१० मंसिर, काठमाण्डौ ।
आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज दल दर्ता गर्ने अन्तिम दिन रहेको छ । मंगलबारसम्म कूल ८० वटा राजनीतिक दलले दल दर्ता गराएका छन् । दल दर्ताको अवधि सकिनु एक दिनअघि हिजो एमालेले पनि दल दर्ता गराएको छ ।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार चुनाव प्रयोजनका लागि दर्ता हुने दलको संख्या कांग्रेस, एमालेसहित ८० वटा पुगेको छ । दर्ता भएका दलहरुले आउँदो फागुन २१ का लागि तोकिएको चुनावमा भाग लिन पाउनेछन् ।
यसबीच दल दर्ताका लागि आज अन्तिम दिन भएकाले अधिकाँशको ध्यान रास्वपासहित केही चर्चित अनुहारहरुले गठन गरेका पार्टीहरु एक भएर चुनावमा जान्छन् वा कसरी अगाडि बढ्छन् भन्नेमा पनि केन्द्रित देखिन्छ ।
यसमा ऊर्जामन्त्री कुलमान घिसिङको संरक्षकत्वमा खुलेको उज्यालो नेपाल पार्टीले के गर्ला भन्नेमा बढी चासो छ । उसो त यो दलले रञ्जिता श्रेष्ठको नेतृत्वमा रहेको नागरिक उन्मुक्ति पार्टी (नाउपा) नेताहरूलाई भित्र्याउने तयारी अघि बढाइसकेको छ ।
उज्यालो नेपाल पार्टी गठन हुँदा विगतमा नाउपामा आस्था राख्ने केही नेताहरु प्रवेश गरिसकेको उज्यालो नेपाल पार्टीका नेताहरूको दाबी छ । उज्यालो नेपालले नाउपासँग पार्टी एकता नगरी नेता कार्यकर्ता भित्र्याउने रणनीति बनाएको छ ।
नाउपाका प्रदेश र स्थानीय तहमा निर्वाचित नेताहरूसँग छलफल भइरहेको पनि नेताहरुले बताएका छन् । गत निर्वाचनमा नाउपाबाट कैलालीस्थित टीकापुर नगरपालिकाको प्रमुख पदमा निर्वाचित रामलाल डगौरा थारुले उज्यालो नेपालसँग छलफल भएको जानकारी गराए ।
डगाौराको दाबी अनुुसार, केही दिनभित्रमा उज्यालो नेपालसँग मिल्नका लागि टुंगो लाग्नेछ । उज्यालो नेपालका नेताका अनुसार नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठलाई भने भित्र्याउने पक्षमा उक्त दल रहेको छैन ।
यस्तै दलित अभियन्ता खगेन्द्र सुनारको हाम्रो पार्टी नेपालसंग पनि एकता गर्नेगरी छलफलमा चलिरहेको छ । यता सबैभन्दा बढी चासोका साथ हेरिएको र कयौं पटक छलफलसमेत भइसकेको राष्ट्रिय स्वतन्त्र पार्टीसंगको एकताका लागि पनि आज अन्तिम कसरत भइरहेको छ ।
आज दल दर्ता गर्ने अन्तिम दिन भएकाले यी दुई नयाँ पार्टी एक ठाउँमा ल्याएर पुराना पार्टीलाई धक्का दिन अन्तिम कसरत भएको हो । यसका लागि रास्वपाबाट उपसभापति स्वर्णिम वाग्ले र शिशिर खनालले वार्ता गरिरहेका छन् ।
यस्तै, उज्यालोबाट प्रवक्ता सूर्य थापा, गणेश घिसिङ छलफलमा छन् । कुलमान घिसिङ आफैँले पनि संवाद गरिरहेका छन् । यता काठमाडौँ महानगरमा मेयर बालेन्द्र शाहको टिमसँग पनि छलफल भइरहेको नेताहरुले बताएका छन् ।
सम्भवतः सहमति जुटे आज यी सबै एक भएर जानेछन् । रास्वपासँग मिल्नको लागि कार्यकारी सभापतिको अडान राखेका घिसिङ लचक भएपछि मिल्ने सम्भावना बढेको हो । यता बालेन्द्र शाहको साथ घिसिङलाई रहेको उज्यालो नेपाल पार्टीका नेताहरू दाबी गर्छन् ।
