नेपाली कांग्रेसको सभापतिमा कसले बाजी मार्छन ?

नेपाली कांग्रेसको सभापतिमा कसले बाजी मार्छन ?

१९ मंसिर, काठमाण्डौ ।

नेपाली काङ्ग्रेसले १५ औं महाधिवेशन पुष २६ देखि २८गतेसम्म गर्ने निधो गरेपछि केन्द्रीय सभापतिका उम्मेदवारहरु को–को हुँदैछन् ? र त्यसमध्ये को सभापतिमा विजयी हुन्छ ? भनेर देशभित्र र बाहिर चर्चा चुलिएको छ ।

सभापतिमा उम्मेदवारी दिनेहरुमा प्रभावशाली नेता डा. शेखर कोइराला, कार्यबाहक सभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र कल्याण गुरुङ् त पक्कापक्की भइसकेका छन् । सभापतिमा उठनसक्ने अन्य उम्मेदवारहरुमा बिमलेन्द्र नीधि, कृष्ण सिटौला, डा. सशांक कोइराला, प्रकाशमान सिंह, विजयकुमार गच्छदार र गोपालमान श्रेष्ठ छन् ।

सात भाइ भनेर चिनिएकाहरुबाट एकजनामात्र सभापति उठ्ने हो भने पनि कम्तिमा पाँच जना सभापतिका उम्मेदवार हुन सक्ने विश्लेषण गर्छन नेपाल टाइम्सका नियमित स्तम्भकार डा. विजयप्रसाद मिश्र ।

मिश्र लेख्छन्, सात भाइबाट डा. शेखर कोइरालालाई प्रभावित पार्ने गरी अन्तिममा डा. सशांक कोइरालाको नाम सभापतिमा ल्याउन सक्छ । अथवा आपसमा सहमति नभएर कृष्ण सिटौला, बिमलेन्द्र नीधि र प्रकाशमान् सिंह तीन जनाले नै सभापतिमा उम्मेदवारी दिनसक्ने सम्भावना समेत उत्तिकै छ ।

सहमति विना बिजयकुमार गच्छदार, डा. सशांक कोइराला र गोपालमान श्रेष्ठले सभापतिको उम्मेदवारी दिने छैनन् । यहाँ डा. सशांक कोइरालामा सात भाइको सहमति भएन भने उनले डा. शेखर कोइरालालाई नै समर्थन गर्ने सम्भावना बढेको छ ।

कोइराला परिवार एक बन्नु पर्दछ भन्ने दवाव नेपाली काङ्ग्रेस भित्र पनि छ । कोइराला परिवारले नेपाली काङ्ग्रेसमा आफ्नो शक्तिको पुर्नजागरण गर्नका लागि डा. शेखर कोइरालालाई डा. सशांक कोइराला र सुजाता कोइरालाले समर्थन गरेको हुनु पर्दछ ।

अझ देशभरीका नेपाली काङ्ग्रेसको भावनालाई आफ्नो पक्षमा पार्नका लागि डा. शेखर कोइरालाले सभापतिको उम्मेदवारीका लागि घोषणा सभा गर्नु अघि डा. शेखर, डा.सशांक र सुजाता तीनै जनाले डा. सुनिल शर्माको कमाण्डमा विराटनगको जेन्जी आन्दोलनमा जलेको कोइराला निवासमा पुगेर अब नेपाली काङ्ग्रेसलाई बीपीवाद मार्फत पुर्नजागरण गराउने बताएका थिए ।

कोइराला परिवार एक भएको सन्देश गयो भने पुरानो राजनीतिक शहरको रुपमा चिनिएको बिराटनगरले फेरी काँङ्ग्रेसको नेतृत्व गर्ने एकजना अभिभावक डा. शेखर कोइरालालाई नेपाली काङ्ग्रेसको सभापतिका रुपमा पाउनेछ ।

