ईश्वरलाई महेशको चुनौती,ओलीलाई सहयोग गर्नु नभए बिदा लिनु

ईश्वरलाई महेशको चुनौती,ओलीलाई सहयोग गर्नु नभए बिदा लिनु

१२ मंसिर, काठमाण्डौ ।

नेकपा एमाले आसन्न महाधिवेशनका लागि देशभर चुनावी तयारीमा जुटेको छ । करिब २४ सय भन्दा बढी प्रतिनिधि छनोटका लागि आज सहमति नभए भोलि देशभर निर्वाचन हुने तालिका छ ।

प्रतिनिधि छनोटकै क्रममा आफ्ना पक्षका कार्यकर्ताहरूलाई जिताउन अहिले केपी शर्मा ओली समूह र ईश्वर पोखरेल समूहबीच कित्ताकाट समेत देखिन थालेको छ । भूगोल, केन्द्रीय कमिटी, विभागहरू, विदेशस्थित प्रवास कमिटी र जनवर्गीय संगठनबाट गरी करिब २४ सय महाधिवेशन प्रतिनिधि हुने जनाइएको छ ।

महाधिवेशनबाट अध्यक्षमा तेस्रो कार्यकालका लागि दोहोरिने अध्यक्ष केपी शर्मा ओलीले घोषणा गरिसकेका छन् भने उनलाई यसअघि २ पटक अध्यक्षमा सहयोग गरेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्षमा चुनौती दिने घोषणा गरिसकेका छन् ।

अध्यक्षमा उम्मेदवारी दिने घोषणापछि भए सहमति नभए प्यानलै उम्मेदवारी दिने रणनीतिमा रहेका पोखरेलले ओलीका विश्वासपात्रले भने अध्यक्ष बन्न सपना नदेख्न भन्दै दुई विकल्प दिएका छन् ।

पोखरेलले अध्यक्षमा उम्मेदवारी घोषणा गरेकामा प्रतिक्रिया जनाउँदै पोलिटब्युरो सदस्य बस्नेतले पार्टीको एकतामा योगदान गर्न नसक्ने हो भने ’सहर्ष बिदा’ लिन भनेका छन्।

’नेकपा एमालेले आन्तरिक र बाह्य दुवै मोर्चाबाट कठोर दबाब झेलिरहेका बेला वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलद्वारा जारी गरिएको विज्ञप्तिले पार्टीभित्र अनावश्यक तरंग, प्रतिस्पर्धा र द्वन्द्वको वातावरण सिर्जना गरेको छ,’ उनले बिहीबार बेलुकी सामाजिक सञ्जालमा लेखेका छन्, ’यदि योगदान गर्न सकिन्छ भने निसर्त एकता, सकिँदैन भने सहर्ष विदाइ नै ईश्वर पोखरेलको निम्ति सही विकल्प हो।’

’पार्टी चुनावतिर अघि बढ्दैछ, राष्ट्रिय राजनीति निर्णायक मोडमा छ, विदेशी–स्वदेशी शक्तिहरू एमाले र अध्यक्ष ओलीमाथि निरन्तर प्रहार गरिरहेका छन्। यस्तो अवस्थामा प्रतिस्पर्धा होइन, नेतृत्वको स्थिरता पार्टीलाई मजबुत बनाउने बाटो हो। अनेक प्रोपगान्डा गरेर कमजोर बनाउने अर्को चक्र नबनोस्!’ उनले भनेका छन्।

उनले एमालेको निम्ति आजको प्रश्न ’कसले नेतृत्व दाबी गर्छ’ होइन, ’कसले पार्टी बचाउन सक्छ’ हो भन्ने उल्लेख गरेका छन् । वर्तमान राष्ट्रिय परिस्थिति, भू–राजनीतिक उतारचढाव र एमालेमाथिको योजनाबद्ध प्रहारबीच पार्टीलाई मजबुत संगठन, सही कार्यदिशा र जुझारू सशक्त क्रान्तिकारी पंक्ति चाहिएको उनले बताएका छन्।

यो केपी ओलीकै नेतृत्वमा सम्भव भएको उनको भनाइ छ। ’एमालेभित्र बाहिरी आक्रमण रोक्न चाहिने कुरा प्रतिस्पर्धा एकता, अनुशासन र संगठनको दृढताबाट मात्र सम्भव हुन्छ। पोखरेलजस्ता नेता एमालेका सम्पत्ति हुन्, तर संवेदनशील घडीमा नेतृत्व बदल्ने होइन, नेतृत्वलाई कसिलो बनाउने समय हो। पार्टी, देश र कार्यकर्ताको चाहना स्पष्ट छ — स्थिर एमाले, एकजुट एमाले, ओली नेतृत्वमा संगठित एमाले,’ बस्नेतले भनेका छन्।

