१ पुष , काठमाण्डौ ।
विश्वकै धनाढ्यको सूचीमा पटकपटक शीर्षस्थानमा रहँदै आएका अमेरिकी व्यापारी एलन मस्कले यसपटक धनाढ्यहरुमा पनि सबैभन्दा बढी सम्पत्ति आर्जन गर्दै धनाढ्यहरुको अर्को ‘कीर्तिमानी’ कायम गरेका छन् ।
उनी विश्वमा ६७७ अर्ब डलर (बिलियन) भन्दा बढी सम्पत्ति हुने पहिलो व्यक्ति बनेर कीर्तिमानी कायम गरेका छन् । फोब्र्सका अनुसार सोमबार उनको कुल सम्पत्ति ६७७ अर्ब डलर पुगेको छ ।
यसरी उनको सम्पत्तिमा तीव्र वृद्धि आउनुको मुख्य कारण मस्कको अन्तरिक्ष कम्पनी स्पेसएक्स भएको रोयटर्सले जनाएको छ । स्पेसएक्सको मूल्यांकन ८०० अर्ब डलर पुगेको छ । मस्कको स्पेसएक्समा करिब ४२ प्रतिशत हिस्सेदारी छ ।
यो मूल्यांकन वृद्धिबाट मात्रै उनको सम्पत्तिमा १६८ अर्ब डलर थपिएको हो । गत अक्टोबरमा मात्रै उनी ५०० अर्ब डलरको आकडा पार गर्ने पहिलो व्यक्ति बनेका थिए । अहिलेको यो नयाँ कीर्तिमान उनका लागि अर्को ठूलो उपलब्धि हो ।
स्पेसएक्सले सन् २०२६ मा आईपीओ ल्याउने योजना बनाइरहेको बताइएको छ । मस्कको यो हिस्सेदारीले उनको सम्पत्तिलाई ‘रकेट’जस्तै उचाइमा पु¥याइदिएको बताइएको छ ।
फोब्र्सका अनुसार सोमबार मध्याह्न १२ बजेसम्म उनको कुल सम्पत्ति ६७७ अर्ब डलर पुगेको थियो । यसबाहेक, मस्कको इलेक्ट्रिक कार कम्पनी टेस्लाले पनि उनको सम्पत्ति बढाउन मद्दत गरेको छ ।
कम्पनीबाट उत्पादित कार बिक्रीमा केही गिरावट आए पनि टेस्लाको सेयर यो वर्ष अहिलेसम्म १३ प्रतिशतले बढेको छ । मस्कसँग टेस्लामा करिब १२ प्रतिशत हिस्सा छ। मस्कले कम्पनीले रोबोट्याक्सीको परीक्षण गरिरहेको जानकारी दिएका कारण सोमबार सेयर करिब चार प्रतिशतले बढेको थियो ।
मस्कको आर्टिफिसियल इन्टेलिजेन्स कम्पनी एक्सएआई पनि चर्चामा छ । रिपोर्टअनुसार, यो १५ अर्ब डलरको नयाँ फन्ड जुटाउने तयारीमा छ । यसबाट कम्पनीको मूल्यांकन २३० अर्ब डलर हुनेछ ।
यसले मस्कको व्यावसायिक साम्राज्यलाई थप विस्तार गर्ने बताइएको छ । मस्कको सम्पत्ति अब दोस्रो नम्बरका सबैभन्दा धनी व्यक्तिभन्दा सयौं अर्ब डलर अगाडि छ । उनी विश्वको पहिलो ट्रिलिनियर बन्ने बाटोमा तीव्र गतिमा बढिरहेका छन् ।
नोभेम्बरमा टेस्लाका सेयरधनीहरूले एलन मस्कका लागि ऐतिहासिक १ ट्रिलियन डलरको पारिश्रमिक प्याकेज स्वीकृत गरेका थिए । जुन अहिलेसम्मकै सबैभन्दा ठूलो कार्यकारी तलब सम्झौता हो।
मस्कले टेस्लालाई कृत्रिम बुद्धिमत्ता र रोबोटिक्स क्षेत्रमा प्रमुख शक्ति बनाउने दिशामा अघि बढाइरहेका बेला लगानीकर्ताहरूले यस योजनालाई समर्थन गरेका हुन्। यसैबीच, मस्कको कृत्रिम बुद्धिमत्ता कम्पनीले करिब २३० अर्ब डलरको मूल्यांकनमा १५ अर्ब डलर नयाँ पूँजी जुटाउने विषयमा समेत छलफल गरिरहेको छ।
यसले उनको व्यापार साम्राज्य थप तीव्र गतिमा विस्तार हुने अनुमान गरिएको छ । यस्तै स्पेसएक्स इतिहासकै सबैभन्दा ठूला प्रारम्भिक सार्वजनिक सेयर निष्कासन (आईपीओ) मध्ये एकको तयारीमा रहेको समेत बताइएको छ ।
जसको सम्भावित समय सन् २०२६ मानिएको छ। समय र मूल्यांकनमा परिवर्तन हुन सक्ने भए पनि प्रारम्भिक विवरणहरू अनुसार स्पेसएक्सको आईपीओले कम्पनीको मूल्यांकन करिब ८०० अर्ब डलरदेखि १ ट्रिलियन डलरभन्दा माथिसम्म पु¥याउन सक्ने अनुमान गरिएको छ, जसले यसलाई इतिहासकै सबैभन्दा ठूला आईपीओमध्ये एक बनाउन सक्छ।
यदि स्पेसएक्सले ती उच्च अनुमानकै आधारमा सार्वजनिक सेयर निष्कासन ग¥यो भने एलन मस्कको सम्पत्ति फेरि एकपटक तीव्र रूपमा बढ्न सक्नेछ र उनलाई आधुनिक इतिहासकै पहिलो ‘ट्रिलियनियर’ बन्न सक्ने अड्कलबाजीसमेत सुरु हुन सक्छ।
मस्क यस चरणसम्म आइपुग्ने यात्रा केही हदसम्म रकेट विज्ञान जस्तै जटिल र रणनीतिक रहँदै आएको समाचारमा उल्लेख छ । लामो समयसम्म उनको सम्पत्तिको मुख्य आधार टेस्लाको सेयर प्रदर्शन नै रह्यो, जसको सेयर मूल्यमा आउने उतारचढावले मात्र अर्बौं डलर बराबरको मूल्यांकनमा हेरफेर गराउँदै आएको छ।
विश्वकै सबैभन्दा मूल्यवान् विद्युतीय सवारी निर्माता टेस्लाले अहिले पनि उनको कुल सम्पत्तिमा ठूलो योगदान दिइरहेको छ। तर पछिल्ला वर्षहरूमा वास्तविक गेम चेन्जर भने स्पेसएक्स बनेको छ।
दोस्रो बजारमा भएका सेयर कारोबार र टेन्डर अफरका आधारमा तय हुँदै आएको यसको निजी मूल्यांकन स्टारलिङ्क उपग्रह इन्टरनेट सेवा विस्तार र पुनः प्रयोग गर्न मिल्ने रकेट प्रविधिमा उल्लेखनीय प्रगति गरेसँगै तीव्र रूपमा बढेको छ।