२ पुस , काठमाण्डौ ।
नेकपा एमालेको नेतृत्व चयनका लागि जारी मतदान समय ८ बजेसम्म थप गरिएको छ । यसअघि ५ बजेसम्म निर्धारण गरिएको समय संशोधन गर्दै ८ बजेसम्म पु¥याइएको हो ।
८ बजेसम्म मतदानस्थल भित्र प्रवेश गरेका प्रतिनिधिले भोट हाल्न पाउने छन् । उनीहरु भित्र प्रवेश गरेपनि निक्कै रातीसम्म मतदान जारी रहने संभावना रहेको नेताहरुले बताएका छन् ।
मतदाताहरुले ५ घण्टाभन्दा बढी समयदेखि लाइन लागेर मतदान गरेको बताएका छन् । मतदान केन्द्रमा ८० वटा विद्युतीय मेसिनमार्फत् मतदान जारी छ । मतदान एकदमै सुस्त भएको छ ।
मतदान सुरु भएको ७ घण्टामा साढे ७ सय मात्रैले मतदान गरेको निर्वाचन आयोगका एक सदस्यले जानकारी दिए । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि अहिलेसम्म ७ सय २० मत खसेको छ ।
दिउँसो साढे चार बजेसम्म ७ सय २० मत खसेको हो । बिहान करिब साढे ९ बजेबाट मतदान सुरु भएको थियो । सात घण्टामा ७ सय २० मत खसेको हो । जुन २२६३ महाधिवेशन प्रतिनिधिको ३१ द्यशमलव ८१ प्रतिशत हाराहारी मत हो ।
यस अनुपातका रातभर मतदान जारी रहने देखिएको छ । बुधबार बिहान साढे ९ बजेदेखि सुरु भएको थियो । यसअघि १ बजेसम्म आयोगले ५ सय हाराहारी मत खसेको जानकारी दिएको थियो ।
तर पछिल्लो अपडेट अनुसार एक घण्टामा एक सय हाराहारी अनुपातमा मात्रै भोट खसेको आयोगको भनाइ छ । मतदान गरेर निस्किएका केही मतदाताले भने ‘क्रस भोटिङ’ गरेको बताएका छन्।
पार्टीलाई एकताबद्ध बनाउन प्यानल नहेरेर दुवै तर्फका राम्रा उम्मेदवारलाई मतदान गरेको एक मतदाताले बताएका छन् । एमाले पदाधिकारीमा एकै प्यानलको नभएर दुवै प्यानलबाट नेतालाई ल्याउनुपर्ने भन्दै ‘क्रस भोटिङ’ गरेको मतदाताहरुको भनाइ छ ।
उनीहरुले एमालेलाई एकढिक्का राख्न मिश्रित पदाधिकारी जिताउनै पर्ने बताएका छन् । मतदान गरेर निस्किेका केही मतदाताको भनाइमा पदाधिकारीमा महासचिवमा कडा टक्कर देखिएको छ।
धेरैले प्यानल नहेरेर ‘क्रस भोटिङ’ गरेको बताएका छन्। त्यसपछि उपाध्यक्ष र सचिवमा पनि ‘क्रस भोटिङ’ भएको उनीहरूले सुनाएका छन्। अध्यक्षमा दुवै तर्फकाले प्यानलमै ध्यान दिएको भए पनि उपाध्यक्ष, महासचिव र सचिवमा यताउता मतदान भएको उनीहरूको भनाइ छ।
एमाले अध्यक्षमा केपी शर्मा ओली र ईश्वर पोखरेल प्रतिस्पर्धामा छन्। त्यस्तै, महासचिवमा ओली पक्षबाट शंकर पोखरेल र ईश्वर पक्षबाट सुरेन्द्र पाण्डे उम्मेदवार छन्। एमालेमा १९ पदाधिकारीका लागि दुवै तर्फबाट प्यानल बनाएर उम्मेदवार प्रतिस्पर्धा गरिरहेका छन्।
त्यस्तै, ३ सय १ केन्द्रीय सदस्यमा पनि दुवै पक्षले उम्मेदवार बनाएका छन्। मतदान सकिए लगत्तै मतगणना हुने आयोगले जनाएको छ। विद्युतीय भोटिङ मेसिनबाट मतदान भइरहेकाले गणनामा भने समय नलाग्ने आयोगको भनाइ छ।
ओली र पोखरेल प्यानलसहित आन्तरिक प्रतिस्पर्धामा उत्रिएका छन् । तर प्रतिस्पर्धाका बीच हार्दिकता र सौहार्दता पनि देखिन्छ । सँगै भोट हालेपछि ओली र पोखरेल दुवै सँगै भोट माग्न पनि हिँडेका छन् ।
प्रतिस्पर्धा भए पनि ओलीले पोखरेलसँगै हिँडेको र भोट मागेको फोटो बालकोट पेजलै हालेको छ । बिहान पहिलो मतदान गरेकोदेखि दिउँसो कार्यकर्तासम्म झुम्मिएको फोटो पेजले शेयर गरिरहेको छ ।
भित्र मतदान चलिरहँदा भृकृटीमण्डपको परिसरमा प्यानलको सूचीमा भोट हाल्नुपर्ने नेताको खोजीदेखि आफूनिकटलाई जिताउन नेताहरू प्रचारमा लाग्नेसम्मका दृश्य देखिएका छन् । भृकृटीमण्डपको परिसरमा मत माग्नेहरुको भिड पनि त्यतिनै देखिएकोछ ।