व्यक्तिगत आकांक्षा कहिल्यै पार्टीभन्दा ठूलो हुन सक्दैन र पार्टी कहिल्यै देशभन्दा ठूलो हुन सक्दैन भन्ने पनि उनले उल्लेख गरेका छन्। कुनै समय केपी शर्मा ओलीलाई एमालेको नेतृत्वमा स्थापित गराउन ’किङ मेकर’ को भूमिका खेलेका पोखरेल भने अब उनै ओलीलाई बिदा गर्ने निष्कर्षमा पुगिसकेका छन् ।

ओलीलाई नवौँ महाधिवेशनदेखि साथ दिँदै आएका पोखरेल एमालेको आउँदो ११औँ राष्ट्रिय महाधिवेशनमा ओलीसँगै प्रतिस्पर्धामा उत्रिने भएका छन् । मंसिर २७ मा सुरु हुने एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा पोखरेलले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेसँगै पार्टीभित्रको शक्ति संघर्ष अब औपचारिक हिसाबले मैदानमा देखिएको छ ।

तर, पार्टी संयन्त्रमा ओलीको एकछत्र पकड र विगतको विरासतका कारण पोखरेलका लागि यो प्रतिस्पर्धा ’फलामको चिउरा’ सरह हुने देखिन्छ । पूर्वराष्ट्रपतिसमेत रहेकी विद्यादेवी भण्डारीले एमालेको सक्रिय राजनीतिमा आउने प्रयास सुरु गरेपनि ओलीले रोकेपछि पोखरेल भण्डारीकै सहयोगमा ओलीसँग प्रतिस्पर्धा गर्ने मनस्थितिमा पुगेका छन् ।

एमालेभित्र ओलीको पकड अत्यधिक मानिन्छ । विधानको दुई कार्यकालको सीमा र ७० वर्षे उमेर हद हटाएर ओली पुनः अध्यक्षमा तेहेरिने योजनामा छन् । यस्तो अवस्थामा संगठनमा एकलौटी पकड जमाएका ओलीसँग भिड्न पोखरेललाई हम्मे–हम्मे पर्नेछ ।

तर जेन जी आन्दोलनको क्रममा सरकारको नेतृत्वमा बसेर व्यापक बल प्रयोग गरेको भन्दै ओलीले आलोचना खेपिरहेका छन् । पार्टी बाहिर मात्र नभएर, जेन जी आन्दोलनपछि बसेको एमाले सचिवालय बैठकमा ओलीलाई राजीनामा दबाब परेको थियो ।

सचिवालयमा अल्पमतमा परेपछि ओलीले ’राजीनामा नदिने’ बरु ’अर्ली महाधिवेशन गर्ने’ भन्दै केन्द्रीय कमिटीको बैठक डाकेका थिए । र, महाधिवेशनको मिति प्रस्ताव पारित गराएका थिए ।

यता अध्यक्षपछिको शक्तिशाली र भावी अध्यक्षको दाबेदारी मानिने नेकपा एमालेको दोस्रो शक्तिशाली पद महासचिव बन्न पनि नेताहरुको तीव्र प्रतिस्पर्धा चलिरहेकोछ । दसौँ महाधिवेशनमा महासचिव निर्वाचित शंकर पोखरेल नै ओलीको पहिलो रोजाइमा पर्ने निकटस्थहरू बताउँछन्।

ओलीलाई निरन्तर साथ दिएका उनी एमालेभित्र वैचारिक नेता मानिन्छन्। उनलाई महासचिवमा दोहो¥याउने योजनामा ओली रहेको उनी निकट नेता बताउँछन्। तर, ओलीसँगै रहेका उपमहासचिव प्रदीप ज्ञवाली महासचिव पदका अर्का बलिया दाबेदार हुन्।

बौद्धिक र मिजासिलो स्वभावका ज्ञवाली ओलीको मन जितेर विश्वास आर्जन गरेका नेता हुन्। यस्तै, उपमहासचिवको दोस्रो नम्बरमा रहेका पृथ्वीसुब्बा गुरुङ पनि महासचिवका दाबेदार हुन्।

नेतृत्वले टुंगो नलगाए आफूले महासचिवमा उम्मेदवारी दिने उनको भनाइ छ। दसौँ महाधिवेशनमा सचिव जितेका गोकर्ण विष्ट र योगेश भट्टराई ईश्वर समूहबाट महासचिव उम्मेदवार बन्न चाहेका छन्।

तर, योजना परिवर्तन हुनसक्ने भएको भन्दै पोखरेलले सुरेन्द्र पाण्डेलाई महासचिवको उम्मेदवार बन्ने तयारीमा रहन भनेका छन्। पाण्डे दसौँ महाधिवेशनमा उपाध्यक्ष निर्वाचित भएका हुन्।

उपाध्यक्ष भइसकेको भएर पाण्डे तयार नभए यो समूहबाट योगेश भट्टराई र विष्टमध्ये एक जना महासचिव उम्मेदवार बन्न सक्ने नेताहरुले बताएका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.