन्थे, त्यो सुन्दर मुहार अब उनका यादहरूमा मात्र सीमित भएको छ। अमिताभ बच्चनको मौनता र शत्रुघ्न सिन्हाको टुट्दै गरेको आवाजले एउटै कुरा भनिरहेको छ, एउटा युगको अन्त्य भयो।

अमिताभ बच्चनले एक्स ह्यान्डलमा साथीलाई सम्झँदै आफ्नो दुख व्यक्त गरेका थिए। र अब शत्रुघ्न सिन्हाले एक अन्तर्वार्तामा उनको बारेमा कुरा गर्दै आफूलाई उनी चाँडै निको हुन्छन् जस्तो लागेको बताएका छन्।

धर्मेन्द्र जब अस्पतालबाट घर आएका थिए, तब शत्रुघ्न सिन्हा उनलाई भेट्न त्यहाँ पुगेका थिए। धर्मेन्द्रको निधनपछि सिन्हाले भनेका छन्, धर्मेन्द्र, यस धर्तीका सबैभन्दा सुन्दर मानिस थिए। जब हामी सँगै हिँड्थ्यौं, तब ब्युटी एण्ड द बिस्ट जस्तै देखिन्थ्यौं। अर्को दिन जब म र मेरी पत्नी उनलाई भेट्न घर गएका थियौं, उनी मुस्कुराइरहेका थिए। बिरामी हुँदाहुँदै पनि उनी धेरै ह्यान्डसम र चम्किला देखिइरहेका थिए। हामीलाई लागेको थियो कि उनी निको भइरहेका छन्। सायद त्यो एउटा सपना थियो। हामी वास्तवमै यस्तो सोच्न चाहँदैनौं कि जसलाई हामी माया गर्छौं, उनी एक दिन हामीबाट टाढा जानेछन्।’

परिवारसँगको आफ्नो सम्बन्धबारे कुरा गर्दै अभिनेताले भने, ’म धर्मेन्द्र र हेमाको बराबर नजिक थिएँ। मलाई सोच्दा पनि डर लाग्छ कि उनी कुन अवस्थाबाट गुज्रिरहेकी होलिन्। उनले जीवनभर एकै मानिसलाई माया गरिन्। मलाई उनलाई फोन गर्न मन लागिरहेको छैन। अहिले त होइन।’

त्यस्तै, एक्स ह्यान्डलमा अभिनेता धर्मेन्द्रसँग आफ्ना केही तस्बिरहरू शेयर गर्दै उनले लेखेका छन् , ’हाम्रा सबैभन्दा प्यारा पारिवारिक साथी, हाम्रा ठूला दाइ, जनताका नायकको निधनले मन छिया–छिया भएको छ। धेरै पीडा र दुख लागेको छ। धर्मेन्द्र सबैभन्दा प्रिय, धर्ती पुत्र, पञ्जाब÷महाराष्ट्रको गौरव, सही अर्थमा भारत रत्न, जमिनसँग जोडिएका, दयालु र विनम्र व्यक्ति थिए। फिल्म उद्योगमा उनको महान योगदानका लागि उनलाई सधैं सम्झिइनेछ। एक पूर्ण व्यक्तित्व, हीम्यान–स्टारको एउटा युग समाप्त भयो। फिल्म उद्योगमा मेरो पहिलो नायक र जनताका नायक अब रहेनन्। यो हामी सबै र सम्पूर्ण उद्योगका लागि अपूरणीय क्षति हो। यस दुखद समयमा परिवार, साथीभाइ, शुभचिन्तक र प्रशंसकहरूलाई शक्ति प्रदान गरुन्। ओम शान्ति।’

यस्तै शोकमा छन् धर्मेन्द्रका अर्का यार अमिताभ बच्चन । करिब ५० वर्षअघि भारतमा रिलिज भएको बलिउड चलचित्र शोले सबैभन्दा धेरै हेरिएको चलचित्र हो । यही चलचित्रका दुई प्रमुख पात्र थिए वीरु अर्थात धमेन्द्र र जय अर्थात अभिताभ बच्चन । हिजोबाट उनीहरु सधैका लागि छुटिएका छन् ।

