२९ मंसिर , काठमाण्डौ ।
चालु आर्थिक वर्ष २०८२÷८३ को ४ महिनासम्म सरकारको खातामा २ खर्ब २ अर्ब ९७ करोड रुपैयाँ बराबर नगद मौज्दात छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको तथ्यांक अनुसार राष्ट्र बैंकमा रहेको नेपाल सरकारका विभिन्न खातामा उक्त परिमाण बराबर रकम मौज्दात रहेको छ ।
२०८२ असार मसान्तमा ती खातामा १ खर्ब ३० अर्ब ७३ करोड मौज्दात थियो । यस्तै चालु आर्थिक वर्ष कात्तिकसम्म शोधनान्तर स्थिति ३ खर्ब १८ अर्ब ४० करोडले बचतमा छ ।
निर्यात तथा रेमिट्यान्स आप्रवाहमा आएको सुधारले शोधनान्तर स्थितिमा झनै सुधार आएको हो । चालु आव कात्तिकमा रेमिट्यान्स आप्रवाह ३१ प्रतिशतले बढेको छ भने निर्यात ७७ प्रतिशतले बढेको छ ।
गत आव कात्तिकसम्म शोधनान्तर स्थिति २ खर्ब ५ अर्ब ८३ करोडले बचतमा थियो । अमेरिकी डलरमा गत आव कात्तिकमा १ अर्ब ५३ करोडले बचतमा रहेको शोधनान्तर स्थिति चालु आव २ अर्ब २६ करोडले बचतमा छ ।
चालु आव कात्तिकसम्म चालु खाता २ खर्ब ७९ अर्ब ६५ करोडले बचतमा छ । गत आव सोही अवधिमा चालु खाता १ खर्ब ४७ अर्ब ७८ करोडले बचतमा थियो । अमेरिकी डलरमा गत आव सोही अवधिमा १ अर्ब १० करोडले बचतमा रहेको चालु खाता चालु आव कात्तिकसम्म १ अर्ब ९९ करोडले बचतमा छ ।
गत कात्तिकसम्म खुद पूँजीगत ट्रान्स्फर ६ अर्ब २१ करोड छ । गत आव सोही अवधिमा यस्तो ट्रान्स्फर २ अर्ब ४७ करोड थियो । यसैगरी चालु आव चार महिनामा २ अर्ब ४९ करोड प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ ।
गत आव सोही अवधिमा प्रत्यक्ष वैदेशिक लगानी ५ अर्ब ७६ करोड थियो । विदेशी मुद्रा सञ्चिति ३० खर्ब रुपैयाँ नाघेको छ ।चालु आर्थिक वर्ष पहिलो चार महिना (कात्तिक) सम्म विदेशी मुद्रा सञ्चिति ३० खर्ब ५५ अर्ब ५२ करोड पुगेको छ ।
असार मसान्तसम्म २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ बराबर विदेशी मुद्रा सञ्चिति थियो ।यस्तो सञ्चितिले १७.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने राष्ट्र बैंकले जनाएको छ ।
वस्तु आयात भने २०.८ महिनाको धान्न पर्याप्त हुने देखिएको छ । अमेरिकी डलरमा विदेशी मुद्रा सञ्चिति २१ अर्ब ५२ करोड पुगेको छ । असार मसान्तसम्म १९ अर्ब ५० करोड थियो ।
चार महिनामा डलरमा १०.३ प्रतिशतले वृद्धि भएको छ । तथ्यांक अनुसार राष्ट्र बैंकमा रहेको सञ्चिति असारको तुलनामा १२.८ प्रतिशतले बढेर २७ खर्ब २४ अर्ब ६६ करोड पुगेको छ ।
असारसम्म २४ खर्ब १४ अर्ब ६४ करोड रुपैयाँ थियो । बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति ३ खर्ब ३० अर्ब ८५ करोड पुगेको छ । असार मसान्तसम्म २ खर्ब ६३ अर्ब ४ करोड थियो ।
कात्तिक मसान्तसम्म विदेशी मुद्रा सञ्चिति कुल गार्हस्थ उत्पादन (जीडीपी) को अनुपातमा ५० प्रतिशत पुगेको छ । चालु आर्थिक वर्षको कात्तिक महिनामा असोजको तुलनामा रेमिट्यान्स आप्रवाह घटेको छ ।