सोही आधारमा उनेपाले घिसिङलाई भावी प्रधानमन्त्री घोषित गर्दै चुनावमा होमिने निर्णय गरिसकेको छ । उसले आक्रामक संगठन विस्तार थालिसकेको छ । सोमबार मात्र बागमती प्रदेश कमिटी बनाएको छ ।
उज्यालो पार्टीले बनाएको यो नै पहिलो प्रदेश संगठन हो, जहाँ कुलमान घिसिङको सबैभन्दा बढी प्रभाव रहेको मानिन्छ । तर, बालेन्द्रका मुख्य सहयोगी कुमार बेनसहित केहीले रास्वपा र घिसिङसँग प्रत्यक्ष भेटवार्ता गर्दै मिलेर जान दबाब बढाएका छन् ।
रास्वपाको कार्यकारी सभापति पाए मात्र सहकार्य गर्ने अडान लिएका घिसिङलाई मध्यमार्गी प्रस्ताव राखिएको छ । त्यो भनेको उनलाई चुनावपछिको संसदीय दलको नेता अर्थात प्रधानमन्त्रीको उमेद्वार बनाएर जानेमा छलफल चलिरहेको छ ।
अब घिसिङलाई भावी प्रधानमन्त्री बनाएर चुनावमा जान रास्वपा तयार भए पनि केही विषयमा समझदारी जुट्न बाँकी रहेको उज्यालोका एक नेताले बताएका छन् । उनका अनुसार चुनाव चिह्न घण्टी नै राख्ने कुरामा सहमति भएको छ ।
अब नामका विषयमा उज्यालो नेपाल कहीँ कतै जोड्न सके राम्रो भन्ने मात्र हो,’ ती नेताले भने, ‘कसकसलाई जिम्मेवारी दिने? उम्मेदवार कसरी बनाउने? यो मिलाउनुपर्छ। एकदुई जनालाई व्यवस्थापन गरेर भएन । प्याकेजमै सहमति गर्नुप¥यो।’
उनेपाका नेताहरूबीच आन्तरिक छलफल हुँदा मिल्ने सम्भावना अधिक रहेको ब्रिफिङ भएको छ । प्रवक्ता सूर्य थापाले पनि एउटै दल बनाएर जानको लागि छलफल भए पनि परिणाम आइनसकेको बताएका छन् ।
जसका लागि आज दिनभर प्रयास जारी रहने बताइएको छ । तर सोमबार बेलुकासम्म धेरै विषयमा समझदारी भए पनि मंगलबार त्यसले निरन्तरता नपाउँदा एउटै दल बनाएर दर्ता गर्ने सम्भावना कमजोर बनेको पनि केही नेताहरुले बताएका छन् ।
यता रास्वपाका सचिवालय सदस्य शिशिर खनालले एकता हुन नसके चुनावमा उज्यालो नेपाल पार्टीसँग सहकार्य हुने पनि बताएका छन् ।यसबीच सुमना श्रेष्ठ फेरि छलफलमा सक्रिय भएकी छन् ।
उनी सोमबार घिसिङ भेट्न उनको निवासमै पुगेकी थिइन् । उनीहरुबीच लामै छलफल भएको थियो । उज्यालोले विभिन्न दल र समूहसँग वार्ता गर्न डा तारा जोशीको नेतृत्वमा समिति बनाएको छ ।
त्यसबाहेक घिसिङ आफैँले रास्वपा, काठमाडौँका मेयर बालेन्द्र शाह लगायतसँग छलफल गरिरहेका छन् । सीके राउतको जनमत, नागरिक उन्मुक्ति पार्टी, हर्क साम्पाङको श्रम संस्कृति पार्टीसँग सहकार्यको लागि पनि छलफल भइरहेको छ ।
यसबीच आज रास्वपासंग सहमति जुटे कुराहरु नयाँ ढंगले अघि बढ्नेछ । नत्र उज्यालो नेपाल पार्टीले मंसिर १७ गते १२ बजे प्रज्ञा भवन कमलादीमा पार्टी घोषणा सभा आयोजना गरिएको छ ।
अनुपकुमार उपाध्यायको नेतृत्वमा उज्यालो नेपाल पार्टी निर्वाचन आयोगमा दर्ता भई मान्यता प्राप्त गरिसकेको छ । उज्यालो नेपालमा हाल केन्द्रीय सदस्यको संख्या ५१ सदस्यीय छ । उज्यालो नेपालले मंसिर १७ गते घोषणा सभा गर्ने जनाएको छ ।