सोमबार सहकर्मी अभिनेता धमेन्द्रको निधनपछि अमिताभ बच्चनले सोसल मिडिया एक्समा आफ्नो भावना व्यक्त गर्दै आफूले एक बहादुर र दिग्गज योद्दा गुमाएको टिप्पणी गरेका छन् । धर्मेन्द्रले मञ्च छाडेर गएसँगै सहनै नसकिने धुनसहितको खामोशी छाडेर गएको टिप्पणी अमिताभले गरेका छन् ।

अमिताभ बच्चनले लेखेका छन्, उनी महानताका पहिचान थिए । आफ्नो दमदार उपस्थितिको कारणमात्र नभएर करुणा र सादगी जीवनका लागि पनि उनी परिचित थिए। उनले आफ्नो साथ पन्जाबको त्यो गाउँको माटाको पनि सादगी लिएर आएका थिए, जहाँबाट उनी निस्किन्थे । आज मेरो छेउछाउमा एउटा शून्यता छाएको छ, यस्तो शून्यता जुन अब कहिल्यै भरिँदैन । अमिताभ बच्चन र धर्मेन्द्रको सम्बन्धलाई पर्दामा मात्र होइन, वास्तविक जीवनमा पनि शोले फिल्मको ’जय–वीरू’ को मित्रतासँग दाँजिन्छ। धर्मेन्द्र बलिउडमा स्थापित भइसकेका बेला अमिताभ संघर्ष गर्दै थिए।

भनिन्छ, ’शोले’ फिल्ममा अमिताभलाई ’जय’ को भूमिका दिलाउन धर्मेन्द्रले नै सिफारिस गरेका थिए। अमिताभले धर्मेन्द्रलाई सधैं ठूलो दाइ र आफ्नो प्रेरणाको स्रोत मानेका छन्। धर्मेन्द्रको निधनले अमिताभले आफ्नो ’वीरू’ गुमाएको महसुस गरेका छन्।

उता शत्रुघ्न सिन्हा र धर्मेन्द्रको सम्बन्ध अत्यन्तै गाढा र पारिवारिक थियो। उनीहरूले सन् १९७४ को सुपरहिट फिल्म ’दोस्त’ मा एकसाथ काम गरेका थिए, जसले उनीहरूको वास्तविक जीवनको मित्रतालाई पनि प्रतिबिम्बित गथ्र्यो।

सिन्हा धर्मेन्द्रलाई धरतीका सबैभन्दा सुन्दर मानिस र आफ्नो “पहिलो हिरो“ मान्थे। उनी धर्मेन्द्रको स्पष्टवक्ता र दयालु स्वभावको ठूलो प्रशंसक थिए। अमिताभ बच्चन र शत्रुघ्न सिन्हाबीच ७० र ८० को दशकमा समकालीन स्टारहरू बीच कडा प्रतिस्पर्धा थियो।

काला पत्थर र दोस्ताना जस्ता फिल्महरूमा उनीहरूको ’ईगो क्ल्याश’ को चर्चा खुबै चलेको थियो। तर, समयसँगै उनीहरूको सम्बन्ध सुमधुर भयो र पछि उनीहरू असल साथी बने। यी तीनैजना लेजेण्डहरू एकै फिल्ममा पूर्ण भूमिकामा विरलै देखिएका छन्, तर केही फिल्महरूमा उनीहरूको संयोग जुरेको छ ।

१९७४ मा दोस्त फिल्ममा धर्मेन्द्र र शत्रुघ्न सिन्हा मुख्य भूमिकामा थिए भने अमिताभ बच्चनले विशेष अतिथि भूमिका निर्वाह गरेका थिए। यस्तै १९८१ मा आएको चलचित्र नसीबमा अमिताभ र शत्रुघ्न सिन्हा मुख्य भूमिकामा थिए भने धर्मेन्द्रले एउटा गीतमा विशेष उपस्थिति जनाएका थिए। यस्तै अन्धा कानूनमा पनि तीनैजनाको अप्रत्यक्ष उपस्थिति रहेको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.