कुलमानको उज्यालो नेपालले उम्मेद्वारी माग्यो,रास्वपासँग के हुँदैछ ?

कुलमानको उज्यालो नेपालले उम्मेद्वारी माग्यो,रास्वपासँग के हुँदैछ ?

१२ मंसिर, काठमाण्डौ ।

कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीले आगामी फागुन २१ गते हुने निर्वाचनको उम्मेदवारका लागि खुला आवेदन आह्वान गरेको छ। सो पार्टीले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवारी दिन चाहनेहरूले आगामी मंसिर २९ गते भित्र आवेदन दिन आग्रह गरेको हो।

निर्वाचनका लागि योग्य, सक्षम र स्वच्छ छवि भएका, देशको उज्यालो भविष्य निर्माणका लागि स्पष्ट मार्गचित्र कोर्नसक्ने व्यक्तिहरूबाट उम्मेदवारीको लागि २०८२ साल मंसिर २९ गतेसम्म खुला आवेदन आह्वान गरिएको पार्टीका प्रवक्ता डा. राजु थापाले जानकारी दिए।

उनले भने,‘उज्यालो नेपाल पार्टीले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि योग्य, सक्षम र स्वच्छ छवि भएका, देशको उज्यालो भविष्य निर्माणका लागि स्पष्ट मार्गचित्र कोर्नसक्ने व्यक्तिहरुबाट उम्मेदवारीको लागि २०८२ साल मंसिर २९ गतेसम्म खुला आवेदन आह्वान गर्दछ।’

आवेदन दिँदा आफूले उठ्न चाहेको निर्वाचन क्षेत्र उल्लेख गर्न पनि सो पार्टीले भनेको छ। प्रवक्ता थापाले उम्मेदवारी दिँदा उज्यालो नेपाल बनाउने मार्गचित्र सहितको उम्मेदवारलाई प्राथमिकता दिइने बताए।

यस्तै कुलमान घिसिङ संरक्षक रहेर खुलेको उज्यालो नेपाल पार्टी मंसिर १७ गते औपचारिक रूपमा घोषणा हुने भएको छ। पत्रकार सम्मेलन गरेर १७ गते, दिउँसो १ बजेदेखि ४ बजे सम्म, प्रज्ञा भवन, कमलादी, काठमाडौंमा घोषणा सभा हुने जानकारी गराइएको हो।

कार्यक्रमका प्रमुख अतिथि उर्जामन्त्री मन्त्री कुलमान घिसिङ रहनेछन्। सो अवसरमा उज्यालो नेपाल पार्टीको दीर्घकालीन दृष्टि, मूल ध्येय र विस्तृत घोषणापत्र २०८२, औपचारिक रूपमा सार्वजनिक गर्ने समेत जनाइएको छ।

पार्टीको सैद्धान्तिक दृष्टिकोण, प्राथमिकता र कार्य योजनालाई स्पष्ट रूपमा सार्वजनिक गर्ने विज्ञप्तिमा उल्लेख छ। विज्ञप्तिमा भनिएको छ, ‘हामी दलहरूको भीडमा थप एक नयाँ दलको रूपमा मात्रै आएका होइनौँ । हामीसँग उज्यालो सपनालाई साकार पार्नसक्ने नेतृत्व, कार्यकुशलता र अनुभव छ । आम नेपाली जनताले विश्वास र भरोसा गरेको नेतृत्व छ । कुरा गरेर होइन, कामबाट प्रमाणित नेतृत्व छ ।’

उज्यालो नेपाल पार्टी, समान सोच र दृष्टिकोण भएका नयाँ तथा वैकल्पिक राजनीतिक दल, सङ्घ, संगठन, सरोकारवाला समूह र व्यक्तिहरूसँग सहकार्य गर्न इच्छुक रहेको जनाइएको छ।

जेनजी आन्दोलनबाट प्राप्त उपलब्धिहरूलाई संस्थागत गरी समृद्ध राष्ट्र निर्माणार्थ परिणाममुखी संवादमार्फत एकजुट हुन हार्दिक आह्वान गरेको छ। उज्यालो नेपाल पार्टीको संरक्षक भनिएका कुलमान घिसिङ भने काठमाडौंको क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिने तयारीमा छन् ।

निर्वाचन आयोगको उम्मेदवारी दर्ता कार्यतालिका अघि बढेपछि कुलमानले मन्त्री पदबाट राजीनामा दिएर चुनावमा होमिने तयारी गरेका छन् । रामेछाप घर भए पनि कुलमानले पहिलो चुनाव काठमाडौं क्षेत्र नम्बर ३ बाट लड्ने तयारी गरेको संकेत उनले केही दिन अघि सार्वजनिक एक अन्तरवार्तामा गरिसकेका छन् ।

उनले मतदाताको नामावलीपनि काठमाडौं ३ मा नै सारिसकेका छन् । यसअघि रामेछापको सुनापति गाउँपालिका बेथानबाट मतदान गर्दै आएका कुलमानले यसपटक काठमाडौं ३ बाटै चुनाव लड्ने गरी मतदाता नामावली सारेका हुन् ।

यद्यपि उनलाई जन्मस्थल रामेछापबाट उम्मेदवार बन्न प्रस्ताव आइरहेको नेताहरुले बताएका छन् । २०७९ सालको चुनावमा काठमाडौं ३ बाट कांग्रेसका सन्तोष चालिसे विजयी भएका थिए ।

यस क्षेत्रमा रास्वपाका उम्मेदवार दुर्गाविक्रम थापाले तेस्रो भएका थिए । आगामी चुनावका लागि रास्वपा र उज्यालो पार्टी एक नभएपनि चुनावी एकता गर्ने तयारीमा कुलमान रहेको बताइएको छ ।

दुवै दलका नेताहरुले कार्यगत एकताका लागि छलफल भइरहेको बताएका छन् । कुलमानले सुरुमा रास्वपामा रवि लामिछानेलाई संरक्षक राखेर र आफू अध्यक्ष बन्न खोजेपनि रास्वपाले अस्वीकार गरेको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.