काङ्ग्रेसको पार्टी सभापति एकपटक फेरी पूर्व ल्याउनका लागि डा. शेखर कोइरालालाई महामन्त्री विश्व प्रकाश शर्मा, कृष्ण सिटौला, विजयकुमार गच्छदार लगायतले सहयोग गर्नुपर्दछ । वि.सं. २००७ सालदेखि नेपालमा राजसंस्था रहुन्जेलसम्म नेपालको शासन सत्ता कि त नारायणहिटी दरवारमा कि त बिराटनगरको कोइराला निवासमा आउने जाने गरेको इतिहास साँक्षी छ ।

बीपी कोइरालाको पालाको नेपाली कांङ्ग्रेसको विधानमा संवैधानिक राजसंस्था र धार्मिक स्वतन्त्रतालाई आत्मसाथ गरेको थियो । कोइराला परिवार र राजपरिवार बीचको आपसमा अधिकारका लागि टकराब भइरहेता पनि राष्ट्रियताको मामलामा बीपी कोइरालाले ‘राजा र मेरो घाँटी जोडिएको छ’ भनेजस्तै अहिले जेनजी आन्दोलनपछिको तरल राजनीतिक अवस्थामा सबै क्षेत्रलाई टाउको उठाइरहेका बेला कोइराला परिवारले काङ्ग्रेसको नेतृत्व सम्हालेर देशकै शासकीय बागडोर लिने वातावरण बनाउनु पर्ने एकथरी प्रयासरत रहेका छन् ।

राष्ट्र बचाउनका लागि आँटिलो निर्णय लिनु पर्ने बेला आइसकेको छ । यस्तो आँटिलो निर्णय कित बीपी कोइराला र गिरिजाप्रसाद कोइरालाले लिएका थिए । अब त्यस्तो आँटिलो निर्णय लिने स्थानमा डा. शेखर कोइरालालाई पु¥याउन आवश्यक छ । नेपाली काङ्ग्रेसका लागि मात्र होइन देशकै लागि पनि अहिले यो आवश्यकता जस्तो बनिसकेको छ ।

श्रम संस्कृति पार्टी खोलेर हर्क साम्पाङ जसरी भूँई मान्छेको आवाज बनिरहेका छन् । उज्यालो नेपालमार्फत कुलमान घिसिङ अघिबढेर रबि लामिछाने र बालेन्द्र साहको साथ सहयोग खोजिरहेका छन् ।यस्तो घडीमा नेपाली काँग्रेसले पनि कहिल्यै मन्त्री समेत नभएका व्यक्तित्वलाई सभापति र प्रधानमन्त्रीको दावेदारको रुपमा अघि सार्नु पर्दछ ।

सभापतिका उम्मेदवार मध्ये डा. शेखर कोइराला बाहेक अरुसबै मन्त्री, उपप्रधानमन्त्री बनिसकेका व्यक्तित्वहरु हुन् । जनताले फ्रेस व्यक्तिलाईमात्र स्वीकार गर्दछन् । त्यसका लागि पनि डा. शेखर कोइराला जेन्जी आन्दोलन पछिको सबैभन्दा उपयुक्त उम्मेदवार हुन् ।

तर राजकाजमा कहिल्यै कुनै अनुभव नभएका कोइरालालाई एकै पटक सभापति र प्रधानमन्त्रीमा देख्न नचाहाने पंक्तिपनि कांग्रेस भित्र रहेको छ । जसले गगन थापालाई अघि सारिरहेको छ । यस अघि १४ औं महाधिवेशनमा सबैजना एकातिर लाग्दा समेत डा. शेखर कोइराला झिनो मतले शेरबहादुर देउवासँग पराजित भएका थिए ।

शेरबहादुर देउवा दुई पटक सभापति भइसकेकाले नेपाली काङ्ग्रेसको विधानले नै उनलाई तेस्रंो पटक सभापति बन्न रोक्दछ । काङ्ग्रेसको परम्परा अनुशरण गर्ने हो भने पनि डा. शेखर कोइरालाको अहिले सभापतिका सही दावेदार हुन् ।