असोज महिनाको तुलनामा कात्तिक महिनामा ६४ अर्बले रेमिट्यान्स घटेको हो । २०८२ कात्तिक महिनामा १ खर्ब ३३ अर्ब ८२ करोड रेमिट्यान्स भित्रिएको छ । असोज महिनामा २ खर्ब १ अर्ब रुपैयाँ बराबर भित्रिएको थियो ।
नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८२÷८३ को पहिलो चार महिनामा रेमिट्यान्स आप्रवाह ३१.४ प्रतिशत वृद्धि भई ६ खर्ब ८७ अर्ब १३ करोड छ । गत आवको सोही अवधिमा रेमिट्यान्स आप्रवाह ९.४ प्रतिशत बढेको थियो ।
गत आवको कात्तिक महिनामा रेमिट्यान्स आप्रवाह १ खर्ब १४ अर्ब ३१ करोड रहेको थियो । चालु आवको चार महिना अवधिमा अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह २५.३ प्रतिशतले वृद्धि भई ४ अर्ब ८८ करोड पुगेको छ ।
गत आवको अघिल्लो वर्ष यस्तो आप्रवाह ८.२ प्रतिशत बढेको थियो । चालु आवको कात्तिकसम्ममा खुद द्वितीय आय ७ खर्ब ५४ अर्ब ९३ करोड पुगेको छ । गत आवको सोही अवधिमा यस्तो आय ५ खर्ब ६९ अर्ब २९ करोड रहेको थियो ।
यस्तै चालु आवको कात्तिकसम्म वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या एक लाख ४५ हजार ९ सय ७३ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या एक लाख २७ हजार ८ सय ३७ रहेको छ ।
गत अवाको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः एक लाख ४७ हजार ४ सय ७८ र ९४ हजार १०५ थियो । खाद्य र पेय पदार्थको मूल्यवृद्धि ३.३२ प्रतिशतले ऋणात्मक रहेको देखिएको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार कात्तिक २०८२ मा मुद्रास्फीति १.११ प्रतिशतमा सीमित छ । यस अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ३.३२ प्रतिशतले ऋणात्मक छ ।
गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति भने ३.६९ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्ष कात्तिकमा समग्र मुद्रास्फीति ५.६० प्रतिशत थियो । अघिल्लो वर्ष खाद्य र पेय पदार्थको मुद्रास्फीति ९.१० प्रतिशत थियो ।
गैरखाद्य र सेवा समूहको मुद्रास्फीति ३.६५ प्रतिशत थियो । पछिल्लो चार महिनाको औसत मूल्यवृद्धि १.५३ प्रतिशत छ । अघिल्लो वर्ष सोही अवधिको औसत मूल्यवृद्धि ४.५० प्रतिशत थियो ।
राष्ट्र बैंकका अनुसार तरकारीको मूल्यमा यस वर्ष सबैभन्दा धेरै गिरावट आएको छ । तरकारी उपसमूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक १४.४३ प्रतिशतले घटेको छ ।
मरसमलाको ७.८५ प्रतिशत र दाल तथा गेडागुडीको मूल्य ५.३६ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ । घिउ तथा तेल पदार्थको ५.२५ प्रतिशत, गैरमदिराजन्य पेय पदार्थको ३.६१ प्रतिशत र दुग्ध तथा अन्डाको १.९७ प्रतिशतले बढेको तथ्यांक छ ।
सहरी क्षेत्रमा १.२६ प्रतिशतले मूल्यवृद्धि हुँदा ग्रामीण भेगमा ०.६६ प्रतिशत छ । प्रदेशगत हेर्दा कोशीमा १.८०, मधेश १.७३, बागमती ०.८१, गण्डकी ०.३७, लुम्बिनी १.२७, कर्णाली १.०८ र सुदूरपश्चिममा ०.२६ प्रतिशत छ ।
त्यस्तै काठमाडौंमा १.१६, तराई १.२४, पहाड ०.८८ प्रतिशत र हिमालमा १.०६ प्रतिशतको मूल्यवृद्धि भएको देखिन्छ ।









