१ पुष , काठमाण्डौ ।
नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि आज मतदान हुँदै छ । मध्याह्न १२ देखि साँझ ६ बजेसम्म मतदानका लागि समय तोकिएको छ । मतदानका लागि ८० विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने एमालेले जनाएको छ ।
१० विद्युतीय भोटिङ मेसिन ‘ब्याकअप’मा राखिने भएको छ । एमालेले गत बिहीबार विद्युतीय भोटिङ मेसिन प्रयोगका लागि सम्झौता गरेको थियो । शुक्रबार विद्युतीय भोटिङ मेसिन एमाले पार्टी कार्यालय च्यासलमा राखेर नमुना भोटिङ समेत गरिएको थियो ।
महाधिवेशनमा १९ पदाधिकारीका निम्ति ४२ जनाले उमेदवारी दर्ता गराएका छन् । अध्यक्ष पदमा केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुँदै छ । महाधिवेशनको निर्वाचन कार्यक्रमअन्तर्गत सोमबार प्रकाशित उमेदवारको प्रारम्भिक नामावलीअनुसार, १९ पदाधिकारीमा ४२ जनाले उमेदवारी दर्ता गराएका छन् ।
केन्द्रीय निर्वाचन आयोगका अनुसार, पाँचजनाको उपाध्यक्षमा ११ जनाले उमेदवारी दर्ता गराएका छन् । उपाध्यक्षमा अरुण नेपाल, गुरुप्रसाद बराल, गोकर्णराज विष्ट, टंकप्रसाद कार्की, परशुराम मेघी गुरुङ, पृथ्वीसुब्बा गुरुङ, भीमप्रसाद आचार्य, रघुजी पन्त, रामबहादुर थापा, डा. बिन्दा पाण्डे, विष्णुप्रसाद पौडेलको उमेदवारी छ।
महासचिवमा शंकर पोखरेल र सुरेन्द्रप्रसाद पाण्डे उमेदवार छन् । उपमहासचिव तीनजनामा सातजनाको उमदेवारी परेको छ । आनन्दप्रसाद पोखरेल, योगेश भट्टराई, रघुवीर महासेठ, राजेन्द्रप्रसाद गौतम, लेखराज भट्ट, विष्णुप्रसाद रिमाल र वैजनाथ चौधरीले उपमहासचिवमा उमेदवारी दिएका छन् ।
त्यस्तै, सचिवमा सबैभन्दा बढी २० जनाको उम्मेदवारी परेको छ । अग्निप्रसाद खरेल, इन्द्रलाल सापकोटा, कर्णबहादुर थापा, कृष्णगोपाल श्रेष्ठ, खगराज अधिकारी, गोकुलप्रसाद बास्कोटा, छविलाल विश्वकर्मा, ठाकुरप्रसाद गैरे, पद्माकुमारी अर्याल, पुरुषोत्तम पौडेल, पेम्बा लामा, भानुभक्त ढकाल, महेश बस्नेत, यामलाल कँडेल, रचना खड्का, राजन भट्टराई, लालबाबु पण्डित, विनोदप्रसाद ढकाल, शेरधन राई, हिक्मतकुमार कार्कीको उमेदवारी परेको छ ।
सचिव नौजनामा २० जनाको उमेदवारी परेको हो । यता नेकपा (एमाले)को ११ औँ महाधिवेशनमा नेतृत्व चयनका लागि दर्ता भएको उम्मेदवारीमा ११ जना केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएका छन् ।
निर्वाचन आयोगले केही समय अघि मात्रै सार्वजनिक गरेको उम्मेदवारको प्रारम्भिक नामावली अनुसार ११ जना केन्द्रीय सदस्यमा एकल उम्मेदवारी परेपछि निर्विरोध निर्वाचित भएका हुन् ।
जसमा लुम्बिनी प्रदेश महिलातर्फ गुमादेवी आचार्य, मेनकाकुमारी पोखरेल र शान्तीदेवी ढकाल निर्विरोध निर्वाचित भएका छन् । प्रदेशबाट महिला केन्द्रीय सदस्य ३ जना निर्वाचित हुने भएकाले ३ जनाको मात्रै उम्मेदवारी परेका कारण उनीहरू निर्विरोध निर्वाचित भएका हुन् । य
स्तै मधेशी कलस्टरबाट युवातर्फ अमरकुमार यादव निर्विरोध निर्वाचित भएका छन् । मधेशी कलस्टरतर्फ २ जना युवा निर्वाचित हुने भए पनि एक जनाको उम्मेदवारी नपरेका कारण रिक्त भएको छ ।
यस्तै केन्द्रीय सदस्य समावेशी मुस्लिम महिलातर्फ खाजिदा खातुन सिद्धकीको एकल एकल उम्मेदवारी परेपछि निर्विरोध निर्वाचित भएकी छन् भने केन्द्रीय सदस्य समावेशी श्रमिक महिलातर्फ कमलादेवी श्रेष्ठ र सिता लामा निर्विरोध निर्वाचित भएका छन् ।
पिछडिएको क्षेत्रतर्फको महिलामा वदमीक्वारी बुढा, प्रवास दक्षिण एशियाबाट हरिप्रसाद घिमिरे, ४० वर्ष मूनिको केन्द्रीय सदस्य युवामा नरेश रोकाया र सुशिलकुमार थापा निर्विरोध निर्वाचित भएका हुन् ।
यस्तै पार्टीको अनुशासन आयोगको अध्यक्षमा प्रा।डा।भरतराज पहारी, उपाध्यक्ष चक्रबहादुर पराजुली र सचिवमा डा.राजेन्द्र घिमिरेको एकल उम्मेदवारी परेपछि निर्विरोध निर्वाचित भएका छन् भने लेखा आयोगको अध्यक्षमा डा.पुष्पराज कँडेल, उपाध्यक्षमा धनेन्द्रराज घिमिरे र सचिवमा ईश्वरीप्रसाद खरेलको एकल उम्मेदवारी परेपछि निर्विरोध निर्वाचित भएका छन् ।
विभिन्न भूगोल र क्षेत्रमा गरी केन्द्रीय सदस्यमा हजारभन्दा बढीको उम्मेदवारी परेको छ। एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बाका अनुसार एक जना मतदातालाई मतदान गर्न कम्तीमा २५ देखि ३० मिनेट लाग्ने छ।
महाधिवेशनमा दुई हजार २६३ प्रतिनिधि सहभागी छन्। रामलक्ष्मण इनोभेसन प्रालिका सञ्चालक लक्ष्मण रिमालले १० वटा नमुना अभ्यास र १० वटा अतिरिक्त मेसिन राखिएको बताएका छन् ।