मिश्र अगाडि लेख्छन्, तर, प्रजातन्त्र हो, निर्वाचनमा त जानै प¥यो । आगे नेपाली काङ्ग्रेसका महाधिवेशन प्रतिनिधिहरुको मर्जी भन्नु बाहेक थप केही भन्न सक्ने स्थिति छैन । बीपी कोइरालाका जेष्ठ सुपुत्र प्रकाश कोइरालालाई एक बर्षका लागि नेपाली काङ्ग्रेस पार्टीबाट निलम्बन गरिएको धेरै बर्ष भइसकेको छ ।

उनलाई काङ्ग्रेसले निलम्बन फुकुवा भएको पत्र दियो भने फेरी नेपाली काङ्ग्रेसमै ज्वाइन गर्न चाहिरहेका छन् । जेन्जी आन्दोलन पछिको परिवर्तित अवस्थामा कोइराला परिवार एकढिक्का भएर प्रकाश कोइरालाको अनुभवलाई समेत साथ लिएर अघि बढ्न उनको निलम्बन फुकुवा गराएर नेपाली काङ्ग्रेसमा प्रवेश गराउन सकियो भने नेपाली काङ्ग्रेस भित्रको संवैधानिक राजसंस्था समर्थकहरु र हिन्दू राष्ट्रको माग गरिरहेको ठूलो जमातलाई प्रकाश कोइरालाको नेपाली काङ्ग्रेसमा आगमनले नयाँ उर्जा थप्ने छ ।

ढिलोचाडो बीपीले राष्ट्रियताको सवालमा राजा र म एकसाथ छु भने जस्तै डा. शेखर कोइराला अर्थात सिंगो कोइराला परिवारले राष्ट्रियता खतरामा परेको महशुस गरेको अवस्थामा पूर्वराजालाई राजनीतिको मूलधारमा ल्याएर देश बचाउने साहसिक निर्णय समेत गर्न सक्दछन् ।

निर्मल निवासले कोइराला परिवारसँग त्यस्तै आशा गरिरहेको छ । पूर्वराजा ज्ञानेन्द्रले पछिल्लो समय राजनीतिक पार्टीको सहमति विना राजगद्दीमा नबस्ने सन्देश दिइसकेको सन्दर्भमा राजासँगको सहकार्य गरेर हिड्न सक्ने शक्ति भनेको नेपाली काँग्रेस हो र यसका लागि नेपाली काँग्रेसको सभापति डा. शेखर कोइराला हुनुपर्दछ भन्ने राजसंस्था र हिन्दू राष्ट्रका समर्थकहरुको आम बुझाई छ।

उता कार्यवाहक सभापति तथा बरिष्ठ उपाध्यक्ष रहेका पूर्णबहादुर खड्का समेत सभापति शेरबहादुर देउवाका प्रियपात्र व्यक्तित्व हुन् । उनलाई देउवाको साथ भएमा संस्थापन पक्षको मत पाउने सम्भावना रहन्छ । पार्टी सभापति देउवालाई निस्वार्थ भावनाले सहयोग गरेर बसेका पूर्ण बहादुर खड्कालाई देउवाले खुलेरै सहयोग गरेभने समीकरण थप बदलिनेछ ।

उता, कृष्ण सिटौला, विजयकुमार गच्छदार तथा पहिले देखि केमेष्ट्री मिलेका बिमलेन्द्र नीधिले खुलेर पूर्ण बहादुर खड्कालाई सहयोग गरेको खण्डमा पहिलो राउण्डमा डा. शेखर कोइराला र पूर्ण बहादुर खड्काको प्रतिस्पर्धा हुनेछ र तेस्रो नम्बरमा गगन थापा आउनेछन् ।

अन्त्यमा अर्थात दोस्रो राउण्डमा ५० प्रतिशत माथि मत ल्याउने गरी डा. शेखर कोइराला र पूर्ण बहादुर खड्कामध्ये कसको सभापति हुने सौभाग्य छ भन्नेकुरा गगन थापा र कल्याण गुरुङ्लाई भोटदिनेहरु जता ढल्किन्छन् उतै सभापति हुने चान्स बढेर जानेछ ।

