११ मंसिर , काठमाण्डौ ।
नेपालबाट बंगलादेशले थप २० मेगावाट बिजुली लैजाने निर्णय गरिएको छ । आज बसेको नेपाल–बंगलादेश ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समिति (जेएससी)को सातौँ बैठकबाट यस्तो निर्णय गरिएको हो ।
बंगलादेशले हाल नेपालबाट ४० मेगावाट विद्युत् लगिरहेको छ । थप २० मेगावाट विद्युत् आवश्यक प्रक्रिया पूरा गरी लैजाने निर्णय गरिएको हो । यस्तै, सुनकोसी–३ जलविद्युत् आयोजनामा लगानी अघि बढाउन बंगलादेशले मूल्यांकनका निम्ति विशेषज्ञ समिति गठन गरी जेभीए छिटो टुंग्याउने निर्णय गरिएको छ ।
नेपालबाट भारतीय ग्रीड हुँदै बरापुकारया, पञ्चगढ÷ठाकुरगाउँ, भेरामारा र कोमिल्ला सम्म विद्युत् निर्यात सम्भावना अध्ययन गर्ने निर्णय पनि बैठकबाट गरिएको छ।
दुई देशले नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता प्रवद्र्धनसम्बन्धी समझदारीपत्रमा आ–आफ्नो आन्तरिक प्रक्रिया पूरा गरी हस्ताक्षर गर्ने र उक्त सम्झौताअन्तर्गत बंगलादेशले नेपाललाई ऊर्जा परीक्षण, ईभी चार्जिङ, रुफटप सोलारलगायत क्षेत्रमा प्राविधिक सहयोग प्रदान गर्ने सहमति गरेका छन् ।
दुवै देशबीच क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गर्न प्रथम चरणमा बंगलादेशी पक्षका निम्ति काठमाडौंमा र त्यसपछि नेपाली पक्षका लागि बंगलादेशमा तालिम सञ्चालन तथा नेपाल–भारत–बंगलादेश त्रिदेशीय ऊर्जा सहकार्यसम्बन्धी समझदारीपत्र (एमओयू)मा भारतको सहमति लिन संयुक्त प्रयास गर्ने निर्णय समेत गरिएको छ।
बंगलादेशको ढाकामा सम्पन्न बैठकमा नेपालका तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव चिरञ्जीवी चटौत र बंगलादेश सरकारका तर्फबाट विद्युत्, ऊर्जा तथा खनिज मन्त्रालयकी सचिव फर्जाना ममताजको उपस्थिति थियो ।
यसअघि, यही मंसिर १० गते संयुक्त कार्यदल (जेडब्ल्यूजी)को बैठक बसेको थियो । यसले अघि सारेका सिफारिसमा सचिवस्तरीय बैठकमा विस्तृत छलफल गरिएको ऊर्जा मन्त्रालयका प्रवक्ता सन्दीपकुमार देवले जानकारी दिए ।
नेपाल र बंगलादेशबीच क्षमता अभिवृद्धि कार्यक्रम सुरु गर्ने र बंगलादेशी पक्षका लागि पहिलो चरणको क्षमता अभिवृद्धि कार्यक्रम काठमाडौंमा एवं नेपाली पक्षका लागि बंगलादेशमा क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको छ ।