अर्काेतर्फ पुर्णबहादुर, शेखर र गगन तीनै जना चुनावी मैदानमा उत्रिए गगन नै हाबी हुन सक्ने संभावना पनि देखिन्छ । शेखर पक्षको धेरै मत आफूमा आउने गगन पक्षको दाबी छ । तर शेखर र गगनलाई कुनैपनि हालतमा एक गराउन विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियान चलाएकाहरु लगिरहेका छन् ।

विश्लेषक मिश्र लेख्छन्,गगन थापाले क्षेत्री–क्षेत्री एक भन्ने गरेर आफूले महामन्त्रीमा पश्चिमबाट जसरी सुटुक्क मत पाएका थिए त्यसैगरी सुटुक्क–सुटुक्क क्षेत्री–क्षेत्री एक भन्ने डिजाइन यसपाली पनि बन्ने नै छ । गगन र उनका कोरग्रुपले त्यस्तै कुनै नयाँ नारा बनाएर पहिले पाएको मतको पैचो तिरेभने पूर्ण बहादुर खड्का सभापति हुनेछन् ।

गगन थापा आफूले निर्वाचन नजित्ने अवस्था भएपछि अमेरिकाको च्वाइसलाई शिरोधार्य गर्नतर्फ लागेभने पनि डा. शेखर कोइरालालाई भन्दा पूर्ण बहादुर खड्कालाई नै सहयोग गर्न गगनलाई पश्चिमको दवाव ह्वात्तै बढ्नेछ । यसको फाइदा पूर्णबहादुर खड्कालाई हुनेछ ।

हैन, बीपीको लिगेसीका लागि कोइराला परिवारलाई नै एकपटक नेतृत्व दिऔं भन्ने गगनलाई लाग्यो भने डा. शेखर कोइराला सभापति हुनेछन् । गगनले पाएको भोट बढी भयो भने उनले भनेर पनि दोस्रो चरणमा ती भोटहरु डा. शेखर कोइरालालाई पर्ने सम्भावना न्यून रहन्छ ।

नेपाली काङ्ग्रेसको महाधिवेशनमा भूराजनीतिक प्रभाव पर्दा देशभरीका हिन्दू राष्ट्रसमर्थकहरुलाई नेपाली काङ्ग्रेसको सक्रिय सदस्य लिन लगाएर महाधिवेशन प्रतिनिधिमा नयाँ क्रियाशील सदस्यको मतबाट प्रभावमा पारेर हिन्दू राष्ट्र र राजसंस्थालाई कुनै न कुनै रुपमा स्वीकार्ने शक्तिलाई काङ्ग्रेसको पार्टी सभापति हुन सहयोग गर्ने रणनीति बनाउन सक्दछन् ।

मिश्र भन्छन्, यस्तोमा पश्चिमा प्रति लोयल भएका गगन थापाभन्दा डा. शेखर कोइराला र पूर्ण बहादुर खड्का दुबैलाई लाभ हुने देखिन्छ । अमेरिकाको अलिबढी गन्ध आउने गगन थापालाई उत्तर र दक्षिण दुबैको ढोका बन्द हुने, पूर्ण बहादुर खड्कालाई दक्षिणको मात्र सद्भाव प्राप्त हुने र डा. शेखर कोइरालालाई दक्षिणको संस्थापन पक्ष र उत्तरको सद्भाव प्राप्त हुनेछ ।

नेपालभित्रको पार्टीगत गुटबन्दी र विदेशी प्रभावलाई दाँजेर हेर्दा नेपाली काङ्ग्रेसको सभापतिको निर्वाचन डा. शेखर कोइराला, पूर्ण बहादुर खड्का र गगन थापाकै बीच घुम्ने चेयरको खेलजस्तै हुनेछ ।

अन्तिममा कसले सभापतिको कुर्सी फेला पार्ने हुन् त्यसका बारेमा उम्मेदवारी हुनुभन्दा अगाडी एक्किन गर्न सकिदैन । तर, डा. शशांक कोइराला दाजु शेखर कोइरालाको पक्षमा कम्मर कसेर लागेभने शेखर कोइरालालाई सभापतिमा हराउन कठिन हुनेछ । आगे, काङ्ग्रेसजनको मर्जि ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.